• ३० भदौ २०८२, सोमबार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु

blog

दाङ जिल्ला अदालत घोराहीमा सेवा लिन पुगेका सेवाग्राहीहरू । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, भदौ ३० गते । दाङ जिल्ला अदालतले सोमबारदेखि सेवा दिन सुरु गरेको छ । 

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको कार्यालयलाई मर्मत गर्दै सेवा दिन थालेको हो । जिल्ला अदालतले तारिक बुझ्ने, पक्राउ अनुमति जारी, मुद्दाको म्याद थपलगायतका सेवा सुरु गरेको दाङ जिल्ला अदालतका श्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार नियमित रूपमा पूर्ण सेवा दिनका लागि कार्यालय मर्मतसँगै सर्वोच्च अदालतमा आगलागी भएर डाउन भएको सर्वर सञ्चालनमा आउनुपर्ने बताउनुभयो । कार्यालय पनि मर्मतका क्रममा रहेको र डाउन भएको सेवा समेत सञ्चालनमा नआएको अत्यावश्यक तारिक बुझ्ने, मुद्दाको म्यादथप, पक्राउ अनुमति जारी, मोबाइलको कल डिटेल लिनका लागि प्रहरीलाई आवश्यक पर्ने अनुमति लगायतका सेवा दिन सुरु गरिएको बताउनुभयो । 

तोडफोड र आगजनीबाट क्षति भएका संरचनाको मर्मत गर्दै कार्यालय सञ्चालन गरिएको भन्दै अदालतका श्रेष्तेदार भण्डारीले भन्नुभयो,‘‘पूर्णरूपमा सेवा दिन समय लाग्ने भए पनि कार्यालयमा तोडफोड भएका झ्याल,ढोका, टेबल,कुर्सी र दराजहरु मर्मत गर्दै आकस्मिक सेवाहरू दिन थालेका छौ । पूर्णरूपमा सेवा दसैँ तिहारपछि नै हुने छ ।’’ उहाँका अनुसार अदालत तोडफोड र आगजनीका क्रममा दुई करोड बराबरको क्षति भएको छ ।

श्रेष्तेदार भण्डारीका अनुसार जेनजी आन्दोलनका क्रममा भदौ २४ गते अदालतमा भएका  ३७ वटा कम्प्युटर तोडफोडसँगै  आगजनी र नगद चार लाख रुपियाँ चोरी भएको थियो । त्यसैगरी आगलागीका कारण अदालतमा रहेका दुई वटा मोटरसाइकलमा समेत क्षति पुगेको थियो ।