• १८ असार २०८१, मङ्गलबार

संसद् राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र हो : सभामुख घिमिरे

blog

पूर्वसांसद मञ्च नेपालको आयोजनमा आइतबार भएको ६६ औ संसद दिवस कार्यक्रममा सहभागी सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व सभामुखलगायत । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार १६ गते । सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताउनुभएको छ।आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले संसद्लाई विधायन निर्माण गर्ने ठाउँको रूपमा मात्रै बुझ्न नहुने बताउनुभयो । संसद्को कूटनीतिले मात्रै जनताका भावना एक ठाउँमा ल्याउन सकिने उहाँको भनाइ छ । 

सभामुख घिमिरेले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसद्ले लिने अठोट र भूमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताउनुभयो । 

उहाँले संसद्ले जनताको हृदयमा संसदीय कूटनीतिलाई स्थापित गर्नेगरी व्यवहारतः काम गर्नसक्छ कि सक्दैन भन्नेकुरा नै अहिलेको मननयोग्य रहेको बताउनुभयो । उहाँले अहिले संसद्ले २०१५ सालको निर्वाचनको परिणामदेखि संसद्ले खेलेका भूमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने काम गरिसकेको बताउनुभयो । उहाँले २००७ सालदेखि बनेका कानुन अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने र सुरक्षित गर्ने काममा संसद् लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘संसद् एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानुन बनाउने थलो मात्रै होइन राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ ।’’ 

सभामुख घिमिरेले अहिले संसद्लाई प्रभावकारी बनाउने, नेपालको कूटनीतिलाई ठिक ढङ्गबाट निक्र्यौल गर्ने, विश्वव्यापी रूपमा कूटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताउनुभयो ।