• १६ असार २०८१, आइतबार

चुनावका दिन मौसम सफा रहने

blog

काठमाडौँ, मङ्सिर ३ गते । आमनिर्वाचनको दिन देशव्यापी रूपमा मौसम सफा रहने भएको छ। केही दिनयता सुदूरपश्चिमलगायतका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली र हिमपात भइरहे पनि मङ्सिर ४ गते देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

पश्चिमी वायुको प्रभाव कायमै रहेका बेला आमनिर्वाचनका दिन केही भूभागबाहेक अधिकांश स्थानको मौसम सफा रहने विभागले जनाएको छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेअनुसार मङ्सिर २ र ३ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। सो समयमा ती प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ। 

आमनिर्वाचनका लागि मतदानको तयारी तीव्र चलिरहेका बेला मौसम कस्तो रहने भन्ने चिन्ता जनाइरहेको निर्वाचन आयोगले पनि सोहीअनुसार तयारी गर्नुपर्ने हुन्छ। हिउँद लाग्दै गर्दा हिउँदे वर्षाको सम्भावना बढ्ने भएकाले पनि मौसमअनुसारको तयारी गर्नुपर्नेमा आयोग चनाखो रहेको जनाएको छ।