दोहा, भदौ ३० गते । दोहामा हमासका सदस्यमाथि इजरायली आक्रमणको प्रतिक्रियामा बोलाइएको आपतकालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा कतारका प्रधानमन्त्रीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड’ अस्वीकार गर्न र इजरायललाई जवाफदेही बनाउन आग्रह गर्नु भएको छ ।
इजरायलको घातक आक्रमणले आलोचनाको लहर सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तोष प्रकट गरे पनि समर्थन देखाउन विदेशमन्त्री मार्को रुबियोलाई इजरायल पठाउनु भएको छ । अरब र इस्लामिक नेताहरूको सोमबार हुने आपत्कालीन भेलाले खाडी मुलुकबिच एकताको प्रदर्शन गर्ने अपेक्षा छ । यसले गाजामा युद्ध र मानवीय सङ्कट अन्त्य गर्न बढ्दो आह्वानलाई थप बल दिन खोज्ने छ ।
“अन्तर्राष्ट्रिय समुदायले दोहोरो मापदण्ड प्रयोग गर्न रोकिनुपर्ने र इजरायलले गरेका सबै अपराधका लागि सजाय दिनुपर्ने समय आएको छ”, प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तयारी बैठकमा भन्नुभयो । उहाँले गाजामा इजरायलको ‘उन्मूलन युद्ध’ सफल नहुने दाबी गर्नुभयो । “इजरायललाई निरन्तरता दिने प्रमुख कारण मौनता र अन्तर्राष्ट्रिय समुदायको कमजोरी हो”, उहाँले भन्नुभयो ।
सोमबारको शिखर सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान, इराकका प्रधानमन्त्री मोहम्मद सिया अल-सुदानी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान सहभागी हुने अपेक्षा छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास आइतबार नै दोहा पुग्नुभएको छ । तर साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान उपस्थित हुने कि नहुने स्पष्ट छैन ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीका अनुसार बैठकमा ‘कतार राज्यमा इजरायली आक्रमण सम्बन्धी मस्यौदा प्रस्ताव’ मा विचार गरिने छ । टर्कीका विदेशमन्त्री हाकान फिदानले अल जजिरासँग भन्नुभयो, “अब इजरायलको व्यवहार केवल प्यालेस्टाइन-इजरायलको मुद्दा मात्र होइन, यो क्षेत्रकै सबैभन्दा ठुलो समस्या इजरायली विस्तारवाद हो ।” उहाँले अरब र इस्लामिक मुलुकलाई एकताबद्ध भएर नयाँ आधारमा समाधान खोज्न आग्रह गर्नुभयो ।
हार्वर्ड मिडल इस्ट इनिसिएटिभकी एल्हाम फक्रोका अनुसार खाडी राष्ट्रले सम्मेलनमार्फत वासिङ्टनलाई इजरायलमा दबाब दिन आह्वान गर्ने छन् । “उनीहरूले अझ बलियो अमेरिकी सुरक्षा आश्वासन पनि खोज्ने अपेक्षा छ, किनकि इजरायलको कार्यले हालका आश्वासनलाई कमजोर बनाएको छ”, उहाँले भन्नुभयो ।
फ्रान्सको साइन्सेज पो युनिभर्सिटीका करिम बितरले अरब र मुस्लिम नेताहरूका लागि यो ‘लिटमस टेस्ट’ हुने बताउनुभयो । उहाँका अनुसार मतदाता पुरानो शैलीको कूटनीतिबाट थकित भएका छन् । “अब अपेक्षा छ, यी देशले इजरायल मात्र होइन, अमेरिकालाई समेत सन्देश दिनुपर्छ कि अन्तर्राष्ट्रिय समुदायले इजरायललाई दिइरहेको खाली चेक अन्त्य गर्ने समय आएको छ”, उहाँले भन्नुभयो । कतारले यस क्षेत्रमा सबैभन्दा ठुलो अमेरिकी सैन्य आधार राखेको छ र अमेरिकासँगै इजिप्टसँग मिलेर इजरायल-हमास युद्धमा मध्यस्थताको प्रमुख भूमिका खेलेको छ ।
प्रधानमन्त्री शेख मोहम्मदले हालैको अमेरिका भ्रमणमा राष्ट्रपति ट्रम्पसँग रात्रिभोज गर्नुभएको थियो । हमास पोलिटब्युरो सदस्य बासेम नइमले शिखर सम्मेलनबाट ‘निर्णायक र एकीकृत अरब–इस्लामिक धारणा’ आउने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको गाजा युद्ध अन्त्यतिर मोडिन सक्ने छ । रासस/एएफपी