• ३० भदौ २०८२, सोमबार

दुई पटक सर्भे भयो तर पुल बनेन

blog

पुल सर्भे भएको क्षेत्र । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, भदौ ३० गते । कैलालीको पथरैया र काँढा नदीमा त्रिकोणात्मक पुल निर्माणको लागि सर्भेको काम भए पनि पुल निर्माणको कार्य अगाडि बढ्न सकेको छैन । 

टीकापुर नगरपालिका–७ को बैदी र भजनी नगरपालिका–३ को दैलेखी टोल र वडा ८ काँढाढिक जोड्ने स्थानमा त्रिकोणात्मक (तीनमुखे) झोलुङ्गे पुल निर्माणका लागि गत वर्ष सर्भे गरिएको थियो । दोस्रो पटक सर्भे भएपछि पुल निर्माणको आशा बढे पनि अहिलेसम्म काम अगाडि नबढाइएको स्थानीय भोजराज ढुङ्गानाले बताउनुभयो । 

यसअघि, सोही स्थानमा झोलुङ्गे पुल निर्माणको लागि २०७९ मा पनि सर्भे गरिएको थियो । तर त्यहाँ दुई वटा नदीको सङ्गम स्थान रहेका कारण त्रिकोणात्मक पुल आवश्यक रहेको भन्दै गतवर्ष पुनः सर्भे भएको ढुङ्गानाको भनाइ छ । 

“प्रदेश सरकारमार्फत त्रिकोणात्मक पुल बन्ने भनेर सर्भे गरिएको हो”, उहाँले भन्नुभयो, “सर्भेमा आएका इन्जिनियरहरुले चाँडै पुल बन्छ भन्नुभएको थियो । तर अहिलेसम्म केही सुरसार छैन । दुई पटक सर्भेमात्रै गरियो, पुल बनेन ।”

बाढी, डुबान प्रभावित त्यस क्षेत्रमा पुल नहुँदा बर्खायाममा स्थानीयले सास्ती भोग्दै आएका छन् । उनीहरुले डुङ्गाको भरमा ओहोरदोहोर गर्नु पर्ने बाध्यता रहेको छ । यस स्थानमा त्रिकोणात्मक पुल बनेमा पर्या पर्यटन विकासमा पनि ठुलो सहयोग पुग्ने स्थानीयको विश्वास छ । काँढा र पथरैया नदीको सो स्थानमा विश्वमै दुर्लभ जलप्राणी डल्फिन देखिने गर्दछन् । पुल बनेमा पर्यटकलाई डल्फिन अवलोकन गर्न सहज हुने जनाइएको छ । 

पूर्वाधार विकास कार्यालय कैलालीका पुल शाखाका इन्जिनियर डम्मर साहुले त्यस ठाउँमा प्रदेश सरकारबाट पुलको योजना नरहेको बताउनुभयो । 

“एकचोटी कुरोसम्म उठेको हो । तर, त्यो त्यत्तिमैमात्रै सीमित भयो”, उहाँले भन्नुभयो, “त्यस ठाउँमा पुल निर्माणका लागि हाम्रो कार्यालयबाट सर्भे भएको छैन । सडकले सर्भे गरेको हो कि ?”