• १३ वैशाख २०८१, बिहिबार

आयात निर्यातमा गिरावट

blog

काठमाडौँ, मङ्सिर ८ गते । मुलुकको आयात निर्यात घट्दो क्रममा छ । सरकारले आयात निरुत्साहनको नीति लिएका कारण आयात घटे निर्यात पनि घट्नुले चिन्ता थपिदिएको छ । 

विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले लिएको आयात निरुत्साहन नीति र अन्य आन्तरिक तथा बाह्य कारणले वस्तु र सेवाको माग खुम्चिएकाले आयात १८ प्रतिशतले खुम्चिएको भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ५० अर्ब रुपियाँको आयात भएकामा समीक्षा अवधिमा पाँच अर्ब ३२ करोड रुपियाँमा सीमित भएको छ । आयात कम हुँदा विदेशी मुद्रा सञ्चितिमा भने केही सुधार आएको छ । 

सरकारले विभिन्न कार्यक्रमबाटै प्रवद्र्धन गर्न खोजेको निर्यात पनि समीक्षा अवधिमा घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नेपालको निर्यात व्यापार ३३.३ प्रतिशतले घटेको छ । 

गत आर्थिक वर्षको पहिलो चार महिनामा ८२ अर्ब १२ करोड रुपियाँको वस्तु निर्यात भएकामा चालू आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ५४ अर्ब ७७ करोड ४३ लाख रुपियाँमा झरेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक)अवधिमा नेपालको वैदेशिक व्यापारको आकार घटेको छ । आयातसँगै निर्यात पनि घटेका कारण वैदेशिक व्यापारको आकार १९ दशमलव ७९ प्रतिशतले खुम्चिएको हो । 

आयात निर्यात खुम्चिएको सकारात्मक असर व्यापार घाटामा परेको छ । तथ्याङ्कअनुसार नेपालको वैदेशिक व्यापार घाटामा १५ प्रतिशतले कमी आएको आएको छ ।

चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा व्यापार घाटा चार खर्ब ७७ अर्ब ९१ करोड रुपियाँ छ, जुन अघिल्लो वर्ष सोही अवधिमा पाँच खर्ब ६८ अर्ब १७ करोड रुपियाँ थियो तर गत वर्षको सोही अवधिको आयात निर्यात अनुपात ७.९२ बाट बढेर चालू आवमा ९.७३ पुगेको विभागले जनाएको छ ।

आयात निर्यात दुवैमा गिरावट आएसँगै त्यसको सिधा असर राजस्व परिचालनमा परेको छ । आव २०७८/७९ को पहिलो चार महिनामा सरकारले भन्सारमार्फत हुने आयातबाट एक खर्ब ७२ अर्ब ६२ करोड रुपियाँ प्राप्त गरेकोे थियो तर चालू आर्थिक वर्षको सोही अवधिमा एक खर्ब २६ अर्ब ६२ करोड २२ लाख रुपियाँ मात्रै प्राप्त भएको छ ।