• ११ वैशाख २०८१, मङ्गलबार

नेपाल बैङ्कले सेवालाई सहज बनाउँदै लगेको छ

blog

मुलुककै जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड आफ्नो स्थापनाको ८६औँ वर्षमा प्रवेश गरेको छ। नेपालमा वित्तीय सुविधा विस्तारमा ऐतिहासिक भूमिका निर्वाह गरेको नेपाल बैङ्कले अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरिरहेको छ। विभिन्न सुधार प्रयासका परिणामस्वरूप अहिले यो बैङ्क आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको छ। यिनै परिवेशमा नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीसँग गोरखापत्रका गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ : 


नेपालको पहिलो बैङ्कको गौरवमय इतिहास बोकेको नेपाल बैङ्क ८६औँ वर्षमा प्रवेश गरेको छ। यो लामो इतिहास र भूमिकालाई कसरी स्मरण गर्नुहुन्छ ? 

विभिन्न आरोह–अवरोह पार गर्दै नेपाल  बैङ्क स्थापनाको ८६औँ वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा खुसी व्यक्त गर्न चाहन्छु। मुलुकको पहिलो संस्थागत बैङ्कका रूपमा १९९४ साल कात्तिक ३० गते स्थापना भएको यस बैङ्कले नेपाली जनतामाझ बैङ्किङ सचेतना फैलाउने, बचत परिचालनको माध्यमबाट उद्योग व्यवसायका लागि आवश्यक पुँजी निर्माण गर्ने र देशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको  छ। बैङ्कलाई यहाँसम्म ल्याइपु¥याउन विगतमा विभिन्न क्षेत्रबाट योगदान गर्नुहुने अग्रजहरू सबैलाई एक पटक स्मरण गर्न चाहन्छु।  

आफ्नो स्थापनायताको करिब दुई दशक केन्द्रीय बैङ्कको समेत भूमिका निर्वाह गरेको इतिहास बोकेको यस बैङ्कले उद्योग, व्यापार, कृषि, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानीलाई विस्तार गर्दै लगेको छ। सुरुवाती दिनमा लेजर, धातुका टोकन, पासबुकलगायतका विधिबाट बैङ्किङ सेवा प्रवाह गरेको र लामो अनुभवसमेत भएको नेपाल बैङ्कले हाल बैङ्किङ बजारमा उपलब्ध डिजिटल प्रविधिमा आधारित प्रायः सबै प्रकारका बैङ्किङ सेवाहरू उपलब्ध गराउँदै आएको छ । हाल देशभरका ७१ जिल्लामा रहेका आफ्ना २२२ वटा शाखा, १९८ एटीएम र ५० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रवाह गरिरहेको यस बैङ्कले मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, अनलाइन बैङ्किङ, डेबिट कार्ड, क्रेडिट कार्ड, सी–आस्वा, क्यूआर कोडलगायतका आधुनिक प्रविधिमा आधारित डिजिटल बैङ्किङ सुविधा प्रदान गर्दै बैङ्कलाई प्रतिस्पर्धी र सेवा प्रवाहलाई थप सहज बनाउँदै लगेको छ।

अहिले बैङ्कको वित्तीय अवस्था कस्तो छ ? 

२०७९ असार मसान्तसम्ममा एक खर्ब ९६ अर्ब निक्षेप सङ्कलन र एक खर्ब ७८ अर्ब कर्जा प्रदान भएको छ। हरेक वर्ष मुनाफा गर्न सफल यस बैङ्कको हाल चुक्ता पुँजी १४ अर्ब ४० करोड, जगेडा कोष १७ अर्ब ८२ करोड रुपियाँ रहेको छ भने ३५ अर्ब रुपियाँभन्दा बढीको नेटवर्थ छ। विगत तीन वर्षदेखि निरन्तर रूपमा सेयरधनीलाई लाभांश दिन सफल भएको बैङ्कले आगामी वर्षमा आफ्ना वित्तीय परिसूचक थप सुधार गर्दै लैजाने विश्वाससमेत सबै महानुभावलाई दिलाउन चाहन्छु।

 नेपाल बैङ्कले आफू अझ बढी प्रतिस्पर्धी र सबल रूपमा अगाडि बढ्न के कस्ता कार्यक्रम तथा रणनीति अङ्गीकार गरेको छ ?

व्यवसाय विस्तारका लागि कर्मचारीको उत्पादकत्व वृद्धि गर्ने, निक्षेपमा वृद्धि गरी गुणस्तरीय कर्जा लगानीमा थप विस्तार गर्दै लैजाने, रेमिट्यान्स कारोबारमा अभिवृद्धि, ग्राहकलाई नवीनतम सेवा सुविधा प्रदान गर्न आवश्यक अध्ययन अनुसन्धान गर्ने, सेवा प्रवाहमा रहेका प्रक्रियागत जटिलतालाई सरल बनाउने, ग्राहक सेवामा प्रभावकारिता ल्याउन कर्मचारीको व्यवहार तथा कार्यालयको वातावरणलाई  ग्राहकमैत्री तथा प्रविधिमैत्री बनाउने, नियमनकारी व्यवस्थाको परिपालना र जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, सूचनाप्रविधि तथा डिजिटाइजेसनको उपयोग बढाउँदै लैजानेजस्ता कार्यक्रम अगाडि बढाइरहेका छौँ। 

हालको सङ्गठन ढाँचालाई आवश्यकता र औचित्यका आधारमा परिमार्जन गर्न, प्रादेशिक कार्यालयको क्षमता तथा भूमिकालाई विस्तार गर्न, शाखाहरूको कार्यसम्पादनलाई अझ नतिजामुखी बनाउन, भौतिक सम्पत्तिको उचित व्यवस्थापन गर्नेलगायतका विषयका लागि आवश्यक नीति, रणनीति तर्जुमा गर्ने र त्यसको कार्यान्वयनका लागि बैङ्क व्यवस्थापनको क्षमता अभिवृद्धि गर्नेजस्ता कार्य गरिरहेका छौँ।

सूचना प्रविधि तथा डिजिटाइजेसनमा आधारित बैङ्किङ सेवाहरू प्रदान गर्र्दै ग्राहक सेवालाई सहज र सरल बनाउन बैङ्क प्रतिबद्ध रहेको र बैङ्कले हाल प्रयोगमा ल्याइरहेको पुमोरी सफ्टवेयरलाई प्रतिस्थापन गरी बृहत् दायरायुक्त सफ्टवेयरमार्फत बैङ्कको सेवा प्रवाहलाई थप प्रतिस्पर्धी बनाउन कार्य अगाडि बढाइसकिएको छ। 

२०७९ असार मसान्तसम्ममा एक खर्ब ९६ अर्ब निक्षेप सङ्कलन र एक खर्ब ७८ अर्ब कर्जा प्रदान भएको छ । हरेक वर्ष मुनाफा गर्न सफल यस बैङ्कको हाल चुक्ता पुँजी १४ अर्ब ४० करोड, जगेडा कोष १७ अर्ब ८२ करोड रुपियाँ रहेको छ भने ३५ अर्ब रुपियाँभन्दा बढीको नेटवर्थ छ ।

विगतमा सरकारी स्वामित्वका बैङ्कहरूमा वित्तीय अनुशासन र मापदण्ड पालना नभएकोजस्ता विविध समस्या थिए। अहिले त्यो अवस्था कत्तिको परिवर्तन भयो ? 

२०५४/५५ पछिका केही वर्ष बैङ्कको संस्थागत सुशासनमा देखिएको विचलन र अनियमितताका कारण बैङ्कको वित्तीय अवस्था कमजोर हुन पुगेको र पुँजीकोष ऋणात्मक भएको थियो। वित्तीय क्षेत्र सुधार कार्यक्रममार्फत बैङ्कको वित्तीय अवस्थामा सुधार ल्याई दुई दशकभन्दा बढी समय लगानीकर्तालाई कुनै प्रतिफल दिन नसकेको बैङ्कले गत तीन वर्षदेखि निरन्तर लाभांश वितरण गर्न सफल भएको छ। बैङ्क निरन्तर रूपमा मुनाफामा छ। सेयरधनीको तर्फबाट निर्वाचित प्रतिनिधिसहितको सञ्चालक समिति र प्रतिस्पर्धाबाट छनोट भएको प्रमुख कार्यकारी अधिकृतले नेतृत्व गरेको यस बैङ्कले हरेक वर्ष नियमित रूपमा वार्षिक साधारण सभा गर्दै आएको छ। लोक सेवा आयोगको प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका युवा कर्मचारीको बाहुल्य रहेको यस बैङ्कमा कर्मचारीको औसत उमेर ३५ वर्ष रहेको छ। हामी आन्तरिक रूपमै अब बलियो भइसकेका छौँ। बैङ्क तथा वित्तीय संस्था ऐन (बाफिया)को दायरा राष्ट्र बैङ्कको नियमन र आन्तरिक कार्यविधिका कारण कसैले पनि गलत अभ्यास गर्न सक्ने अवस्था छैन। व्यक्तिगत रुचि वा लाभका आधारमा कुनै पनि कार्य गर्न यहाँ सम्भव हुँदैन। त्यसैले त नेपाल बैङ्क निरन्तर नाफामा गएको बैङ्क बनेको छ। यसबाहेक सञ्चालक समितिले बैङ्कको दैनिक कार्य सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने नीति, नियम र विनियम तर्जुमा गरी उक्त नीति, नियम र विनियमको सीमा र अख्तियारीभित्र रहेर आफ्ना काम कारबाहीहरूको सञ्चालन र व्यवस्थापन गर्ने गरेको छ।

  नेपाल बैङ्कको नेतृत्वमा रहँदा तपाईंले देखेका चुनौतीहरू अब के के छन् त ?

बैङ्कको डिजिटल बैङ्किङलाई थप सुरक्षित, प्रतिस्पर्धी र ग्राहकमैत्री बनाउँदै लैजान यससँग सम्बन्धित प्रविधिमा ठूलो लगानी गर्नुपर्ने साथै हाम्रा कर्मचारीलाई प्रविधिप्रति अभ्यस्त गराउँदै लैजानुपर्ने अवस्था छ; जुन हाम्रा लागि चुनौतीपूर्ण रहेको छ। त्यस्तै सञ्चालन लागत घटाउने, कर्मचारीको उत्पादकत्व वृद्धि गर्ने, युवा पुस्तालाई बैङ्कप्रति आकर्षित गर्ने, सुशासन तथा स्वअनुशासन कायम राख्ने र मौजुदा सम्पत्तिको व्यवस्थापन गर्ने कार्य तत्काल गर्नुपर्ने हुन्छ। यसका साथै वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाब, बाह्य क्षेत्रमा परेको चाप, बैङ्किङ प्रणालीमा देखिएको तरलता अभाव चुनौतीका रूपमा रहेका छन्। अहिले निजी क्षेत्रका धेरै बैङ्कको आकार बढेको छ। ती बैङ्कसँग प्रतिस्पर्धा गर्न आगामी दिनमा नेपाल बैङ्कको स्वच्छ प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने सम्बन्धमा छलफल गरी अगाडिको बाटो तय गर्नुपर्नेछ। 

अहिले बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या धेरै छ। ती बैङ्क र वित्तीय संस्थाले आआफ्नै ढङ्गले ग्राहकलाई आकर्षण गरिरहेका छन्। ग्राहकले नेपाल बैङ्क नै रोज्नुपर्ने कारण के के छन् ?

निश्चय नै आज बैङ्किङ कारोबारका लागि ग्राहकसँग विकल्प धेरै छन्। तथापि सरकारको स्वामित्व, आठ दशकभन्दा बढीको बैङ्किङ अनुभव, लोकसेवा आयोगको प्रतिस्पर्धात्मक प्रतियोगिताबाट छानिएका योग्य कर्मचारी, प्रतिस्पर्धी सेवा प्रवाह हाम्रा सबल पक्ष हुन्। नेपाल बैङ्कले सदैव आफ्नो सफलतालाई ग्राहकको सुरक्षा र सेवासँग जोडेको छ।  

सरकारको स्वामित्व, आठ दशकभन्दा बढीको बैङ्किङ अनुभव, लोकसेवा आयोगको प्रतिस्पर्धात्मक प्रतियोगिताबाट छानिएका योग्य कर्मचारी, प्रतिस्पर्धी सेवा प्रवाह हाम्रा सबल पक्ष हुन् । नेपाल बैङ्कले सदैव आफ्नो सफलतालाई ग्राहकको सुरक्षा र सेवासँग जोडेको छ । 

बैङ्किङ क्षेत्रले प्रतिस्पर्धा गर्ने नाममा कतिपयले नियामकको निर्देशन मिच्ने, ऋणीमाथि अनावश्यक व्ययभार सिर्जना गर्ने अत्यधिक प्रिमियम असुल्ने गरेको देखिन्छ। यो वातावरणमा नेपाल बैङ्क कुन स्थानमा छ ?

यो राज्यको लगानीमा सञ्चालित गौरवपूर्ण इतिहास बोकेको बैङ्क हो। राज्यका नीति, राष्ट्र बैङ्कका नियम निर्देशन र हाम्रा आन्तरिक कार्यविधिलाई हामी शिरोधार्य गर्छौं। यो हिसाबले यो बैङ्क आफैँमा जनताको बैङ्क हो। वित्तीय अनुशासनलाई कडाइका साथ अनुसरण गर्दै आएका छौँ। यसर्थ हामीले अल्पकालीन अकुत नाफा सिर्जना गर्ने होइन; दायराभित्रका व्यावसायिक लाभमार्पmत नाफा सुनिश्चित गर्ने गरेका छौँ। यसर्थ नेपाल बैङ्क त्यस्ता खेलमा संलग्न हुने कुरै हुँदैन। 

संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैङ्कको भूमिका के छ ? वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन बैङ्कले कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ? 

आफ्नो स्थापनादेखि नै मुनाफाभन्दा आमनागरिकमा बैङ्किङ संस्कृति र सचेतनाको विकास तथा वित्तीय पहुँचका लागि कार्य गरेको यस बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार (सङ्घीय) र प्रदेश सरकारले स्थापना गरेको कोषमा चार करोड ८१ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ। बैङ्कले प्राकृतिक तथा दैवी प्रकोपको विपत्मा परेका नागरिकलाई आर्थिक सहयोग, बालबालिकाको स्वास्थ्य, विकट क्षेत्रमा स्वास्थ्य संरचना, प्रसूति केन्द्र निर्माण, सामुदायिक अस्पतालको स्तरोन्नतिलगायत देशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सामुदायिक विद्यालय तथा क्याम्पसको भवन संरचनाको निर्माण तथा सुधार, पुस्तकालय, शैक्षिक तथा खेलकुद सामग्रीको वितरणलगायतका कार्यमा सहयोग गरी संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै आएको छ।  साथै बैङ्कले वातावरण, सरसफाइ तथा सार्वजनिक स्थलको संरक्षण, सामुदायिक सुरक्षा संस्कृति संरक्षण, ज्येष्ठ नागरिक, अनाथालय, अपाङ्गता, मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा समेत सहयोग प्रदान गर्दै आएको छ।

नेपालको वित्तीय क्षेत्रमा तरलताको समस्या छ। यो अवस्था कहिलेसम्म रहला र यसको समाधानका दीर्घकालीन उपायहरू तपाईं के देख्नुहुन्छ ?

नेपालको वित्तीय क्षेत्रमा बेलाबखत तरलताको समस्या देखिने गरेको छ। यो समस्या २०७२/७३ देखि देखिन थालेकोमा आर्थिक वर्षको दोस्रो त्रयमासबाट तरलतामा चाप देखा पर्ने र चौथो त्रयमासमा केही सहज हुने अवस्था रहने गरेको थियो। वर्तमान तरलता समस्या भने पूर्ण रूपमा समाधान हुन थप केही समय लाग्ने देखिएको छ। कोभिड–१९ को प्रभाव कम भएसँगै आर्थिक गतिविधिको गति तीव्र हुनु, बैङ्किङ निक्षेप वृद्धिको तुलनामा कर्जा वृद्धि अधिक हुनु, वित्तीय प्रणालीमा नयाँ निक्षेप सङ्कलन हुन नसक्नु, अर्थतन्त्रको वृद्धि शिथिल हुनु, पुँजीगत खर्च समयमै हुन नसक्नु, विप्रेषण आप्रवाहमा कमी आउनु, बढ्दो आयातको चापलगायतका कारण वर्तमान तरलता समस्या देखिएको हो। यस समस्याको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्थाहरूबीच उचित छलफल तथा बहस गरी एक निष्कर्षमा पुग्नुपर्ने देखिन्छ।