• १६ चैत २०८०, शुक्रबार

ताप्लेजुङमा बुढाक्षेत्री अघिअघि, योगेश पछिपछि

blog

ताप्लेजुङ, मङ्सिर ७ गते । ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले सुरुदेखि नै आफ्नो अग्रतालाई कायम राख्नुभएको छ । नेकपा एमालेका योगेशकुमार भट्टराईलाई पछि पार्दै बुढाक्षेत्रीले अग्रता कायम राख्नुभएको हो । 

बुधबार बिहान ६ः५५ सम्ममा एमाले सचिवसमेत रहनुभएका भट्टराईलाई एक हजार १० मतान्तरले पछि पार्दै बुढाक्षेत्रीको अग्रता रहेको छ । अहिलेसम्म २७ हजार ६८८ मत गणना भइसक्दा बुढाक्षेत्रीले १३ हजार ५३ मत प्राप्त गर्नुभएको छ । यस्तै भट्टराईले १२ हजार ४३ मत पाउनुभएको छ । 

मङ्गलबार अपराह्न ४ः२० बजेदेखि सुरु भएको मतगणना कार्य जारी रहेको छ । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये ३५ वटा वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।