• १८ असार २०८१, मङ्गलबार

परीक्षणका लागि १० हजार अलैँचीका बिरुवा रोपिने

blog

अलैंचीका बिरुवा कृषकलाई प्रदान गर्दै ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार १६ गते । गुल्मीमा अलैँचीका १० हजार बिरुवा परीक्षणका लागि रोपिने भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले पहिलो पटक जिल्लामा परीक्षणका लागि अलैँची विकास केन्द्रबाट १० हजार बिरुवा ल्याई परीक्षणका लागि रोपण गर्न लागिएको कार्यालयका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

जिल्लामा अलैँची खेतीको सम्भावना भएपनि व्यवसायीक रूपमा खेती नभएकाले पहिलो पटक परीक्षणका लागि बिरुवा रोपण गर्न लागिएको उहाँको भनाइ छ । अलैँची विकास केन्द्र इलामबाट गुणस्तरीय बिरुवा ल्याएकाले परीक्षण सफल भएमा व्यवसायीक रूपमा नै खेती गर्ने गरी कार्यालयले योजना बनाउने भण्डारीले बताउनुभयो । 

मालिका गाउँपालिका-१ नेटाका जुजमान पुनले पाँच सय अलैँचीका बिरुवा कार्यालयबाट लिँदै छोराछोरीलाई जस्तै माया गरेर बिरुवा हुर्काउने बताउनुभयो। आफूले ओखर र कफीका बिरुवाहरू पनि लगाएको बताउँदै यसबाट राम्रो आम्दानी लिने गरी योजना बनाएको उहाँको भनाइ छ । 

यस्तै मालिका गाउँपालिका-७ घमिरका जगतबहादुर लम्सालले अलैँचीलाई कालो सुन भन्ने सुनेकाले कार्यालयमा बिरुवा माग गरेको बताउनुभयो । माग अनुसार बिरुवा पाएकाले  कालो सुनलाई राम्रोसँग हुर्काएर व्यवसायीक बन्ने उहाँले बताउनुभयो ।

हाललाई मालिका र चन्द्रकोटलाई लक्षित गरी बिरुवा वितरण गरी रोपण गर्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यस खेतीका लागि चिस्यान भएको जमिन आवश्यक पर्ने कार्यालयले जनाएको छ।