• १५ वैशाख २०८१, शनिबार

हिउँदे बालीलाई अभाव नहुने

छिट्टै आउँदै रासायनिक मल

blog

काठमाडौँ, मङ्सिर ५ गते । मङ्सिर दोस्रो सातादेखि भारतसँग भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ। सरकारदेखि सरकार (जीटुजी) सम्झौताअनुसार ल्याउन लागिएको उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ पठाइसकेकाले दोस्रो साता आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

भारतले जीटुजीमार्फत नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो।

जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिक टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो। मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जीटुजी सम्झौताअनुसार आगामी दोस्रो हप्ता मल आइपुग्ने जानकारी दिनुभयो। समयमै मल आउने भएकाले हिउँदे बालीका लागि मल पर्याप्त हुने उहाँको भनाइ छ। “हिउँदे बालीका लागि एक लाख मेट्रिक टन मल आवश्यक पर्छ,” उहाँले भन्नुभयो, “हिउँदे बालीलाई अभाव नभए पनि विनियोजन गरेको बजेटले धानबालीका लागि मल खरिद गर्न भने अपुग हुन्छ ।” 

मल खरिद गर्न मन्त्रालयले चालू आवको बजेटमा १५ अर्ब रुपियाँ बजेट विनियोजन गरेको थियो। थप १६ अर्ब बजेटको स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरेको प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो। मल खरिदका लागि ३१ अर्ब रुपियाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने मन्त्रालयले जनाएको छ। गत वर्षको तुलनामा रासायनिक मल खरिदका लागि बजेट दुई गुणाले बढे पनि धान बालीलाई आवश्यक पर्ने मल खरिद अझै अपुग हुने जानकारी उहाँले दिनुभयो। 

अहिले कृषि सामग्री कम्पनी लिमिटेडसँग ५७ हजार ४१० मेट्रिक टन र साल्ट टे«डिङ कर्पाेरेसनसँग १९ हजार ७१५ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ। दुई कम्पनीसँग हाल २१ हजार ३६७ मेट्रिक टन युरिया, ३२ हजार २६ मेट्रिक टन डीएपी, चार हजार १६ मेट्रिक टन पोटास मौज्दात छ। कृषि सामग्री कम्पनी लिमिटेडको २० हजार मेट्रिक टन र साल्ट्र टे«डिङको १० हजार मेट्रिक टन मल आउने क्रममा रहेकाले पनि हिउँदे बालीलाई अभाव नहुने मन्त्रालयले जनाएको छ। चालू आवमा कृषि सामग्री कम्पनीले एक लाख मेट्रिक टन ग्लोबल टेन्डर भएको मध्ये ७० हजार आयात भई बिक्रीवितरण भइरहेको र ३० हजार मेट्रिक टन आउने क्रममा छ। यस्तै चालू आवमा कर्पाेरेसनले ५७ हजार ५०० मेट्रिक टन ग्लोबल टेन्डर आह्वान भई ३० हजार मेट्रिक टन आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। किसानको मागअनुसार धान बालीलाई सहज रूपमा रासायनिक मल आपूर्ति गर्न करिब ४० अर्ब रुपियाँ बजेट आवश्यक पर्ने प्रवक्ता सञ्जेलको भनाइ छ। 

अमेरिकी डलरको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको हुँदा ३१ अर्ब रुपियाँ मल खरिदलाई बजेट सुनिश्चित हुँदा पनि अभाव हुने देखिएकाले धान बालीका लागि मलको सहज आपूर्ति गर्न अर्थ मन्त्रालयसँग थप १० अर्ब रुपियाँ बजेट माग गर्ने मन्त्रालयले जनाएको छ।  

मुलुकमा वार्षिक पाँच लाख २० हजार मेट्रिक टन मलको माग भए पनि मागअनुसार आयात नहुँदा बर्सेनि अभाव हुने गरेको छ। समयमा मल आयात नहुँदा धान रोप्ने बेला प्रत्येक वर्ष किसानले अभाव खेप्नु परेको छ। धानबालीका लागि मात्र एक लाख ८० हजार मेट्रिक टन मल आवश्यक पर्ने मन्त्रालयको तथ्याङ्क छ। धान, मकै, गहुँ, उखु, तरकारीलगायतका बालीमा रासायनिक मलको प्रयोग हुने गर्छ।