• ११ मंसिर २०८१, मङ्गलबार

कांग्रेसमै रहेर राजनीतिक संन्यास लिन्छु : नेता खड्का

blog

पत्रकार सम्मेलनमा पूर्वमन्त्री कुमार खड्का । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, मंसिर १ गते । दुई दिन अघिमात्र गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्रीबाट बर्खास्तमा पर्नुभएका कुमार खड्काले आफू नेपाली कांग्रेसमै रहेर संन्यास लिने इच्छा व्यक्त गर्नुभएको छ । 

मन्त्री पदबाट बर्खास्तमा पर्नुभएका खड्काले आज पत्रकार सम्मेलन गरी सो कुरा बताउनुभएको हो । निर्वाचन समयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक पटक पनि सुनुवाइको मौका नदिई आफूलाई हटाउनुभएको उहाँले दुःख व्यक्त गर्नुभयो । 

मन्त्री पदबाट बर्खास्त भए पनि आफू सधैँ पार्टीको निष्ठावान् कार्यकर्ताको रूपमा सहयोग गर्ने बताउनुभयो । खड्काले भन्नुभयो, ‘म मन्त्री पदबाट बर्खास्त भएको मिडियाबाट थाहा पाएँ तर अपराधको कुरा अझै थाहा पाएको छैन ।’ 

“पार्टीले मलाई केही अफर दिएको छैन । शीर्ष नेताले सोध्नुभएको पनि छैन । अखण्ड पार्टीको सदस्य हुँदा कांग्रेसले मलाई धेरै अवसर दियो” खडकाले भन्नुभयो, “म माथि जति अन्याय गरिए पनि म पार्टीको सदस्यता त्याग्नेवाला छैन ।”