नेपाल विश्वको सानो मुलुक तर धर्म र कर्मले भरिपूर्ण छ। पर्यटकीय गन्तव्यका दृष्टिले प्रथम र अति रहस्यै रहस्यले भरिपूर्ण पनि। सम्पदा÷प्रडक्टले भरिपूर्ण भएर होला, नेपाल पर्यटन बोर्ड ‘न्याचुरल्ली नेपाल, वान्स इज नट इनोफ’ भन्ने शब्दले ब्रान्ड गर्छ। व्यवस्थापकीय कमजोरीका कारण हामी र हाम्रो पर्यटकीय गन्तव्य/प्रडक्टस् ओझेलमा र पहिचान र अन्वेषण एवं अध्ययन अनुसन्धान हुन बाँकी छन्। अन्यथा नेपाल ६० मिटर समुद्रको सतहबाट आठ हजार ८४८ मिटर उचाइ रहेको भूबनोटको मुलुक भएकाले विश्वमा अन्य मुलुकमा नभेटिने उचाइको अनुभव र वातावरणमा मानव क्रियाकलाप गर्न सकिन्छ।
मानव, प्राकृतिक, सांस्कृतिक, धार्मिक, भाषिक एवं जैविक विविधता अर्थात् १२६ जातजाति, तीन तहको भूसतह (एलेभेसन), एक दर्जनभन्दा बढी धर्मावलम्बीबीचको धार्मिक सहिष्णुता छ। १२४ थरीका भाषाभाषी, जातजातिले अङ्गीकार र मनाउने चाडपर्व, संस्कार, रीतिथितिले नेपाललाई बहुविविधताको मुलुक घोषणा गरे हुन्छ। लाइभ साइन्सका लागि राउटे र शेर्पा, दुर्लभ प्राणी र वनस्पतिलगायत जलचर, नभचर, प्राणीको बासस्थानमा नभेटिने कमै वस्तु अन्त होलान् ? त्यसैले हरेक गतिविधिको सम्भावना रहेको मुलुकमा अल्टिच्युट थेरापी (उचाइ उपचार विधि)बारे छोटो चर्चा गरौँ।
जुनसुकै मुलुकको भूबनोट २५ सय मिटरबाट माथि उचाइ छ भने हरेक व्यक्तिले आफूलाई स्वस्थ राख्नका लागि २५ सयभन्दा माथिका उचाइका डाँडाकाँडा र मानव बस्ती भ्रमण गर्नु उपयुक्त हुन्छ। तेन्जिङ शेर्पा र एडमन हिलारी (२९ मार्च १९५३) प्रथम सगरमाथा आरोहीदेखि पासाङ दावा शेर्पा (२२ मे २०२२) २५ पटक सगरमाथा आरोहण गर्ने व्यक्ति र विश्व रेर्कड कायम गर्ने बहुहिमाल आरोही निर्मल पुर्जाहरूलाई आमविश्वले चिन्दछन् तर कमै नेपालीले चिन्लान्। अब सबै मानव जगत्ले उहाँहरूलाई चिन्नुपर्ने समय आएको छ।
किनभने यी व्यक्तिको जिन/रगतको सम्मिश्रणले मानवको शरीरमा देखा पर्ने विभिन्न रोग र कमीकमजोरीको निदान गर्न सकिँदो रहेछ भन्ने पछिल्लो अन्वेषणले देखाउँछ। त्यसैले भविष्यमा यसतर्फ अध्ययन, अनुसन्धान, अन्वेषण र प्रयोगशालामार्फत प्रमाणित गर्न बाँकी छ र एक दिन आनुवंशिक शास्त्री डा. नन्दबहादुर सिंह र मुटुरोगविज्ञ डा. सुमन बन्जाडे आ–आफ्नो क्षेत्र (विषय)को एउटा प्रयोगशाला राख्ने सल्लाह दिनुहुन्छ। डा. सिंह जिनपुञ्ज शास्त्री (आणुवंशिक) जो मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति हुनुहुन्छ, जसले यससम्बन्धी विभाग १८ कोठे भवनबाट पठनपाठन सुरु गर्न थाल्नुभएको छ। हुम्लाको लिमी उपत्यका (नाम्खा गापा–४) र डोल्पा जिल्लालाई प्रयोगशालाका रूपमा गन्तव्य अघि बढाउने योजनामा हुनुहुन्छ।
मुटुविज्ञ डा. बन्जाडे भन्नुहुन्छ, “मुटुका रोगी, छालाका रोगी र रगतमा अक्सिजन कम भएर पीडित रोगी, छातीको समस्यालगायतलाई अल्टिच्युट थेरापी गराउँदा धेरै समस्या स्वतः समाधान हुन्छ।” उहाँ भन्नुहुन्छ, “यो विधिबाट प्रथम चरण हाइपर टेन्सन, ब्रोनकायल अवस्थामा (दम रोग), स्किन डिजिज (छालाको रोग), आ प्लास्टिक यभ (रगतसम्बन्धी रोग)लाई उचाइ उपचार विधिले धेरै काम गर्ने भएकाले शरीरमा सुप्रारेनल ग्लान्ड बढाएर ग्लुकोकोक्लोइड बढाउँछ र छाला र दमका रोगीलाई फाइदा पुग्छ।”
उच्च भूभाग (२५ सय मिटरभन्दा माथि हिँडडुल गर्ने बानीले इराइथ्रो पोटिन शरीरमा बढ्ने र किड्नीले ओभर काम गर्न सक्ने क्षमता बढाउँछ, त्यसैले काठमाडौँ उपत्यकाका बासिन्दालाई कालिन्चोक, गोसाइँकुण्ड, पाँचपोखरीजस्ता धार्मिक एवं पर्यटकीय गन्तव्य मात्र होइन कि शारीरिक कमजोरीका व्यक्तिलाई यस्ता ठाउँ भ्रमण गरी फाइदा लिने सल्लाह साथै लन्डनबाट प्रकाशन हुने मेडिकल जर्नल लान्सट बताउनुहुन्छ्र। भीसी नन्दबहादुर सिंह कर्णाली प्रदेशलाई अल्टिच्युट थेरापी मात्रै होइन, जिनपुञ्ज (आणुवंशिक) अध्ययन, अनुसन्धान, अन्वेषणको माध्यमबाट समृद्ध, सुखी कर्णालीबासी बनाउने परिकल्पनाका साथ रारा, से फोक्सुण्डो, लिमी उपत्यकालगायतबाट थालनी गर्न मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीमार्फत अघि बढाउन चाहनुहुन्छ।
यसै क्रममा विगतको सोभियत सङ्घभित्रको एउटा प्रदेश हालको किर्किस्तान राज्यमा विगत लामो समयदेखि हाई अल्टिच्युटको एक्सकरसन (ओहोरदोहोर)मार्फत युरोपियन पर्यटक भिœयाएर लाखौँ युरो कमाइरहेको छ। हाल जर्मनीमा कृत्रिम हाई अल्टिच्युट (कम अक्सिजन) हल निर्माण गरेर यो उपचार विधि अपनाइएको छ। त्यसैले नेपालका मनोरञ्जन र साहसी यात्रा हुने तीन हजारभन्दा माथिका तीर्थस्थल पाथीभरा, कालिञ्चोक, पाँचपोखरी, गोसाइँकुण्ड, उपल्लो मुस्ताङ, मनाङ, मुक्तिनाथ, दामोदर कुण्ड, से–फोक्सुण्डो, रारा, हुम्लाको लिमी उपत्यकालगायतलाई अत्यन्त उपयुक्त र सहज गन्तव्यका रूपमा सिफारिस गरिन्छ। किनभने यी गन्तव्यमा मोटर बाटोको सुविधा, कुनै ठाउँमा हवाई सेवा र सहज पैदल यात्रा र घोडचढीबाट सजिलै भ्रमण गर्न सकिन्छ।
नेपालमा स्वास्थ्य, धर्म, कर्म र मनोरञ्जनका दृष्टिकोणले उच्च गन्तव्य भ्रमण गर्नु, खानपान गर्नु उपयुक्त मानिन्छ। उच्च स्थान÷बस्तीका जातजातिको अनुहार स्याउजस्तो रातो रङको हुनुको रहस्योद्घाटन यसबाट पत्ता लगाइन्छ। कम अक्सिजन हुने उच्च हिमाली बस्तीका मानिसको शरीरमा छालामा रातोपन प्रायः विश्वभरि भेटिन्छ। नेपालमा सुरक्षा निकायका लागि रक क्लाइम्बिङ, हाई अल्टिच्युट ट्रेकिङ हिमाल क्षेत्रको तालिम सञ्चालन गर्न सकिन्छ। खेलकुदतर्फ अपर मुस्ताङजस्तो उचाइमा विविध विधाका स्पोर्ट्स खेलकुदको तालिम सञ्चालन मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरको सभा, गोष्ठी÷सेमिनार सञ्चालन गरेर आफ्ना संस्कृति, प्राकृतिक, ऐतिहासिक सम्पदा, पुराताìिवक वस्तुको प्रचार प्रसार, संवद्र्धन र पर्यटन क्षेत्रलाई एउटा नौलो अनुभूति दिन सकिन्छ। भविष्यमा विश्वविद्यालयले लाइभ साइन्स, आनुवंशिक विषय क्षेत्रमा सिङ्गो/सोलो शिक्षा प्रदान गर्न पहल गर्नुपर्छ। नेपालका अधिकांश हिमाली जिल्ला यो विधा र क्षेत्रका लागि अति उत्तम मानिन्छन्। सबैभन्दा राम्रो एवं उपयुक्त गन्तव्य उपल्लो मुस्ताङ र मनाङ जिल्ला हुन सक्छन्।
नेपालका प्राकृतिक एवं मानव स्रोत साधनलाई उपयुक्त अर्थात् अधिकतम तरिकाले प्रयोग गर्नुपर्र्छ। उच्च भूभागमा उत्पादन हुने कृषि उपज, पशुपन्छीका उत्पादन, मानवसँग खासगरी विभिन्न जातजातिसँग रहेका वस्तु एवं निर्मित/सिर्जित सम्पदालाई अन्वेषण, अनुसन्धान र प्रयोगशालाका रूपमा पहिचान, प्रयोग र प्रचार प्रसारका माध्यमबाट आन्तरिक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्ने योजना अघि सार्नुपर्छ। यस्ता योजना, परियोजना, कार्यक्रम र रणनीति सरोकारवाला निकायबाट अगाडि ल्याई स्वदेशमै युवा जनशक्ति उत्पादन तथा परिचालन गरी रोजगार सिर्जना गर्न सक्ने प्रशस्त सम्भावना छन्। कृषि, जलस्रोत र पर्यटन नेपालका बाहिरी रूपमा देखिने स्रोतसाधन र राष्ट्रिय आम्दानीका भरपर्दा माध्यम हुन्।
नेपालको भू–बनोट र यहाँका जैविक, मानव विविधता र लुकेका धेरै स्रोत साधन एवं मानव स्रोतलाई परिचालन गर्ने वैज्ञानिक एवं भूमण्डलीय बजारको मागलाई सम्बोधन गर्ने शिक्षा आजको आवश्यकता हो। हालसम्मको शिक्षा प्रणाली र जनशक्ति उत्पादन साधारण साक्षर र कोरा सैद्धान्तिक ठहर भएको छ। शिक्षण संस्थाबाट उत्पादित जनशक्ति गुणात्मक नभएर
सङ्ख्यात्मक भएको छ। अबको शिक्षा बजारमुखी, व्यावसायिक तथा प्राविधिक सीपयुक्त हुनुप¥यो। त्यसैले शिक्षा क्षेत्रको पाठ्यक्रममा आमूल परिवर्तन गरी समयसापेक्ष, स्थानीय स्रोतसाधन प्रयोगमुखी र आमरोजगारमुखी हुनुपर्छ। शिक्षा क्षेत्रमा व्याप्त राजनीतिक हस्तक्षेप अर्थात् शून्य र बहुआयामिक, व्यावहारिक र बजार एवं समयको मागअनुसारका समस्या समाधान हुने माग सम्बोधन हुने पाठ्यक्रम र उत्पादित जनशक्ति स्थानीय देशभित्र खपत भई छिमेकी मुलुकमा रोजगार दिने खालको हुनुपर्छ।
नेपालको भविष्य अति सुन्दर र सम्भाव्यतामुखी छ। उत्तर तथा दक्षिणतर्फ रहेका २१औँ शताब्दीका उदाउँदा मित्र राष्ट्रमा हाम्रो बजार सुनिश्चित छ। मात्रै हामीले ती छिमेकी मुलुकको माग र बजारमा हाम्रो उत्पादन÷निर्यात उच्च गुणस्तरको हुनुप¥यो। हिजो १९औँ शताब्दीसम्म र २०औँ शताब्दीको दुई/तीन दशकसम्म हाम्रो उत्पादन र प्रगतिले बजार पाइरहेको, गोर्खाली र शेर्पाली नामले विश्वमा चिनिएको, हरियो वन र तराई अन्नको भण्डारले चिनिएको मुलुकको निर्यात आज २१औँ शताब्दीमा ठीक उल्टो स्थितिमा गुज्रन थालेको छ।
अब हाम्रो विकासको मोडालिटी परिवर्तन हुनु आवश्यक छ। परम्परागत सीप, शैली, उत्पादनका साधनमाथि गम्भीर रूपमा पुनरवलोकन गरी रूपान्तरण र आमूल परिवर्तनको दिशा उन्मुख हुनुपर्छ। काठको अँगारे कालोपाटीबाट कति चरणमा हाम्रो हातमा आज आइफोनमार्फत चल्नुपर्ने बाध्यता छ, त्यसैगरी हाम्रो स्रोत र सोचमा नयाँ खाका र गति आउनुप¥यो। नेपाल र नेपालीलाई स्रोत र साधनको अभाव छैन, सिर्फ ज्ञान, शिक्षा, प्रविधि र अनुभवले खारिएको अन्वेषणात्मक शिक्षा, व्यावसायिक क्षमता र उपलब्ध स्रोतसाधन एवं उत्पादनलाई बजारीकरण गर्ने व्यावहारिक एवं वैज्ञानिक व्यवस्थापन कलाको खाँचो छ।
अथाह रूपमा छरिएका, देशका कुनाकाप्चामा अलपत्र भेटिने प्राकृतिक, जैविक तथा मानवसँग रहेका क्षमता र भौतिक एवं सीपलाई पहिचान, अन्वेषण, अध्ययन, अनुसन्धान र उत्पादनलाई सहज र वैज्ञानिक रूपमा व्यवस्थापन गर्ने शिक्षा, राष्ट्रको आवश्यकता र रूपान्तरण गर्ने क्षमता, जनआकाङ्क्षा र आवश्यकतालाई सम्बोधन गर्ने शासन प्रणाली र नेतृत्वको अपेक्षा छ। नेपाल र नेपालीसँग रहेका स्रोतसाधनको बुद्धिमत्ता प्रयोगले नेपाल र नेपालीको रूपान्तरण हुन्छ। त्यति मात्रै होइन, समृद्ध नेपाल र सुखी नेपाली पनि देख्न पाइन्छ अन्यथा दुई असल र प्रगतिगामी उदाउँदा मुलुक भारत र चीनबीच बत्ती निभेको भान्सा हुनेछ।