त्रिभुवनचन्द्र वाग्ले
अर्थशास्त्री एडम स्मिथले मानिसले आर्जन गर्ने दक्षता तथा योग्यतालाई ‘पुँजी’ भने, मानवीय पुँजी । नोबेल पुरस्कार विजेता भारतीय अर्थशास्त्री अमत्र्य सेनले भने– मानिसलाई क्षमताको उच्चतम तहमा पुग्न सक्षम बनाउने क्रिया नै विकास हो । कुनै जमना थियो सडक, पुल, जहाज मैदान, बाँध वा ठूला भवन बनाइनु नै विकास हो अर्थात् भौतिक संरचना बनाउनु विकास हो । क्रमशः विकासका परिभाषा र अवधारणामा परिवर्तन आए । भन्न थालियो– आर्थिक वृद्धि विकास हो, विद्यमान अवस्थाभन्दा उन्नत अवस्थामा पुग्नु विकास हो, चाहना र उपलब्धताबीचको दूरी जति कम हुन्छ त्यो विकास हो, मानवीय क्षमता बढ्नु विकास हो ।
राजनीतिक दलहरूले धमाधम प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, २०७९ घोषणापत्र जारी गर्दैछन् । घोषणापत्रमा विकासका विभिन्न प्रतिबद्धता व्यक्त गरेका छन् । केही ठुला दलको घोषणापत्र हेर्दा यस्तो लाग्छ उनीहरूलाई विकास भनेको भौतिक विकास मात्र हो भन्ने ज्ञान छ । त्यसैले उनीहरू सडकको निर्माणलाई विकास भनिरहेका छन्, त्यसको उपयोग कसरी गर्ने भन्ने चेतनाको स्तर वृद्धिलाई ध्यान दिइरहेका छैनन् । चेतनाको स्तर वृद्धि गर्ने सबैभन्दा सशक्त साधन साहित्य, कला, मनोरञ्जन हो, जसले चेतकीकरण र वैकल्प्य विचार वृद्धि गर्छ ।
तर पार्टीका घोषणापत्रहरूले मानवीय क्षमता वृद्धि अझ भनौँ चेतना वृद्धिलाई ‘विकास’ भनिरहेका छैनन् । तिहारपछि पृथ्वी राजमार्गबाट काठमाडौँ फर्कंदै गर्दा राजमार्गका बीच चार ठाउँमा केराका बोक्रा र एक ठाउँमा कुहिएको केरा फालिएको देखेपछि लाग्यो– नेपालीहरू अझै पनि चेतनाका दृष्टिले सडक सुविधा उपभोग गर्नलायक भइसकेका रहेनछन् । सक्षम भइसकेका छैनन् । यस्ता नागरिकलाई सडक बनाउने घोषणापत्र र प्रतिबद्धताको के औचित्य ? चार ठाउँमध्ये एक ठाउँमा केराको बोक्रा फाल्ने महोदयहरू निजी कारमा सवार थिए । निजीकारवाला गाडीभित्र बसेर भन्दै थियो– नेताहरूले देश बिगारे । उनलाई थाह हुनुपर्ने हो मैले केराको बोक्रा फालेको सडक गाडी गुड्न बनाइएको हो । उनलाई किञ्चित अफसोच छैन, मैले फालेको केराको बोक्रामा चिप्लिएर सडक दुर्घटनामा केही व्यक्तिको निधन हुन सक्छ, कोही घाइते हुन सक्छन् । यस्ता चेतना भएका नागरिकलाई अल्पविकसित वा अविकासित भन्न सकिन्छ, जसरी देशहरूलाई अल्पविकसित, विकासशील वा विकसित भन्ने गरिन्छ ।
तर यस्ता व्यक्तिसमक्ष दलहरूले सडक बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने । नागरिकाले प्रतिबद्धता व्यक्त गर्नु नपर्ने ? राजनीतिक पार्टीहरूले घोषणापत्रमा साहित्य, कला समग्रमा वाङ्मयलाई महìव दिएका छैनन् । यसैले नेपालीहरू कथित आधुनिक त भएका होलान् तर विकसित हुन सकेका छैनन् । घोषणापत्रमा नेपाली कांग्रेसले चुनावी घोषणापत्रलाई सङ्कल्प भनेको छ, जसको अन्तिम खण्ड–५ को १०औँ बुँदामा कला, संस्कृति र खेलकुद उपर्शीर्षकमा ‘साहित्य’ नामका केही शब्द पारेका छन् । नेपाली काँग्रेसले साहित्यलाई मानवीय पुँजी वृद्धि गर्ने साधन मानेको देखिँदैन । उसले साहित्यको विकासलाई जोड दिएको छु भन्न सक्छ, जबकि मुलुकको भौतिक विकास मात्र नभएर सामाजिक, सांस्कृतिक विकासका लागि साहित्यलाई साधन बनाउनुपर्ने हो । साहित्यको विकासको कुरा होइन, विकासमा साहित्यलाई कसरी आबद्ध (टाई–अप) गर्ने भन्ने सवाल महìवपूर्ण हो, जसरी महिला विकास र विकासमा महिला भिन्न अवधारणा मानिन्छन् ।
रहे दुई ठूला कम्युनिस्ट पार्टीका घोषणापत्र । उनीहरू पनि साहित्यको विकास र विकासमा साहित्यको भूमिकामा स्पष्ट छैनन् । उनीहरू अस्पष्ट हुनु स्वाभाविक हो, किनभने उनीहरूको वाम–सूत्र–शास्त्रले साहित्यलाई उत्पादनको साधन मान्दैन । यो मुठीभर सम्भ्रान्त वर्गको मनोरञ्जनको साधन मात्र हो । यहीँनेर समस्या छ, दलहरूले भनेको विकासले बाटो बनाउँछ, साहित्यले विवेक निर्माण गर्छ । कुनै पनि विवेकशील मानिसले सडकमा केराको बोक्रा फाल्दैन । यसर्थ दलहरूले सडक बनाउनुभन्दा सडकको विवेकशील उपयोग गर्नसक्ने गरी नागरिकलाई उच्चतम चेतनास्तरमा पु¥याउन ध्यान दिनुपर्छ । नागरिकहरू पनि सडकमा केराको बोक्रा फाल्ने अनि सरकारले सडक सफा राखेन भनेर गफ–यन्त्र बन्नु हुँदैन ।
तर साहित्यलाई उत्पादनको साधन नभन्ने दर्शनबाट दीक्षित नेकपा (माओवादी केन्द्र) ले कांग्रेसको तुलनामा अलि स्पष्टसँग साहित्यको विकासमा प्रतिबद्धता व्यक्त गरेको छ । उसले ‘सांस्कृतिक रूपान्तरण’ खण्डमा स्रष्टा सम्मानदेखि साहित्य महोत्सव, कविगोष्ठी समाजवादी चरित्रका चलचित्र प्रदर्शनलाई महìव दिएको छ । यी सबै साहित्यको विकाससँग थोरैधेरै सम्बन्धित गतिविधि हुन् तर मुलुकको समग्र विकासमा साहित्यको भूमिकाबारे माओवादी पनि स्पष्ट छैन । छोटकरीमा भन्नुपर्दा, राजनीतिक दलहरू अर्थशास्त्रीय विकासबाट माथि उठ्न सकेका छैनन्, जसले आर्थिक वृद्धिलाई जोड दिन्छ तर अहिलेको आवश्यकता समाजशास्त्रीय विकास हो । जसले मानिसको दक्षता वृद्धिमा जोड दिन्छ । दक्ष, चेतनशील र विवेकी मानिसले सडकमा गाडी गुडाउने हो, केराको बोक्रा फाल्ने होइन भन्छ र त्यसै गर्छ । विकासले यहीँ हस्तक्षेप गर्नुपर्छ ।
तर मुलुकको चौतर्फी विकास गर्छु भन्ने नेकपा एमालेको घोषणापत्रमा साहित्य भन्ने शब्द देखिएन । भाषा, संस्कृतिका केही सन्दर्भ उल्लेख गरेको एमालेलाई पूरै लागेको हुनसक्छ देश, समाज वा मानवीय क्षमताको विकासमा साहित्यको भूमिका हुँदैन, त्यसैले साहित्यको विकास प्रवद्र्धनलाई उसले घोषणापत्रमा राखेको छैन ।
साहित्य, कला, भाषा, संस्कृतिको प्रवद्र्धन गर्छु भन्छन् दलहरू तर उनीहरू साहित्यको प्रयोजन के हो भन्नेमा अस्पष्ट छन् । पुरस्कार स्थापना र स्रष्टा सम्मानलाई केही दलले साहित्यको विकास गर्ने उपायका रूपमा लिएका छन् । महìवपूर्ण कुरा, राज्यले पुरस्कार दिन्छु कविता लेख भनेर कविहरूलाई प्रेरित गर्ने होइन, केके गर्दा साहित्य समग्रमा वाङ्मयको विकास हुन्छ र मुलुकको समाजशास्त्रीय विकासमा वाङ्मयलाई कसरी उपयोग गर्ने भन्नेमा स्पष्ट हुनपर्छ । नैतिकता स्थापनालाई पूर्वीय चिन्तकहरूले साहित्यको प्रयोजन भनेका छन् । लोकहितले युक्त विचार नै साहित्य हो भनेका छन् । नैतिकताको स्थापना र सर्वजन हितायमार्फत ‘समाज रूपान्तरण’ वर्तमान युगको कार्यभार हो । धेरैलाई लाग्छ, खासगरी सत्तासीनलाई, कि साहित्यले केही गर्दैन तर आज जे परिस्थिति निर्माण भएको छ त्यसको वकालत हिजो साहित्यले गरेको थियो र यस परिस्थित निर्माणका लागि राजनीतिक शक्तिलाई साहित्यले डो¥याएको थियो । वि.सं. २००७ को क्रान्तिभन्दा पहिला धरणीधरको ‘जाग जाग अब जाग न जाग’ कविताले समाज रूपान्तरणको आग्रह गरेको होइन ? धरणीधरले कल्पना गरेको समाज निर्माणमा दलहरूले राजनीतिक आग्रह स्थापित गरेका हुन् । केही पनि गर्दैन भनेको साहित्यले नै राजनीतिलाई डो¥याउँदै नवीन विचार निर्माणमा अग्रणी भूमिका निर्वाह गरेकामा असहमत हुनुपर्ने छैन । यसर्थ राजनीतिभन्दा साहित्य जहिले पनि अघिअघि हुन्छ र आफ्नो पछिपछि राजनीति डो¥याइएको हुन्छ । अझै प्रष्टसँग भनौँ भने हालको राजनीतिक परिस्थितिको जग २०६२÷०६३ को आन्दोलनलाई मान्ने हो भने विचरा आन्दोलन रत्नपार्क वरिपरि थला परेपछि साहित्यकार, कलाकार, लेखकहरूले गीत, कविता सुनाएर आन्दोलनलाई जगाउनुपरेको थियो । त्यसअघि साहित्य÷वाङ्मयले वर्तमान परिस्थिति बन्नुपर्छ भनेर विचार निर्माण गर्दै आएको होइन ? कि दबाब दिएको होइन ? तर साहित्यले केही गर्दैन, साहित्य उत्पादनको साधन होइन भन्नेले बुझ्नुपर्छ साहित्यले सबथोक गर्छ, साहित्य विचार र विवेक निर्माण गर्ने कारखाना हो । लेखकहरू बौद्धिक श्रमिक हुन् । पाठकलाई बौद्धिक सर्वहारा मान्न सकिन्छ, जो वैचारिक आन्दोलनका निर्णयक पनि हुन् ।
तर राजनीतिक दलहरू साहित्यलाई निम्सरो लहरा देख्छन् र संरक्षणको थाँक्रो दिनुपर्छ भन्ने पुरातन सोचमा छन् । निद्रामा छन् । ब्युँझनुपर्छ उनीहरू र बुझ्नुपर्छ उनीहरूले, साहित्यलाई थाँक्रो दिने होइन, साहित्यको विशालफाँटमा राष्ट्रियता फल्नुपर्छ । राजनीति झुल्नुपर्छ । राष्ट्रियता पहिचान हो, संस्कृति हो, विविधता हो, अपनत्व हो । यसर्थ साहित्यलाई निरीह वस्तुलाई जस्तो संरक्षण गर्नु आवश्यक छैन । बरु साहित्य÷वाङ्मयको शक्तिमा विवेकशील शासनको परिकल्पना गर्नुपर्छ । साहित्यलाई संरक्षण होइन, यसको सामर्थ बुझौँ ।