• १३ वैशाख २०८१, बिहिबार

चुनावी चटारो : अस्पतालमा सेवा लिनेको सङ्ख्या घट्यो

blog

काठमाडौं, मङ्सिर २ गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनको रौनक बढेसँगै काठमाडौंका अस्पतालमा सेवा लिनेको सङ्ख्या घटेको छ। काठमाडौं उपत्यकामा बसोबास गर्ने लाखौँ सर्वसाधारणले देशको नेतृत्व परिवर्तनका लागि हुने निर्वाचनमा सहभागी हुन काठमाडौं छोडेका छन्। अन्य समयमा काठमाडौं उपत्यकाका ठूला सरकारी अस्पतालमा बिरामीको चाप थेग्नै नसक्ने हुन्थ्यो। तर, आजभोलि सुनसान छन्। 

अस्पतालका अनुसार पछिल्लो केही दिनदेखि ओपिडी र आकस्मिक कक्षमा र भर्ना हुने बिरामीको सङ्ख्यामा कमी आएको छ। बिरामी घट्नुको कारण कोरोना र डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै जानु र अन्य बेलामा भन्दा जाडो मौसमका रोग कम लाग्ने र चुनावको प्रचार प्रसारमा मानिस व्यस्त हुँदा बिरामीको चाप घटेको विभिन्न अस्पतालमा कार्यरत चिकित्सकको भनाइ छ। 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार पछिल्लो समय अस्पतालको ओपिडी र आकस्मिक कक्षमा सेवा लिन आउने बिरामीको सङ्ख्या घट्दै गएको छ। अन्य बेलामा ओपिडीमा दुई हजार २४ सयको हाराहारीमा बिरामीले सेवा लिने गरेकोमा पछिल्लो केही दिनदेखि घटेर १८ सयको हाराहारीले सेवा लिने गरेका छन्।  अन्य समयमा पनि चुनाव, दशैं तिहार जस्ता चाडवार्डमा सेवा लिन आउने बिरामीको सङ्ख्या कमी आउने गरेको उहाँको अनुभव छ।  

आकस्मिक कक्षमा सेवा लिने बिरामीको सङ्ख्यामा भने कमी नआएको उहाँ बताउनुहुन्छ। अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या घटे पनि अस्पतालको आइसियु र भेन्टिलेटरमा भने बिरामी चाप नघटेको उहाँको भनाइ छ। 

यस्तै महाबौद्धस्थित चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा पनि केही दिनदेखि बिरामीको चाप घट्दै गएको अस्पतालका उपनिर्देशक डा. प्रज्वलन श्रेष्ठले जानकारी दिनुभयो। अस्पतालको आकस्मिक कक्षमा सेवा लिने बिरामीको सङ्ख्यामा र अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या पनि घट्दो क्रममा रहेको छ। विगतमा पनि जाडो मौसममा अन्य बिरामीको तुलनमा दमका बिरामी बढी आउने डा.श्रेष्ठ बताउनुहुन्छ। सेवा लिने बिरामीको सङ्ख्या घट्दै गए पनि आइसियु र भेन्टिलेटर खाली नरहेको उहाँको भनाइ छ।

त्यस्तै,  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले अस्पतालमा पछिल्लो केही दिनदेखि बिरामीको चाप घट्दै गएको जानकारी दिनुभयो। अहिले ओपिडी र आकस्मिक कक्षमा सेवा लिनेको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ। आकस्मिक र ओपिडीमा ५५/६० जना बिरामीले सेवा लिने गरेको उहाँले सुनाउनुभयो। पहिले १५० जनाको हाराहारीमा बिरामीले आकस्मिक र ओपिडी सेवा लिने गरेका थिए।  अहिले अस्पतालको जेनेरल बेडमा सात, क्याबिनमा चार जना र आइसियुमा दुई जना उपचाररत छन्। डेंगु कम भएका र भर्खर जाडो सुरु भएकाले बिरामीको सङ्ख्यामा कमी आएको हुनसक्ने उहाँको भनाइ छ।

बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल)अस्पतालमा पछिल्लो केही दिनदेखि बिरामीको चाप घट्दै गएको छ। अस्पतालका निर्देशक डा.विधाननिधि पौडेलका अनुसार अस्पतालको ओपिडीमा आठ नौ सय जनाले सेवा लिने गरेकोमा पछिल्लो समय घटेर पाँच सयको हाराहारीमा मात्रै सेवा लिने गरेका छन्। अस्पतालको आकस्मिक कक्षमा सेवा लिनेको सङ्ख्यामा कमी आएको डा.पौडेल बताउनुहुन्छ। अस्पतालमा भर्ना हुनेको सङ्ख्यामा कमी आए पनि आइसियु भेन्टिलेटरमा भने बिरामी प्याक भएको उहाँ बताउनुहुन्छ। 

ओम हस्पिटल एन्ड रिचर्ज सेन्टरका सूचना अधिकृत विनोद अधिकारीले अस्पतालमा पछिल्लो समय ओपिडीमा आउने बिरामीको सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो। अस्पतालमा तराईबाट धेरै बिरामीले सेवा दिने भएकोले पछिल्लो समय तराईबाट आउने बिरामीको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ। 

नर्भिक इन्टनेशनल अस्पतालमा पनि पछिल्लो समय ओपिडीमा सेवा लिने बिरामीको सङ्ख्याका केही कमी आएको छ। दशैं, तिहार र चुनावले गर्दा अस्पतालमा आउने बिरामीको सङ्ख्या केही कम भएको अस्पतालका डा.अजय मिश्रले जानकारी दिनुभयो।

 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।