रमेश पौडेल
पोखरा, मङ्सिर ०५ गते । कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज दिउँसो २ बजेबाट मतगणना सुरु भएको हो ।
जिल्ला समन्वय समितिको कार्यालय सहिद चोकमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । पोखरा महानगरपालिका वडा नं १ बगरका मतपेटिकाहरू गणना गर्न थालिएको हो ।
निर्वाचन क्षेत्रमा एक लाख एक हजार ७१५ मतदाता रहेकोमा ६१ हजार ४ सय १४ मत खसेका थिए । यस निर्वाचन क्षेत्रमा पोखरा महानगरका १, २, ३, ५, ६, १८, १९,२२, २३, २४, २५, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका छन् ।
कास्की जिल्लामा ६० प्रतिशत हाराहारीमा मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कास्की जिल्लामा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार ५२२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता थिए ।
यसैगरी कास्की निर्वाचन क्षेत्र नं १ को पनि मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज दिउँसो २ः४५ बजेबाट मतगणना सुरु भएको हो । पशुसेवा कार्यालय माटेपानीमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट किशोरदत्त बराल, नेकपा (एमाले) का तर्फबाट मनबहादुर गुरुङ, हाम्रो नेपाली पार्टीका तर्फबाट प्रमोद आचार्यलगायतको उम्मेदवारी छ ।
प्रदेशसभा (१) मा गठबन्धनका दीपक कोइराला, नेकपा (एमाले)का खगराज अधिकारी, हाम्रो नेपाली पार्टीका मदन केसीलगायतको उम्मेदवारी छ भने (२) मा गठबन्धनका दीपक गुरुङ (माइला), एमालेका वेदबहादुर गुरुङलगायतको उम्मेदवारी छ ।
क्षेत्र नं २ मा घण्टी अगाडि
त्यस्तै, कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभातर्फको पछिल्लो मतगणना अनुसार कुल २ हजार २८९ मत गणना हुँदा रास्वपा (घण्टी) ८७५ मत प्राप्त गरेको छ भने एमालेको विद्या भट्टराई सूर्यले ६९२ मत ल्याउँदै दोस्रो र नेकपा एसका श्रीनाथ बराल (कलम)ले ४ सय ६९ मत ल्याउँदै तेस्रो स्थानमा हुनुहुन्छ भने राप्रपाका सुवर्णराज पन्त (हलो) ४ सय ५१ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।