• १५ वैशाख २०८१, शनिबार

सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत

blog

काठमाडौँ, मङ्सिर ११ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता साझेदार पाँचदलीय गठबन्धनले ५० प्रतिशतभन्दा बढी सिटमा विजयी हासिल गरेको छ । नयाँ राजनीतिक दलको उदयले प्रभाव क्षेत्रमै प्रमुख दलहरू पराजित भए पनि पाँचदलीय गठबन्धनले सरकार गठबन्धनका लागि सुविधाजनक बहुमत प्राप्त गरेको हो । 

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा पहिलो दल भएको छ । अपेक्षाकृत नतिजा हासिल गर्न नसके पनि प्रतिनिधि सभातर्फ १५२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुँदा बहुमत सिटमा सत्ता साझेदार दलहरूको गठबन्धनले जित हासिल गरेको छ ।

सत्ता गठबन्धन ८३ सिटमा विजयी भएको छ । सात स्थानमा गठबन्धनका उम्मेदवारको अग्रता कायम छ । प्रतिनिधि सभाका तीन सिटमध्ये दोलखा र स्याङ्जा क्षेत्र नं. २ मा मतगणना सुरु भएको छैन । बाजुरामा शनिबार पुनः मतदान भएको छ । 

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस ५२ स्थानमा विजयी भएको छ । गणना जारी रहेकामध्ये चार सिटमा कांग्रेसले अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको नेकपा (एमाले)ले शनिबार रातिसम्ममा ४० सिट जितेको छ । दुई सिटमा एमालेको अग्रता छ । 

नेकपा (माओवादी केन्द्र)ले १७ सिट जित्दा अरू एक स्थानमा अग्रता लिइरहेको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) प्रत्यक्षतर्फ १० सिट जित्दै चौथो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात सिटमा जित र एक स्थानमा अग्रता लिइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सात स्थानमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टी नेपालले पाँच सिट जितेको छ । जसपाले एक सिटमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक, जनमत पार्टीले एक सिट जितेको छ । पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ ।  

मोरङ–१ मा लिम्बू विजयी

 नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट  ४३० मतान्तरले प्रतिनिधि सभाको सदस्यमा विजयी हुनु भएको छ । लिम्बूले नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडालाई हराउँदै प्रतिनिधि सभाको सदस्य निर्वाचित हुनुभएको हो । लिम्बूले  २७ हजार २९७   मत प्राप्त गरी विजयी हुँदा खतिवडाले २६ हजार ८६७  मत प्राप्त गर्नुभयो ।

इलाम–२ मा नेम्वाङ 

इलाम – २ बाट नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय हुनुभएको हो । पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गर्नुभएको छ भने खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नु भएको छ । 

सर्लाही–२ मा यादव विजयी

सर्लाही समाचारदाता जनार्जन खत्रीका अनुसार सर्लाही–२ मा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव निर्वाचित हुनुभएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका यादवले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्नुभएको हो । यादवले २३ हजार ५२९ मत प्राप्त गर्नुभयो । महतोले २१ हजार ५१८ मत प्राप्त गर्नुभयो ।

कालीकोटमा शाही निर्वाचित

कालीकोट समाचारदाता प्रेमराज सिम्खडाका अनुसार सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य नगिन्द्र शाहीलाई सात हजार नौ मतले पछि पार्दै शाही तेस्रो पटक विजयी हुनुभएको हो । नवनिर्वाचित शाहीले २३ हजार ७२७ मत प्राप्त गर्दा एमालेले १६ हजार ७१८ मत प्राप्त गरेको छ । 

काभ्रे–१ मा दोङ विजयी 

काभ्रेपलाञ्चोक समाचारदाता केदार तिमल्सिनाका अनुसार काभ्रे–१ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङ (दोङ) विजयी हुनुभएको छ । एमालेका केन्द्रीय सदस्य रेशमबहादुर लामालाई तीन हजार ९२८ मतान्तरले पराजित गर्दै दोङ निर्वाचित हुनुभएको हो ।

दोङले ३४ हजार ५१२ मत प्राप्त गर्दा लामाले ३० हजार ५४८ मत प्राप्त गर्नुभयो ।

पाँचै क्षेत्रमा पराजित 

रुपन्देही समाचारदाता छवि पाण्डे र पविता पौडेलका अनुसार सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्र गुमाएको छ । कांग्रेसले २०७४ को निर्वाचनमा जितेका क्षेत्र नं. ४ र ५ पनि गुमाएको छ । रुपन्देही क्षेत्र नं. १ मा एमालेका छविलाल विश्वकर्मा विजयी हुनुभएको छ । एमालेबाट विद्रोह गर्नुभएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल तीन हजार ५६४ मतान्तरले पराजित हुनुभयो । विश्वकर्माले २४ हजार ८७२ मत ल्याउँदा सत्ता गठबन्धनको समर्थित भुसालले २१ हजार ३०८ मत प्राप्त गर्नुभयो ।

रुपन्देही क्षेत्र नं. २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । उहाँले २७ हजार १४८ मत ल्याउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८२ मत पाउनुभयो । पौडेल चौथो पटक सांसद निर्वाचित हुनुभएको हो ।

गृहमन्त्री पराजित, बोहोराको पुनरोदय

रुपन्देही क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका उम्मेदवार, कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण पराजित हुनुभएको छ । राप्रपाका नेता दीपक बोहोरा विजयी हुनुभएको छ । उहाँलाई एमालेको समर्थन थियो । रुपन्देही क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार नेता बोहोराले ३६ हजार ७१७ र गृहमन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुुभयो । 

रुपन्देही क्षेत्र नं. ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला विजयी हुनुभएको छ । शुक्लाले २८ हजार मत ल्याएर विजयी हुँदा कांग्रेसका प्रमोद यादवले २२ हजार ७०४ मत ल्याउनुभयो । 

अधिकारी, आचार्य र गुप्ता निर्वाचित

कपिलवस्तु समाचारदाता जानु पाण्डेका अनुसार कपिलवस्तु–१ मा एमालेका बलराम अधिकारीले ३४ हजार ६७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका चक्रपाणि खनाल ‘बलदेव’ १५ हजार ६९२ मतले पछि पर्नुभयो । 

कपिलवस्तु–२ मा कांग्रेस नेता सुरेन्द्रराज आचार्य ३१७ मतान्तरले विजयी हुनुभएको छ । आचार्यले एमाले उम्मेदवार वृजेशकुमार गुप्तालाई पराजित गनुभयो । कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री आचार्यले ३९ हजार १४ मत प्राप्त गर्न‘भयो । यसअघि पाँच पटक निर्वाचित गुप्ताले ३८ हजार ६९७ मत पाउनुभयो ।

कपिलवस्तु क्षेत्र नं. ३ मा एमाले उम्मेदवार मङ्गलप्रसाद गुप्ता विजयी हुनुभएको छ । गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत हासिल गर्नुभयो ।

मोरङमा मिश्रित नजिता

मोरङ समाचारदाता सचिन पोख्रेल र हरिप्रसाद कोइरालाका अनुसार मोरङ–२ मा एमाले उम्मेदवार ऋषिकेश पोखरेल विजयी हुनुभएको छ । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेत्री सुजाता कोइराला एक हजार २०८ मतान्तरले पराजित हुनुभयो । पोखरेलले ३३ हजार १४८ मत र कोइरालाले ३१ हजार ९४० मत प्राप्त गर्नुभयो । मोरङ क्षेत्र नं. ३ मा कांग्रेसका डा. सुनीलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी हुनुभएको छ । उहाँले एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाललाई झन्डै दोब्बरभन्दा बढीले पराजित गरी पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । डा. शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दा ढकालले २५ हजार ८९५ मत प्राप्त गर्नुभयो । राप्रपा नेत्री एवं कलाकार रेखा थापाले १० हजार ९९८ मत प्राप्त गर्नुभयो ।

मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका अमनलाल मोदी विजयी हुनुभएको छ । उहाँले ३० हजार ६१२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका विनोदप्रसाद ढकालले २४ हजार ४६३ मत पाउनुभएको छ । 

मुगुमा कांग्रेसका शाही

कर्णाली ब्युरोका अनुसार मुगुमा कांग्रेस उम्मेदवार ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ । जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार उहाँले १४ हजार ७०२ मत हासिल गर्दा निकटतम प्रतिस्पर्धी एमालेका राजबहादुर कार्कीले १० हजार ७०८ मत प्राप्त गर्न‘भयो ।

हुम्लामा कार्चेन विजयी

हुम्ला समाचारदाता राजन रावतका अनुसार हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुुल लामा (कार्चेन) निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्यमा लामा विजयी भएको घोषणा गर्न‘भयो । लामाले १४ हजार ३७१ मत प्राप्त गर्न‘भयो । एमाले उम्मेदवार दल रावलले नौ हजार ५१६ मत प्राप्त गर्न‘भयो । 

सुनसरी–२ मा आचार्य

सुनसरी क्षेत्र नं. २ मा एमाले नेता भीमप्रसाद आचार्य निर्वाचित हुनुभएको छ । उहाँले ३२ हजार आठ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सीताराम मेहताले २६ हजार ५८ मत प्राप्त गर्नुभएको छ ।

महोत्तरी–४ मा राय

बर्दिबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार महोत्तरी क्षेत्र नं. ४ मा कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । जसपाका डा. सुरेन्द्रकुमार यादवलाई चार हजारभन्दा बढी मतले पछि पार्दै कांग्रेस नेता राय विजयी हुनुभएको हो । रायले २५ हजार ४२० मत प्राप्त गर्न‘भयो । यादवले २१ हजार २९६ मत ल्याउनुभयो । 

सिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट कांग्रेसका मोहनबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्दा एमाले उम्मेदवार शेरबहादुर तामाङले २७ हजार ४९३ मत हासिल गर्नुभयो । 

चितवन–३ मा पाण्डे

नारायणगढ समाचारदाता वसन्त पराजुलीका अनुसार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाडेको चितवन क्षेत्र नं. ३ मा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गर्न‘भयो । 

सप्तरी–४ मा चौधरी

जनकपुर समाचारदाता धीरेन्द्रप्रसाद साहका अनुसार सप्तरी क्षेत्र नं. ४ मा कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित हुनुभएको छ । निर्वाचित चौधरीले २३ हजार ४९१ मत प्राप्त गर्न‘भयो । उहाँको निकटतम प्रतिस्पर्धी जसपाका बालकिशोर यादव १७ हजार ९७७ मत प्राप्त गर्न‘भएको छ । 

नुवाकोट–२ मा केसी

प्रतिनिधि सभा सदस्यमा नुवाकोट क्षेत्र नं. २ बाट कांग्रेस नेता अर्जुननरसिंह केसी निर्वाचित हुनुभएको छ । केसीले २८ हजार १०७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत प्राप्त गर्नुभयो ।

सङ्खुवासभा समाचारदाता ध्यान कुलुङका अनुसार सङ्खुवासभाबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार खड्काले ३२ हजार १५८ मत प्राप्त गर्नुभयो । एमाले उम्मेदवार राजेन्द्र गौतमले २६ हजार ७१९ मत प्राप्त गर्न‘भयो । 

सिरहा–२ मा यादव

सिरहा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव निर्वाचित हुनुभएको छ । उहाँले २४ हजार १७८ मत प्राप्त गर्न‘भयो । निकटतम प्रतिस्पर्धी कांग्रेस नेत्री चित्रलेखा यादवले २३ हजार २८ मत प्राप्त गर्नुभयो । 

बारा–१ मा मैनाली

बारा समाचारदाताका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमाले नेता अच्युत मैनाली विजयी हुनुभएको छ । उहाँले ३९ हजार १९५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गर्नुभयो । बारा–३ बाट एमालेका ज्वालाकुमारी साह विजयी हुनुभएको छ । उहाँले २० हजार २५१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जसपाका रामबाबुकुमार यादवले १७ हजार २७९ मत हासिल गर्नुभएको छ ।

लहान समाचारदाता जिबछ यादवका अनुसार सिरहा–१ मा एमालेका रामशङ्कर यादव निर्वाचित हुनुभएको छ । यादवले २९ हजार ४६२ मत प्राप्त गर्नुभयो । कांग्रेसका पद्मनारायण चौधरीले २७ हजार ३७९ मत प्राप्त गर्न‘भयो । 

सिरहा–४ बाट जसपाका वीरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ । उहाँले २४ हजार १०२ मत ल्याउनुभयो । जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २१४ मत ल्याउनुभयो ।