• १५ वैशाख २०८१, शनिबार

पहिलो विश्वकप–१९३०

पानीजहाजमै अभ्यास

blog

सन् १९०४ मा स्थापना हुँदा नै फिफाले विश्वकप आयोजना गर्ने अधिकार ग्रहण गरिसकेको थियो तर उसलाई पहिलो विश्वकप आयोजना गर्न २६ वर्ष लाग्यो।  

आर्थिक मन्दी, विश्वस्तरको व्यावसायिक फुटबलमा चासोको कमी तथा दक्षिण अमेरिका पुग्न लामो समुद्री यात्राको झन्झटका कारण युरोपका धेरै राष्ट्रले पहिलो विश्वकपमा सहभागिता जनाएनन्। फिफाले आफ्ना सबै सदस्य राष्ट्रलाई छनोट प्रतियोगिताबिना नै विश्वकप सहभागी हुन निम्ता ग¥यो तर १३ राष्ट्रले मात्र आफ्नो टिम उरुग्वे पठाउने भए, जसमा सात टिम त अमेरिकी क्षेत्रकै थिए। 

‘वाल स्ट्रिट क्र्यास’ नामक आर्थिक समयमा मन्दीको केही समयपछि नै सन् १९३० मा पहिलो विश्वकप फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो। उक्त विश्वकपअन्तर्गतका सबै खेल उरुग्वेको राजधानी मोन्टेभिडियोमा मात्र खेलाइए। युरोपका चार राष्ट्र फ्रान्स, बेल्जियम, रोमानिया र युगोस्लाभियाले मात्र प्रतियोगितामा सहभागिता जनाएका थिए। युगोस्लाभियाबाहेक युरोपका अन्य सहभागी राष्ट्रका टिम विश्वकप खेल्न फ्रान्सबाट प्रशान्त महासागरको दुईहप्ते लामो जहाज यात्रामा निस्किए। यी सबै टिम एउटै जहाजमा सवार भएर गएका थिए र एकैदिन मोन्टेभिडियो पुगे। यी टिमका खेलाडीले लामो यात्रामा पानीजहाजभित्र तयारी अभ्यास गर्दथे। 

यस प्रतियोगितामा सहभागी १३ टिमलाई चार समूहमा वर्गीकरण गरिएको थियो भने शीर्ष चार स्थानमा रहेका टिमले सेमिफाइनल खेल्ने गौरव पाएका थिए। युरोपबाट युगोस्लाभियाले मात्र अन्तिम चारमा स्थान बनाएर उत्कृष्ट नतिजा निकाल्न सफल भएको थियो तर सेमिफाइनलमा युगोस्लाभिया आयोजक उरुग्वेसँग नराम्ररी ६–१ ले पराजित भयो। 

दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले सोही गोल अन्तरमा अमेरिकालाई पाखा लगायो। फाइनल खेल अत्यन्त तनावपूर्ण थियो। खेल मैदानभित्र र बाहिर जुनसुकै बेला अप्रिय स्थिति आउने अवस्था देखिएकाले सुरक्षा व्यवस्था अत्यन्त कडा पारियो। फाइनल खेल हेर्न हजाराैँ अर्जेन्टिनी डुङ्गा चढेर आएका थिए र उनीहरूसँग हातहतियार रहेको आशङ्कामा रङ्गशालाको प्रवेशद्वारमा प्रहरीले कडा जाँचसमेत ग¥यो। करिब ९० हजार घरेलु दर्शकको समर्थक पाएको उरुग्वेले फाइनलमा अर्जेन्टिनालाई ४–२ ले हराएर पहिलो विश्वकप जितेको थियो। 

ट्रफी जितेपछि उरुग्वेमा सार्वजनिक बिदा घोषणा गरियो भने फाइनलमा आफ्नो राष्ट्र पराजित भएपछि रिसले चुर बनेका अर्जेन्टिनाका समर्थकले ब्युनस आयर्समा अवस्थित उरुग्वेको राजदूतावासमा हमला गरेका थिए। 

युवामञ्च