बागलुङ समाचारदाता
बागलुङ, कात्तिक २७ गते । बागलुङ नगरपालिका–१, खनियाँबासको एकीकृत माझी बस्तीमा ४० भन्दा बढी मत सङ्ख्या रहेको छ। एउटै बस्तीमा यति धेरै मत हुँदा पनि राजनीतिक दल र उम्मेदवारको चासो बढ्नु तथा मतदाता आफ्नो पक्षमा पार्नु स्वाभाविक हो।
तर, मतदानसँगै माझी बस्तीका मतदाताको समस्यामाथि समस्याको चाङ नै छ। थातथलोबाट विस्थापित भएको करिब तीन दशकपछि पुरानै बस्तीमा फर्किएका माझीहरूको बस्ती नयाँ हो। उनीहरूलाई २०७५ सालमा खनियाँबासमा सारिएको थियो। नयाँ बस्ती भएको हुँदा त्यहाँ खानेपानी, विद्युत्, सडक, ढल र विद्यालयजस्ता आधारभूत समस्या क्रमशः पूरा गरिदिनुपर्ने माग अगाडि सारिएको छ यद्यपि बस्तीको मुख्य समस्या रोजगारी हो।
कालीगण्डकी नदीमा बालुवा चाल्ने, माछा मार्ने, ढुङ्गा, गिटी सङ्कलन गरेर जीवन निर्वाह गर्दै आएका माझीलाई नदी संरक्षणका लागि राज्य तथा न्यायिक निकायबाट बेलाबेलामा सार्वजनिक हुने नीति, नियम, निर्देशन, आदेश र फैसलाले दैनिकीमै समस्या खडा गरेको छ।
त्यहाँको भोटको सबैलाई आस छ तर बग्रेल्ती समस्याहरूले राजनीतिक दल र उम्मेदवारलाई झस्काउने गर्छ। विस्थापित भएको तीन दशकपछि आफ्नै थातथलोमा फर्किएका माझी समुदायलाई राजनीतिक दलहरूले एकीकृत बस्ती निर्माण गरी घर उपलब्ध गराएको भन्ने जस लिँदै भोट माग्ने गर्छन्।
२०४८ सालमा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा खनियाँबासमा रहेको माझी बस्ती विस्थापित भएका थिए। बागलुङ नगरपालिका–१, बाङ्गेचौर खेल मैदानमा पूर्वपट्टिको भागमा सुकुम्बासी जीवन बिताएका माझीहरूलाई २०७५ सालमा एकीकृत बस्ती निर्माण गरी घर जग्गाधनी लालपुर्जासहित पुरानै ठाउँमा पुनस्र्थापना गरिएको थियो। माझी समुदायका तत्कालीन माग नै दलका उम्मेदवारलाई भोट माग्न तगारो बनेका छन्। “सबैलाई हाम्रो भोट चाहिन्छ तर हाम्रा माग पूरा हुँदैनन्,” स्थानीय देउकुमारी माझीले भनिन्, “हाम्रो भोट प्यारो, समस्या तगारो मान्नुहुन्छ।” माझी बस्तीमा १८ घर छन्। १४ घर बस्ती व्यवस्थापनबाट र चार घर जनता आवास कार्यक्रमबाट निर्माण गरिएको हो। नगरपालिकाले खरिद गरेको जग्गामा घर निर्माण गरेका गमसिंह माझी, रामबहादुर माझी र यमबहादुर माझीले लालपुर्जा पाएका छैनन्।
धेरै सङ्ख्यामा मत सङ्ख्या हुँदा राजनीतिक दल लोभिएका छन्। निर्वाचनका बेला भोट माग्न आए पनि जितेपछि फर्केर नआएको देउकुमारी माझीको गुनासो छ। “भोट माग्न उम्मेदवारहरू आउँछन् तर जितेर गएपछि नाक, मुख देख्न पनि पाइँदैन,” माझीले भन्नुभयो। स्थानीय तहको पहलमा माझी बस्ती पुग्ने पक्की सडक निर्माण र ढलको व्यवस्थाको काम भइरहेको छ। विकास निर्माणको काम आधा सकिएको स्थानीय कृष्ण माझीले जानकारी दिनुभयो।
बस्तीमा ‘एक घर एक धारा’ र केन्द्रीय विद्युत् जडान गरिएको छ। बस्तीका लागि आधारभूत पूर्वाधार क्रमागत रूपले निर्माण भए पनि मुख्य समस्या रोजगारीको भएको माझी समुदायको गुनासो छ। रोजगारी भए शिक्षा र स्वास्थ्य सेवालाई सँगसँगै लैजान सकिने बुझाइ उहाँहरूको छ।