(ध्यानाकर्षण : उद्धरण चिह्नभित्रका सामग्रीको हिज्जे प्रकाशित सामग्री अनुसार नै गरिएको छ । यस्तै, सोमनाथ शर्माको १९७६ सालमा प्रकाशित पुस्तकको आवरणमा ‘मद्ध्यचन्द्रिका’ उल्लेख भएकाले यहाँ पनि सोहीअनुसार गरिएको हो । एकै व्यक्तिको मध्यनाम कतै जोडिएको र कतै छुट्टिएको छ । त्यसलाई प्रकाशित कृति/सामग्रीका आधारमा जस्ताको तस्तै राखिएको हो ।)
पङ्क्तिकारको मातृभाषा नेपाली होइन । काठमाडौँको रैथाने नेवार । सामाजिक वर्गको कुरो गर्दा ऊ जनजातिमा पर्छ । नेपाली बृहत् शब्दकोशको परिभाषालाई सापट लिने हो भने ‘आफ्नै भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज भएका र कुनै निश्चित क्षेत्रमा बसोबास गर्ने ज्ञानविज्ञानका हिसाबले केही पछि परेको पछौटे जाति’ मा पर्छ ऊ !?
पङ्क्तिकार मूलतः व्यवस्थापनको विद्यार्थी हो, नेपाली भाषाको होइन । उसले प्रमाणपत्रभन्दा उपल्लो तहमा नेपाली विषयको औपचारिक पठनपाठन गर्न परेन । ऊ नेपाली भाषा–व्याकरणको प्राज्ञिक व्यक्ति होइन, एक करोडभन्दा बढीको सङ्ख्यामा रहेका प्रयोक्ताहरूमध्ये एक हो । यद्यपि औपचारिक शिक्षा लिने क्रममा हासिल गरेको नेपाली भाषासम्बन्धी ज्ञान, स्वाध्याय, पत्रकारिता कर्मका क्रममा अग्रजहरूबाट प्राप्त निर्देशन–सुझाव र अभ्यासका कारण चार दशक लामो पत्रकारिता यात्राको पूर्वाद्र्धमा पङ्क्तिकारलाई खासै समस्या परेन । (हो, त्यतिबेला केही गल्ती गरिएको रहेछ, सिकाइमा केही कमजोरी भएको रहेछ भन्ने चेत पछिल्ला वर्षहरूमा खुलेको छ ।) तर, उत्तराद्र्धको पछिल्लो दशकमा भाषाका दिग्गजहरूको ‘ओठेलडाइँ’ को सिकार पङ्क्तिकार पनि बनेको छ ।
खासगरी वर्णविन्यासको ‘मानकीकरण’ नियम÷निर्देशनले उसको लेखन–सम्पादन आत्मविश्वास बेलाबखत धरमरिएको छ, चर्मरिएको छ र जलावर्तमा परेको जहाज जस्तो बनेको छ । कुनै शब्द लेख्दा हिज्जेप्रति बढी नै शङ्कालु हुन थालेको छ । यो हिज्जे ठिक हो कि त्यो हिज्जे ठिक हो, पदयोग हो कि पदवियोग भनी बढी नै माथापच्ची गर्न थालेको छ । जिन्दगीको तीन चौथाइ हिस्सामा उसले जति पटक नेपाली शब्दकोश पल्टायो होला, पछिल्लो एक दशकमा त्यसभन्दा निकै बढी पटक पल्टाएको छ, पल्टाउन बाध्य भएको छ । एउटा शब्दकोश हेरेर एक प्रकारको हिज्जे प्रयोग गरेको छ, अर्को शब्दकोश हेरेर अर्को प्रकारको हिज्जे प्रयोग गरेको छ । व्याकरणको एउटा पुस्तक पल्टाएर एउटा नियम पछ्याएको छ, व्याकरणको अर्को पुस्तक पल्टाएर अर्को नियम पछ्याएको छ । हिज्जे र व्याकरणका नियमको ‘फोबिया’ यस्तोसँग बढेको छ, ऊ दृष्टिविहीनहरूले हात्तीको सुँड छामेको जस्तो स्थितिमा पुगेको छ ।
कारण स्पष्ट छ, औपचारिक शिक्षा क्रममा हासिल ज्ञान, स्वाध्याय, विगतमा अग्रजहरूबाट प्राप्त गरेको निर्देशन–सुझाव र अभ्यासले लेखन–सम्पादनको एउटा मार्ग, एउटा नियमतर्फ डो¥याइरहेको हुन्छ । नेपाली भाषाका दिग्गज व्यक्तिहरूको तर्कवितर्क र जिम्मेवार संस्थाहरूले बेलाबेलामा ‘जारी’ गर्ने गरेको ‘निर्देशन’÷‘नियम’ ले भने अर्कै मार्गतर्फ ‘घिच्च्याइ मुन्ट्याइ’ गरिरहेको हुन्छ । उसले विद्यालय तथा क्याम्पसमा सिकेका कतिपय कुरा अहिले त ‘डेट एक्सपायर’ भइसकेका पो रहेछन् ! हिजोका व्याकरणमा भएका कतिपय नियम तथा शब्दकोशमा भएका कतिपय शब्दहरूसमेत ‘डेट एक्सपायर’ भइसकेका रहेछन् ! वर्णमालाका केही वर्ण पनि एकादेशका कथा भइसकेका रहेछन् !
पत्रकारिताको तीन दशकभन्दा बढी अवधि पङ्क्तिकारले नामयोगी शब्द ‘बीच’ लेख्न पर्दा ‘बीच’ लेख्यो तर पछिल्लो समयमा ‘बिच’ लेख्न थालेको छ । ‘शहीद’ को वर्ण फेरिएर ‘सहिद’ भएको पनि वर्षौं भएको छ । अचेल ऊ ‘दूध’ होइन, ‘दुध’ लेख्छ । ‘ठूलो’ होइन, ‘ठुलो’ लेख्छ । तीतो, मीठो, बूढो, रूख, सीप, भीख, कीरो, कीलो, कपूत, कपूर, अछूत, ठीक आदिको वर्णव्यक्तित्व रूपान्तरित भएर तितो, मिठो, बुढो, रुख, सिप, भिख, किरो, किलो, कपुत, कपुर, अछुत, ठिक भएका छन् ।
पाठ्यक्रम विकास केन्द्र (पाविके) ले बनाएको नियम र नेपाल प्रज्ञा–प्रतिष्ठान (नेप्रप्र) को ‘नेपाली बृहत् शब्दकोश’ (दसौँ संस्करण) को हिज्जे पछ्याउँदै बिस, तिस, बत्तिस, चौतिस आदि लेख्न थालेको छ । बीस, तीस, चौँतीस, छत्तीस आदि लेख्न छाडेको छ । पाविकेले सङ्ख्यावाचक शब्द लेख्दा तीनबाहेक सबै शब्दका आदि र मध्यमा ह्रस्व गर्ने बनाएको छ । हो, सङ्ख्यावाचक शब्द ‘तीन’ ले उसको दिमागलाई पटकपटक च्याम्पटी घुमाए झैँ घुमाएको छ । ‘नेपाली बृहत् शब्दकोश’ को सातौँ संस्करणदेखि नवौँ संस्करणसम्मले नाम शब्द ‘तीन’ लाई ‘तिन’ लेख्न सिकाएकै हो । पुष्पलाई ‘पूmल’ होइन ‘फुल’ लेख्न सिकाएकै हो । पाविकेको ‘प्रकाशन शैली’ (२०७०) ले ‘दिदीले बगैँचाको फुल टिपेर माला उनिन्’, ‘मैले तिन ओटा कलम किनेँ’, ‘जुन अस्ताए’ आदि उदाहरणसहित ‘तद्भव र आगन्तुक स्रोतका समध्वनिक भिन्नार्थी शब्द समलिपि चिह्नमा लेख्ने’ भनेर निर्देश गरेकै हो । अहिले पुनः पूmल, तीन, जून बनेका छन् । वर्णव्यक्तित्व रूपान्तरित भएका शब्दहरू कति छन् कति ! र, पङ्क्तिकार आफैँ पनि ती रूपान्तरित शब्दहरू प्रयोग गर्न बाध्य ‘निम्छरो’ व्यक्तिमा रूपान्तरित भइसकेको छ । कारण पाविके र नेप्रप्रको ‘निर्देशन’÷नियम छ– तद्भव र आगन्तुक शब्दमा सुरु र बिचमा ह्रस्व लेख ।
नेप्रप्रको बृहत् शब्दकोशको नवौँ संस्करण र पाविकेको प्रकाशन शैली (२०७०) को प्रकाशनपछि नेपाली भाषाका विद्वान्हरू कुस्तीबाजीको ‘एरिना’मा उत्रेका कुस्तीबाज जस्ता भए । हिज्जे विवादले सडक र सदन ततायो÷तात्यो । ‘नेपाली भाषा बचाऔँ अभियान–२०७२’ नै चल्यो । अनशन बस्ने र हस्ताक्षर सङ्कलन गर्ने अभियान चले । पाविकेको प्रकाशन शैली परिमार्जनका लागि गठन भएको कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजाने फाइल सदर गर्ने तत्कालीन शिक्षामन्त्री आफैँ टकटकिए र आन्दोलनको पक्षधर बने । चूडामणि गौतमका त ‘वर्णविन्यास बिगार्नेहरूको भन्डाफोर’ र ‘नेपाली शब्दको दुर्दशा फुलको माला क्या मज्जा’ कृतिहरू नै प्रकाशित भए । नेपाली भाषा प्रकाशिनी समितिले १९९१ सालमा निकालेको ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ को सम्झना दिलाउँदै नेपाली भाषा प्रयोगकर्ता समूहले पनि ‘नेपाली कसरी शुद्ध लेख्ने ? (नेकशुले–२०६९)’ निकालिसकेकै थियो । कलेज÷क्याम्पसमा पढ्दा ‘ठीक’ लेख्न अभ्यस्त भएका प्रयोक्ताहरू भने ट्वाँऽ परे, यो ‘ठिक’ कि त्यो ‘ठीक’ ?
‘नेपाली भाषा बचाऔँ’ अभियानको छ वर्षअघि नै ‘त्रिभुवन विश्व विद्यालय पाठ्यक्रम विकास केन्द्रका तर्फबाट अनिवार्य नेपाली विषय स्थायी समिति’ ले ‘विश्वविद्यालय’ लाई नै टुक्र्याएर ‘विश्व विद्यालय’ बनाउँदै २०६६ सालमा ‘अनिवार्य नेपाली शिक्षण निर्देशिका’ निकालेको कुरा पनि धेरैले सम्झे । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्नातक प्रथम वर्षका लागि तयार पारिएको उक्त शिक्षण निर्देशिकालाई गुरुमन्त्र मान्दै अनुसरण गर्न बाध्य नेपाली विषय शिक्षकहरूले शैक्षिक वर्ष फेरिनासाथ अघोषित रूपमा हुस्सु बनेका पनि सम्झे । अध्यापन क्रममा अघिल्लो वर्षसम्म यी शब्दहरू ‘दीर्घ हुन्छन्’ भन्दै पढाउँदै आएका शिक्षकहरू ‘ह्रस्व लेख्नु पर्छ’ भनी पढाउन बाध्य भएका थिए । अरू पनि त्यस्ता थुप्रै कुरा भए । फलतः कतिपय विद्यार्थीका दृष्टिमा गुरुहरू ‘लबस्तरो’ प्रमाणित भए । नयाँ नियमको पालना गर्ने विद्यार्थी र पुरानो नियमको पालना गर्ने शिक्षक अथवा नयाँ नियम पछ्याउने शिक्षक र पुरानो नियम नै पछ्याउने विद्यार्थीबिच भएको व्याकरण–दङ्गलमा परेर कति विद्यार्थीका प्राप्ताङ्क सहिद भए !
पाविकेको २०७६ सालमा परिमार्जित ‘शैली पुस्तिका’ ले ‘सुन्दा उच्चारण एउटै लाग्ने तर अर्थ भिन्न हुने शब्दहरूको हिज्जे निम्नानुसार लेख्नुपर्छ भन्दै फुल (अण्डा), पूmल (पुष्प), पुरा (जुठो कुरा), पूरा (पूर्ण), जुन (पदवर्ग), जून (चन्द्रमा), तिन (पदवर्ग), तीन (सङख्या) आदिको उदाहरण दिएको छ । तर, समस्या विकराल हुँदो छ ।
प्रयोक्ताहरू दोबाटोको दोबाटोमै छन् । कुन चाहिँ बाटो समात्ने भनी तय गर्न सकिरहेका छैनन् । यो समस्याको जालोमा नेपाली भाषाका प्रयोक्ताहरू मात्र होइनन्, दिग्गजहरू पनि जेलिएका छन् । नेप्रप्र नै पनि यो माकुरेजालोमा फसेको छ । त्रिवि नेपाली शिक्षण विभागका धुरन्धरहरूबिच नै पनि मतैक्य छैन । ‘सञ्चार माध्यममा भाषाको प्रयोग’ विषयक गोष्ठीको आयोजनापछि यो भाषामन्थनमा पछिल्ला दिनहरूमा भाषा आयोग पनि जोडिन पुगेको छ । गोष्ठीमा आयोगका तत्कालीना अध्यक्ष लवदेव अवस्थीले “सञ्चार माध्यममा मानक दिन नसक्दा कतिपय स्थानमा त्रुटि भइरहेको” औँल्याउनुभएको थियो ।
मानकीकरणको प्रयास र अलमलिएका प्रयोक्ता
शुद्धाशुद्धिको सचेतता त ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ (१९९१ साल) प्रकाशन हुनुभन्दा धेरै अघिदेखि नै देखिइसकेको थियो । वर्णविन्यासको मानकीकरणतर्फ पाइला चालिइसकेको थियो । शर्वराज आचार्यले ‘नेपाली वर्णविन्यासको मानकीकरणको इतिहास’ मा १९६० तिर शुद्धाशुद्धिको प्रथम सचेतता देखिएको उल्लेख गर्नुभएको छ । आचार्यले ‘वि.सं. १९५८ तिर गोरखापत्रको प्रकाशनले नेपाली भाषाको गद्य मुद्रणले विस्तार पायो । त्यसपछि मुद्रणमा वर्णविन्याससम्बन्धी शुद्धाशुद्धिको प्रसङ्ग उठेको देखिन्छ’ भनी उल्लेख गर्नुभएको छ । उहाँका अनुसार, यसलाई नै नेपाली वर्णविन्यासको मानकीकरणको प्रारम्भिक चर्चा मान्न सकिन्छ । उहाँले १९६०–१९९० सालको अवधिलाई वर्णविन्यास मानकीकरणको प्रथम चरण भनी उल्लेख गर्नुभएको छ । उहाँका अनुसार, १९९१–२०३९ को अवधि मानकीकरणको दोस्रो र २०४०–२०७० सालको अवधि तेस्रो चरण हो । अर्थात् वर्णविन्यासको मानकीकरणको चिन्तन १०० वर्षभन्दा अघि नै भइसकेको छ ।
नेपाली व्याकरण लेखनको इतिहास त त्योभन्दा पनि लामो छ । व्याकरणसम्बन्धी विभिन्न कृतिहरूका लेखक मोहनराज शर्माका विचारमा ‘नेपाली व्याकरणलाई त्यति नै पुरानो मान्नुपर्छ जति पुरानो नेपाली भाषालाई मानिन्छ’ । प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईंले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ मा ‘सन् १८२० मा जे. ए. एटनले अङ्ग्रेजी भाषामा लेखेको ‘अ ग्रामर अफ द नेपाली ल्याङ्ग्वेज’ बाट नेपाली व्याकरण लेखनको परम्परा प्रारम्भ भएको उल्लेख गर्नुभएको छ । अन्य धेरै विद्वान्ले पनि एटनको व्याकरणलाई प्रस्थान विन्दु मानेका छन् । एटनको व्याकरणलाई प्रस्थान विन्दु मान्ने हो भने नेपाली भाषाको व्याकरण लेख्न थालिएको पनि २०० वर्ष नाघिसकेको छ । त्यसपछिका वर्षहरूमा नेपाली विद्वान्हरूले व्याकरणका थुप्रै पुस्तक लेखेका छन् ।
वीरेन्द्रकेशरी अज्र्यालले १९६० सालतिर ‘नेपाली व्याकरण’ लेखेको भनाइ छ । जयपृथ्वीबहादुर सिंहको ‘प्राकृत व्याकरण’, हेमराज पण्डितको ‘चन्द्रिका गोरखा भाषा व्याकरण’, विश्वमणि दीक्षिताचार्यको ‘गोरखाव्याकरणबोध’, सोमनाथ शर्माको ‘मद्ध्यचन्द्रिका ः नेपाली भाषाको मझौला व्याकरण’, पुष्कर शमशेरको ‘नेपाली सजिलो व्याकरण’, कृष्णप्रसाद पराजुलीको ‘राम्रो रचना मीठो नेपाली’, गोपाल पाँडेको ‘रचना केशर’, मोहनराज शर्माको ‘शब्दरचना र वर्णविन्यास ः भाषावैज्ञानिक पद्धति’ तथा ‘शब्दरचना र वर्णविन्यास, वाक्यतत्त्व र अभिव्यक्ति’, हेमाङ्ग राज अधिकारीको ‘समसामयिक नेपाली व्याकरण’, ‘प्रयोगात्मक नेपाली व्याकरण’ तथा ‘प्रयोगात्मक सरल नेपाली व्याकरण’, पाठ्यक्रम विकास केन्द्रका ‘अनिवार्य नेपाली शिक्षण निर्देशिका’ हरू, व्रतराज आचार्यको ‘आधारभूत नेपाली व्याकरण तथा रचना’, नरेन्द्र चापागाईंको ‘आधुनिक नेपाली व्याकरण तथा रचना’, जगन्नाथ त्रिपाठीको ‘अनिवार्य नेपाली व्याकरण र विवेचना’, टङ्क प्रसाद न्यौपानेको ‘नेपाली मानक व्याकरण तथा कार्यमूलक लेखन’, माधवप्रसाद पोखरेलको ‘क्याम्पस स्तरीय नेपाली वाक्य व्याकरण’ र ‘नेपाली वाक्य व्याकरण’, शिवगोपाल रिसाल तथा विष्णुगोपाल रिसालको ‘नेपाली भाषा र व्याकरण’ आदि प्रकाशित छन् । पं. ऋषभदेव शास्त्रीको ‘व्याकरणको दन्त्यकथा’ नै पनि प्रकाशित छ ।
नेप्रप्रले २०७१ सालमा ‘प्रज्ञा नेपाली सन्दर्भ व्याकरण’ र २०७७ सालमा ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरेको छ । नेप्रप्रकै ‘नेपाली वर्ण व्याकरण’ प्रकाशित भइसकेको भनिए पनि अहिलेसम्म बजारमा उपलब्ध भइसकेको छैन । तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले हेमाङ्गराज अधिकारीको ‘नेपाली कारक व्याकरण’, चूडामणि बन्धुको ‘नेपाली व्याकरणका केही पक्ष’ तथा रोहिणीप्रसाद भट्टराईको ‘बृहत् नेपाली व्याकरण’ प्रकाशन गरेको देखिन्छ । शरच्चन्द्र वस्तीका ‘हाम्रो भाषा’ र ‘नेपाली कसरी लेख्ने ?’ पनि भाषाको मायाकै उपज हुन् । मुकुन्दशरण उपाध्यायको ‘सरल नेपाली शुद्ध नेपाली’ मा ‘कतिपय व्याकरणात्मक प्रस्तावहरू’ प्रस्तुत गरिएको छ । चूडामणि गौतमलगायत विद्वान्हरूका नेपाली व्याकरणका र नेपाली व्याकरणसँग प्रत्यक्ष–परोक्ष सम्बन्धित थुप्रै पुस्तकहरू प्रकाशित छन् । सूची बनाउने हो भने लामै बन्छ तर नेपाली भाषा प्रयोक्ताहरूले मानकको रूपमा प्रयोग गर्नेसक्ने व्याकरणको खाँचो हिजो पनि थियो, आज पनि छ । भोलिका दिनमा के हुने हो, त्यसको जवाफ त भाषाविद्–व्याकरणविद्हरूले मात्रै दिन सक्लान् ।
शब्दकोशको भिडमा अलमलिएका प्रयोक्ता
नेपाली भाषा प्रयोक्ताहरूका लागि अत्यावश्यक औजार हो, शब्दकोश । शब्दकोश अर्थात् ‘नेपाली बृहत् शब्दकोश’ को परिभाषाअनुसार, कुनै भाषाका शब्दहरूको वर्णक्रमअनुसार शब्द सङ्कलन गरी व्याकरणात्मक कोटि आदि खुलाएर उही वा अन्य भाषामा अर्थ, पर्याय, विशेषता आदि लेखिएको ग्रन्थ । बद्री विशाल भट्टराईले ‘नेपाली भाषाको मानकीकरणमा शब्दकोश परम्परा’ लेखमा “व्याकरण र शब्दकोश भाषाको स्तरीकरण र मानकीकरणका संयन्त्र तथा सन्दर्भ ग्रन्थ मानिन्छन्” लेख्नुभएको छ ।
नेपाली शब्दकोशको प्रारूप कोर्नेमा डब्लु. जे. कर्कप्याट्रिक भन्ने नाम अगाडि आउँछ । ‘नेपाली बृहत् शब्दकोश’ को पहिलो संस्करणको ‘सम्पादकीय’ मा “कर्कप्याट्रिकले नेपालको इतिहास वा वंशावलीसम्बन्धी विवरणको पृष्ठभागमा नेपाली शब्दहरूको सूची पनि दिएका छन् । यस पुस्तकको प्रकाशन १८११ इ. मा भएको थियो” उल्लेख छ । यसको नौ वर्षपछि सन् १८२० मा एटनको ‘नेपाली व्याकरण’ र सन् १८८७ मा दार्जिलिङबाट ए. टर्नबुलको नेपाली व्याकरण र शब्दावली (नेपाली ग्रामर एन्ड भोकाबुलरी) प्रकाशन भएको पनि सम्पादकीयमा उल्लेख छ । यस क्रममा सन् १९३१ मा नयाँ दिल्लीबाट प्रकाशित आर. एल. टर्नरको नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश ‘अ कम्प्यारेटिभ एन्ड इटिमोलोजिकल डिक्सनरी अफ नेपाली ल्याङ्ग्वेज’ उल्लेख्य छ । उक्त शब्दकोशका प्रविष्टिहरू नेपालीमा छन् भने अर्थ अङ्ग्रेजीमा । टर्नरले सो शब्दकोश निर्माणका लागि एटनको ‘अ ग्रामर अफ द नेपाली ल्याङ्ग्वेज’, टर्नबुलको ‘नेपाली ग्रामर एन्ड भोकाबुलरी’, हेमराज गुरुको ‘गोर्खा–भाषा–व्याकरण चन्द्रिका’, सोमनाथ शर्माको ‘‘मद्ध्यचन्द्रिका’, आर. किलगौर, एच. सी. डुकान र जी. पी. प्रधानको ‘इङ्लिस–नेपाली डिक्सनरी’, गंगाधर शास्त्री द्रविडको ‘अ डिक्सनरी इङ्लिस एन्ड नेपाली’, एम. इ. डोप्पिङ्–हेप्पेन्स्टाल र सुबेदार कुशलसिंह बुढाथोकीको ‘खस गुर्खाली ग्रामर एन्ड भोकाबुलरी’, जी. डब्लु. पी. मनीको ‘गुर्खाली म्यानुअल’ एफ. डेवारको ‘नेप्लिज भोकाबुलरी’ र पहिचान हुन नसकेको व्यक्तिको ‘खसकुरा’ को सहयोग लिएको उल्लेख गर्नुभएको छ । यी तथ्यले नेपाली शब्दकोशको इतिहास पनि २०० वर्षभन्दा लामै रहेको देखाउँछन् ।
यतिबेला नेपाली भाषा प्रयोक्तामाझ चर्चित तथा प्रचलित शब्दकोशहरू हुन्, नेप्र्रप्रको ‘नेपाली बृहत् शब्दकोश’, बद्री विशाल भट्टराई सम्पादक र हेमाङ्ग राज अधिकारी प्रधान सम्पादक रहेको ‘प्रयोगात्मक नेपाली शब्दकोश’, वसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्दसागर’, चूडामणि गौतमको ‘बृहत्तर नेपाली शब्दकोश’ । २०४० सालमा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ को परिमार्जित दसौँ संस्करण २०७५ सालमा प्रकाशित भएको हो । गौतमको ‘बृहत्तर नेपाली शब्दकोश’ को प्रकाशन यसै वर्ष प्रकाशन भएको हो । ‘बृहत्तर नेपाली शब्दकोश’ मा ८७ हजार शब्द, १२ उखान, ७२४ टुक्का रहेको बताइएको छ । २०५७ सालमा प्रकाशित शम्र्माको ‘नेपाली शब्दसागर’ मा एक लाखभन्दा अधिक शब्द छन् । शब्दसागरका पछिल्ला संस्करणमा शब्दहरू थपिए । पछिल्लो क्रममा नेप्रप्रले एक लाख २८ हजारभन्दा बढी शब्द रहेको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशनमा ल्याएको छ ।
यसका अतिरिक्त अन्य थुप्रै शब्दकोशहरू प्रकाशित छन् । चूडामणि गौतमकै ‘गौतम व्यावहारिक नेपाली शब्दकोश’ तथा ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’, टीकादत्त बरालको ‘तत्सम नेपाली व्युत्पत्ति शब्दकोश’ तथा ‘तद्भव नेपाली व्युत्पत्ति शब्दकोश’, प्रज्ञा–प्रतिष्ठानको ‘नेपाली सङ्क्षिप्त शब्दकोश’, बालचन्द्र शर्माको ‘नेपाली शब्दकोश’, चक्रपाणि चालिसेको ‘नेपाली बगली कोश’ आदि प्रकाशित छन् । ‘नेपाली शब्दसागर’ र ‘प्रयोगात्मक नेपाली शब्दकोश’ का विविध संस्करण प्रकाशित छन् । यसका अतिरिक्त भाषागत शब्दकोशहरू, द्विभाषिक तथा बहुभाषिक शब्दकोशहरू र विषयगत तथा विधागत शब्दकोशहरू पनि प्रकाशित छन् । यस्ता शब्दकोशहरूले नेपाली लेखनमा प्रत्यक्ष–परोक्ष प्रभाव पारेकै हुन्छन् । नेपाली शब्दकोशहरूको भिडमा सबैले निर्धक्कसँग सन्दर्भ शब्दकोशको रूपमा प्रयोग गर्नसक्ने मानक शब्दकोशको खाँचो भने टरेको छैन ।
भाषासम्बन्धी आन्दोलनहरू
समय–समयमा नेपाली भाषासँग सम्बन्धित अभियानहरू भएका छन् । १९६५ सालमा राममणि आचार्य दीक्षितले ‘माधवी’ मासिक प्रकाशन तथा सम्पादन गर्नुभयो । उहाँले सोही पत्रिकामार्फत हलन्त बहिष्कारको धारणालाई सार्वजनिक गर्नुभयो । उहाँ गोर्खा भाषा प्रकाशिनी समितिका संस्थापक हुनुहुन्थ्यो र १७ वर्षसम्म सो संस्थाको अध्यक्ष पनि रहनुभयो । भाषामा हलन्तको अत्यधिक प्रयोगले छापाखानामा अप्ठ्यारो पारेपछि उहाँले हलन्त बहिष्कार अभियान चलाउनुभएको थियो । शर्वराज आचार्यले ‘नेपाली वर्णविन्यासको मानकीकरणको इतिहास’ मा लेख्नुभएको छ ः “मूलतः बनारसको छापाखानामा कम्पोजिटरले राममणिसँग पुस्तक र लेखमा हलन्त बाहुल्य नभएका शब्दहरूको कम्पोज सजिलो हुने गुनासो पोख्यो । यो गुनासो समाधान गर्न राममणिले हलन्त बहिष्कार गरी कम्पोज गर्न लगाए । हिन्दी, बङ्गाली, गुजराती आदि भारतीय भाषामा पनि हलन्त नलेखिने भएकाले राममणिले नेपालीमा पनि त्यसको अनुसरण आवश्यक ठाने ।” यसले नेपाली भाषाको लेखन, मुद्रण र प्रकाशनमा आन्दोलनको रूप लिएको र आचार्य दीक्षितले हलन्त बहिष्कारबाट नेपाली भाषाको मानकीकरणमा महìवपूर्ण योगदान दिएको आचार्यको भनाइ छ । डा. मतिप्रसाद ढकालले भने ‘वर्णविन्यास विवादका प्रमुख शृङ्खलाहरू’ मा नेपाली वर्णविन्यासमा विवादको बीजारोपण गर्ने काम राममणिको नेतृत्वमा १९६५ सालमा थालिएको हलन्त बहिष्कार आन्दोलनले गरेको उल्लेख गर्नुभएको छ ।
यस्तै भाषा व्याकरणमा रहेको त्रुटि विश्लेषण गर्ने उद्देश्यले २०१२ सालमा ‘व्याकरण संशोधन अभियान’ चलेको पाइन्छ । संस्थापक अध्यक्ष नयराज पन्तको संशोधन मण्डलका सदस्यहरू भोलानाथ पौडेल र धनबज्र बज्राचार्यले अभियान थालेका थिए । सुकुम शर्माले यो अभियानलाई नेपाली भाषामा प्रयोग भएका तत्सम शब्दहरूको त्रुटि विश्लेषणमा केन्द्रित रहेको उल्लेख गर्नुभएको छ ।
यसैगरी २०१३ सालमा झर्रोवादी आन्दोलन सुरु भयो । झर्रोवादी आन्दोलन भाषिक शुद्धता वा मौलिकताको पक्षमा आधारित भई थालिएको बताइएको छ । ‘नेपाली साहित्यकोश’ मा उल्लेख छ– “छिमेकी देश भारतमा शिक्षा लिने उद्देश्यले गएका नेपालीहरूले शिक्षार्जन गरी स्वदेश फर्केपछि नेपाली भाषालाई संस्कृतमा तत्सम शब्द र हिन्दी शब्दले ठिम्मर बनाउन लागेको एवं लब्ज ९बअअभलत० तथा वाक्यगठनमा समेत हिन्दी प्रभाव भित्र्याएको पृष्ठभूमिमा बनारसमा अध्ययनशील तत्कालीन विद्यार्थीहरूले नेपाली भाषाबाट यो विभाषी प्रभाव हटाउने दृष्टिले झर्रोवादी आन्दोलन थालेका हुन् ।” झर्रोवादी आन्दोलनका अगुवा बालकृष्ण पोखरेलले झर्रोवादको जन्मकथा पर्गेल्दै २०२० सालमा ‘बिहान’ मा “नेपाली भाषाका शब्दहरू गाउंले शब्द हुन् र तिनको साटो संस्कृत र हिन्दीबाट सापट लिए मात्रै उच्च भावको अभिव्यञ्जना हुन सक्छ भन्नेहरूलाई मुखभरिको जबाफ दिनलाई झर्रोवादले पनि बाध्य भएर एउटा उग्र बाटो पक्रिनु परेको” लेख्नुभएको ‘नेपाली भाषा र साहित्य’ मा उल्लेख छ । उहाँले झर्रोवादीहरूले आफ्नो उग्रवादी बाटो त्याग्नै पर्ने र ‘उग्र’ विशेषज्ञलाई आफलेर बाँकी झर्रोवादलाई अरूले पनि अँगाल्नै पर्ने धारणा पनि व्यक्त गर्नुभएको छ । आन्दोलनको प्रत्यक्ष प्रभाव ‘नेपाली बृहत् शब्दकोश’ को प्रथम संस्करण निर्माणमा परेको बताइन्छ । आन्दोलनका नेता बालकृष्ण पोखरेल शब्दकोश सम्पादक–मण्डलको निर्देशक हुनुहुन्थ्यो ।
यस्तै सजिलो लेखन (२०१६), जनजिब्रो लेखन (२०२१), लिपिसुधार (२०२१), ‘जिम्दो नेपालि भासा’ (२०३०), ह्रस्वलेखन (२०३५), सरल नेपाली, शुद्ध नेपाली लेखन (२०४५), नयाँ वर्णविन्यासलेखन (२०५०), नेपाली भाषा बचाउँ (२०६२), नेपाली भाषा प्रयोगकर्ता समूह (२०६९), ‘नेपाली भाषा बचाऔँ (२०७२)’, मानक नेपाली भाषा (२०७३) आदि अभियान÷आन्दोलनहरू चलेको पाइन्छ । यसको असर नेपाली लेखनमा परेको छ ।
नेपाली भाषा–अधिगोष्ठी २०३३, त्रिवि र पाविकेको संयोजनमा भएका शिक्षकहरूको गोष्ठी र अधिवेशनहरू, नेपाली–वर्णविन्यास–विषयक अधिगोष्ठी २०५७, चन्द्रगढी घोषणपत्र २०६६, नेपाली भाषा सङ्गोष्ठी–२०६७, ललितपुर घोषणापत्र २०६८, वर्णविन्यास प्रयोगसम्बन्धी २०६९ साउन २३ गतेको मन्त्रीस्तरीय निर्णय, परम्परागत नेपाली वर्णविन्यास परिवर्तनको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा, २०७२ फागुनमा भएको ‘अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी’, २०७३ कात्तिकमा नेप्रप्रद्वारा प्रयोगमा ल्याइएको वर्णविन्यास सच्याउने निर्णय गरिएको जानकारीको सार्वजनिकीकरणको साथै सच्याइएका बुँदाहरू समावेश गरिएको शुद्धिपत्र जारी, २०७४ चैतमा शिक्षामन्त्री धनीराम पौडेलद्वारा २०६९ साउन २३ को मन्त्रीस्तरीय निर्णयमा सुधार, २०७४ जेठमा चूडामणि गौतमद्वारा लिखित तथा सम्पादित ‘वर्णविन्यासघातीहरू कानूनको कठघरामा’ कृतिको लोकार्पण आदि नेपाली भाषासँग सम्बन्धित उल्लेख्य घटनाहरू हुन् । यी आन्दोलन÷अभियानहरूको प्रभावबाट नेपाली भाषा अछुतो रहन सकेन, रहने कुरो पनि भएन ।
प्रयोक्ताहरूको अपेक्षा
प्रयोगहरू भएका छन् । प्रयासहरू भएका छन् । व्याकरणका नयाँ नयाँ नियमहरू सार्वजनिक भएका छन् । बजारमा नयाँ नयाँ शब्दकोशहरू छन् । भाषा र व्याकरणको बहस जारी छ । विवाद जारी छ । भाषा अभियानका केही अग्रजले त विगतमा ‘गल्ती’ गरिएछ भन्ने सहज अभिव्यक्तिसमेत दिएका छन् । पङ्क्तिकारलगायत नेपाली भाषाका बहुसङ्ख्यक प्रयोक्ताहरू भने कुहिराको काग थिए र अझै कुहिराको काग नै छन् । नेपाली भाषाको मानकीकरणमा ध्यान दिने हो भने प्रयोक्ताहरूले सामना गर्न परिरहेका समस्याहरू पर्गेल्दै समाधानका सहज र सरल उपायहरू पहिल्याउनुपर्ने र अपनाउनुपर्ने हुन्छ ।
पङ्क्तिकारले सुरुमा नै स्वीकारिसकेको छ, ऊ नेपाली भाषा–व्याकरणको प्राज्ञिक व्यक्ति होइन, एक करोडभन्दा बढीको सङ्ख्यामा रहेका प्रयोक्ताहरूमध्ये एक हो । यसैले व्याकरणको यो पुस्तक सही हो, यो सही होइन भन्नु उसको धृष्टता मात्र हुन्छ । हो, प्रयोक्ताको हिसाबले ऊ व्याकरणको त्यस्तो पुस्तक चाहन्छ, जुन पढ्न सजिलो होस्, बुझ्न सजिलो होस् । र, सबभन्दा महìवपूर्ण पाटो, व्याकरणका नियमहरू पालना गर्न सहयोग मिल्ने होस् । नियमहरू तर्कसम्मत् हुन्, आफैँमा बाझिने खालका नहुन् । एकै विद्वान् लेखकद्वारा एउटा पुस्तकमा एक थरी नियम र अर्को पुस्तकमा अर्को थरी नियम थोपर्ने काम नहोस् । एउटै संस्थाद्वारा प्रकाशित किताबहरूमा एकै नियमको पालना होस् ।
आमप्रयोक्ताहरूका लागि शुद्ध हिज्जेसहितको नेपाली लेखनको महìवपूर्ण औजार, निर्देशक सामग्री शब्दकोश नै हुन्छ । ‘नेपाली बृहत् शब्दकोश’ को दशौँ संस्करणको ‘संशोधन समितिको भनाइ’ मा नेप्रपबाट प्रकाशित हुँदै आएको ‘नेपाली बृहत् शब्दकोश’ आधिकारिक शब्दकोश भएको उल्लेख छ । विवादित विषय रहँदै आएको संयुक्त वर्णको प्रयोग, पदयोग र पदवियोग, ह्रस्वदीर्घको प्रयोग र श, ष तथा स को प्रयोग जस्ता विषयमा दशौँ संस्करणले सम्बोधन गर्ने प्रयास गरेको थियो । २०७९ असोजमा सार्वजनिक भएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ ले “नेपाली भाषाको समुन्नयन र यसको मानक रूपको पहिचानका निम्ति महìवपूर्ण भूमिका खेल्ने” अपेक्षा गरेको छ र प्रयोक्ताहरूको अपेक्षाअनुरूप केही नवीनतम विशेषतासहित निर्माण गरिएको अद्यावधिक कोश रहेको बताइएको छ । अर्कोतिर २०७९ भदौमा प्रकाशनमा आएको ‘बृहत्तर नेपाली शब्दकोश’ को प्राक्कथनमा “नेपाली भाषा शुद्ध र सही वर्णविन्यासमा लेखियोस्, शुद्ध शब्दहरू नेपाली भाषाबाट नमासिऊन्, शिष्ट परम्परा र प्रचलनबाट स्थापित शब्दहरूको बेमाख नहोस्, नेपाली भाषा अराजकता र स्तरहीनताको भासमा नभासियोस् अनि नेपाली भाषाको शुद्धता, स्तरीयता, सौन्दर्य, गरिमा र अग्रगति कायम रहोस् भन्ने उद्देश्यले ‘मानक शब्दकोश’ को रूपमा नेपाली भाषाको यो बृहत्तर शब्द–संग्रह निर्माण गरिएको” उल्लेख छ । अर्कोतिर ‘प्रयोगात्मक नेपाली शब्दकोश’ का सम्पादकद्वयले “कोशमा शब्दहरूको उच्चारणका साथै तिनको वर्णविन्यास, व्युत्पादन, व्याकरण, अर्थ र प्रयोगका सूचनाहरूलाई व्यवस्थित र युक्तियुक्त ढङ्गले प्रस्तुत गरिएकाले अहिलेसम्म प्रकाशित कोशहरूभन्दा यसले अलग महìव पाउने” अपेक्षा राखेको पाइन्छ । अन्य शब्दकोश लेखक÷सम्पादकहरूका पनि आआफ्नै दाबी छन् । प्रश्न छ, यी शब्दकोशहरूमध्ये कुनलाई प्रयोक्ताहरूले मानक मान्ने र निर्धक्कसँग त्यसको प्रयोग गर्ने ? नेप्रप्र, त्रिवि, नेपाल संस्कृत विद्यालय, काठमाडौँ विश्वविद्यालय, भाषा आयोगलगायत सरोकारवाला निकायहरूले संवादबाट निष्कर्ष निकाल्नुपर्छ ।
एउटा मानक शब्दकोशले भाषाको विकास, उत्थान, स्तरीकरण र मानकीकरणमा महìवपूर्ण भूमिका निर्वाह गर्दछ । शब्दकोशहरूका प्रयोक्ता सम्पन्न व्यक्ति÷परिवारहरू मात्र हुँदैनन्, तुलनात्मक रूपमा विपन्न व्यक्ति÷परिवारका पनि हुन्छन् । शब्दकोशहरू भने महँगिँदै छन् । महँगा शब्दकोशहरू, त्यो पनि पटक पटक किन्ने हैसियत आमप्रयोक्ताहरूमध्ये कतिले राख्छन् ? यसै वर्ष निस्केका शब्दकोशहरूमध्ये गौतमको ‘बृहत्तर नेपाली शब्दकोश’ को मूल्य रु. २,८९५।– छ भने नेप्रप्रको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ को रु. ३,३०५।– छ । रु. २०००।– भन्दा माथिको मूल्य अङ्कित शब्दकोशहरू नेपाली पुस्तक बजारमा धेरै नै देखिनथालेका छन् । राज्यको दायित्व हो, मानक शब्दकोशहरूको प्रकाशनका लागि अनुदान दिनु; सस्तोमा र सहज रूपमा त्यस्ता शब्दकोशहरू उपलब्ध गर्ने÷गराउने व्यवस्था गर्नु । नेप्रप्र र साझा प्रकाशन जस्ता संस्थाहरूले त्यसमा गम्भीर चासो राख्नै पर्छ । प्लेटफर्मअनरूप प्रयोग हुनेसक्ने गरी शब्दकोशको ‘डिजिटल भर्सन’ निकाल्नु उपयुक्त विकल्पहरूमध्ये एक हुन सक्छ । न्यून मूल्यमा त्यस्ता ‘डिजिटल भर्सन’ निकाल्न सकिन्छ भने ‘पाइरेसी’ हुन नदिन आवश्यक व्यवस्था पनि गर्न सकिन्छ । अन्य भाषाका शब्दकोशहरूका सन्दर्भ पनि यस्तो व्यवस्था आवश्यक र उपयोगी हुन्छ ।
प्रयोक्ताहरू अलमलिने स्थिति आउन नदिन वैकल्पिक हिज्जे भएका शब्दहरूमा पनि विचार गर्नैपर्छ । प्रतिनिर्देश गरिएका शब्दहरूमध्ये कुन शब्द र किन प्रयोग गर्ने स्पष्ट पारिनुपर्छ । शब्दको उच्चारणसम्बन्धी जानकारी दिने व्यवस्था हुन सकेमा सञ्चारकर्मीहरू, खासगरी प्रसारण माध्यममा कार्यरत सञ्चारकर्मीहरूका लागि मात्र होइन, शुद्ध नेपाली बोल्न चाहने प्रयोक्ताहरूका लागि पनि सहायक सिद्ध हुन्छ । शब्दकोशलाई प्रयोगात्मक बनाउनेतर्फ पनि ध्यान जानैपर्छ ।
कुनै बेला टाइपराइटरको जमाना थियो । लेखकहरूले जानेर पनि, चाहेर पनि शुद्ध टाइप गर्न, गराउन सक्दैनथे । अहिले कम्प्युटरको समयमा पनि बेला बेलामा ‘फन्ट’ नै नभएको जस्ता कुतर्कहरू गरिन्छन् । फन्टहरूलाई बनाउन, परिमार्जन गर्न सकिन्छ । यो खर्चिलो काम पनि होइन । प्रविधिबाट भाषा निर्देशित हुने होइन, भाषाअनुसारको प्रविधिको विकास हुनुपर्छ; गर्नुपर्छ; गराउनुपर्छ । मानक फन्ट विकासमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, विश्वविद्यालयहरूलगायत निकायहरूले अगुवाइ गर्न सक्छन्, गर्नुपर्छ ।
सबभन्दा महत्वपूर्ण त नेपाली भाषाका दिग्गजहरूबिच समझदारी र सहमति आवश्यक छ । त्रिभुवन विश्वविद्यालय यति कमजोर छ, नेपाली विषयमा विद्यावारिधि गरेको व्यक्तिसँग ‘तपाईं नेपाली शुद्ध त लेख्नु हुन्छ नि ?’ भनेर सोधिन्छ । ‘थेसिस’ लेख्दै गरेको स्नातकोत्तरको विद्यार्थीलाई ‘नेपाली भाषा जान्ने व्यक्तिलाई थेसिस देखाऊ’ भनिन्छ । नेपाली विषय लिएर स्नातकोत्तर, दर्शनाचार्य वा विद्यावारिधि गरेको व्यक्तिले नेपाली शुद्ध लेख्न सक्दैन भने अरू कसले सक्ने ? त्रिवि यो मानसिकताबाट मुक्त हुनैपर्छ र नेपाली विषयका आफ्ना उत्पादनलाई त्यसका लागि सक्षम बनाउनैपर्छ । शिक्षक मनरूपी गुरुहरूलाई दिग्भ्रमको खेती गर्नबाट रोक्नैपर्छ, निगरानी गर्नैपर्छ ।
सारमा भन्दा, नेपाली भाषा प्रयोक्ताहरूले मानक व्याकरण र मानक शब्दकोशको प्रयोग गर्ने वातावरण पाउनुपर्छ ।