• १८ असार २०८१, मङ्गलबार

संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयो : अध्यक्ष दाहाल

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहाल।

काठमाडौँ, असार १६ गते । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताउनुभएको छ । 

आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद् भए पनि संसद् नागरिकका ऐन, कानुन बनाउनतर्फ अहिले कतै न कतै चुकेको जिकिर गर्नुभयो । 

उहाँले सांसदले निर्माण गर्ने ऐन, कानुनले नै देश कता जान्छ भन्नेकुराको निर्धारण हुने भन्दै सांसद ऐन निर्माणमा बढी केन्द्रित हुनुपर्ने बताउनुभयो । समयमा ऐन, कानुन निर्माण गर्न संसद्ले ध्यान नदिएकोतर्फ उहाँले सचेत गराउनुभयो । उहाँले नेपाल सबैभन्दा धनी संविधानमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल धनी संविधानमै छ भन्छु म । संसद्ले सबै जनताको प्रतिनिधित्व गर्दछ । हामीले निर्माण गर्ने ऐन, कानुन कस्तो बनाउने र कस्तो दिशा दिन्छ भन्नेकुराले निर्धारण गर्दछ । अहिले हामी अलिकति त्यसमा कहीँ न कहीँ चुकेका छौँ । समयमा ऐन, कानुन निर्माण गर्न भ्याएका छैनौँ । गर्न सकेका छैनौँ । परिस्थितिले दिएको छैन भनौँ वा हामी धेरै सोच र दृष्टिकोणका मानिसको सँगालो संसद् भएको हुनाले त्यो सबैलाई व्यवस्थापन गरेर अघि बढ्न हामीलाई कठिनाइ भएको छ ।’

अध्यक्ष दाहालले संसद्लाई प्रभावकारी बनाउने सांसदको भूमिका भनेको नेपाली नागरिकसँग गरेका वाचा, अहिलेको नेपालको वर्तमान राजनीतिक परिस्थिति, भविष्यको नेपालको सिङ्गो अर्थतन्त्रलाई कसरी अघि बढाउने र नेपाली जनताको जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने रहेको बताउनुभयो । उहाँले सांसदले देश र जनतालाई फाइदा हुने ढङ्गले सोच्न जरुरी रहेको बताउनुभयो ।