• ३० भदौ २०८२, सोमबार

फक्ताङ्लुङका विद्यालयमा महावीरको पुस्तक

blog

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) लाई डा. महावीरको पुस्तक हस्तान्तरण गरिँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ३० गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका विद्यालयलाई डा. महावीर पुनको पुस्तक उपलब्ध गराइएको छ। पालिकाभरिका विद्यालयका पुस्तकालयमा राख्नेगरी डा. पुनले लेख्नुभएको ‘सम्झाना, सपना र अविरल यात्रा’ नामक आत्मकथा पुस्तक उपलब्ध गराइएको हो।

हाल हङकङ बस्दै आउनुभएका फक्ताङ्लुङ गाउँपालिका–६ मादिबुङकी सविता फेम्बु लिम्बूले डा. पुनले लेख्नुभएको पुस्तक खरिद गरी विद्यालयलाई उपलब्ध गराउनुभएको हो। फेम्बुले ५० हजार रुपियाँ बराबरको ५५ वटा पुस्तक खरिद गरेर फक्ताङ्लुङका सबै विद्यालयलाई उपलब्ध हुने गरी सोमबार गाउँपालिकालाई बुझाइएको छ।

उक्त पुस्तक गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) लाई हस्तान्तरण गरिएको सविता फेम्बुका प्रतिनिधि दिलकुमार फेम्बुले जानकारी दिनुभयो। महावीर पुनको जीवन गाथा समेटिएको उक्त पुस्तक बुझ्नुहुँदै गाउँपालिका अध्यक्ष लिम्बूले पालिकाका सबै विद्यालयलाई उपलब्ध गराउने बताउनुभयो।

माध्यमिक विद्यालयलाई दुईवटा र आधारभूत विद्यालयलाई एउटाका दरले पुस्तक उपलब्ध गराउने पनि अध्यक्ष लिम्बूले बताउनुभयो। सात वटा वडा रहेको फक्ताङ्लुङ गाउँपालिकामा नौ वटा माध्यमिक विद्यालय र ३१ आधाभूत गरी ४० वटा विद्यालय रहेका छन्। 

यता वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालन गर्ने योजना बनाएर पुस्तक बिक्री गर्ने देशव्यापी अभियान सुरु गर्नुभएका डा. महावीर पुन ताप्लेजुङ पनि आइपुग्नुभएको छ। आफूले लेखेको पुस्तक बिक्री गरेर कारखाना सञ्चालन गर्ने योजना बनाएर अभियान चलाउनुभएका पुन पुस्तक बिक्री गर्दै यहाँ आइपुग्नुभएको हो। 

डा. पुनले शनिबार र आइतबार दुई दिन ताप्लेजुङमा बसेर पुस्तक बिक्री गर्नुभएको छ। सदरमुकाम फुङ्लिङ बजारका प्रत्येक पसलमा पुगेर उहाँले पुस्तक बिक्री गर्नुभयो। फुङ्लिङ नगरपालिकासहित केही कार्यालयमा समेत पुगेर डा. पुनले पुस्तक बिक्री गर्नुभएको फुङ्लिङ बजारका व्यवसायी कैलास बानियाँले बताउनुभयो। स्थानीय व्यवसायी बानियाँले पुस्तक बिक्रीका लागि डा. पुनलाई सहजीकरणका साथै सहयोग गर्नुभएको थियो।