• २८ असार २०८२, शनिबार

मोहनी मुलदेको

blog

ओहो ! आँखाको अँगालोमा नअटाउने हिउँको गलैँचा ! दोबाटोको शीर्षस्थल मुलदे भ्युपार्क (३६३८ मिटर) परिसर हिउँ ओढेर मुसुमुसु हाँसिरहेको छ । म पनि मुस्कुराउँछु । यतिबेला हिमालबाट हिउँ पैँचो लिएर हिमवर्षाले रोचक नृत्य गरेको छ यहाँ । यसको न्यानो स्पर्शले रोमाञ्चित हुन्छु । हार्दिकता बोकेको हिमाली परिवेश छताछुल्ल पोखिएको छ । घान्द्रुकस्थित यो लेकाली आँगनमा । उमङ्ग र उत्साह ह्वात्तै चुलिएको छ– हिमचुचुरा झैँ ।

मिर्मिरे बिहानीको मनोरम वातावरण । सिर्सिर चलेको छ, स्वच्छ–शीतल हावा । कोलाहलबाट धेरै टाढाको निर्जन र शान्त ठाउँ । चौतर्फी फिँजारिएका हिउँ टेक्दै हिँड्दा चरप चरपको ध्वनि मात्रै अस्तित्वमा छ । वरपरका मनोरम दृश्य हेर्न घाम उदाउँदै छ । हामी त्यही घामको नवजात किरण हेर्न आँखा हुत्याइरहेका छौँ– पूर्वी क्षितिजतिर । सुनौलो घाम उदायो माछापुच्छरे मास्तिरबाट । उदाउँदैको सुनौला घाम र यसको रश्मिले हिमचुचुरोलाई पालैपालो चुप्पा खाँदै गर्दाको सौन्दर्यले आल्हादित बनेका पर्यटकको मुहारमा हर्षको रङ पोतिदिएको छ । जमजमाइरहेछ मानव– उल्लासमा । 

चमक थपिएका सेता हिमशृङ्खला चियाउन थाल्छु म । सबैभन्दा छेउ सुदूरपूर्वमा छ, गणेश हिमाल चौथो । त्यसपछि क्रमशः बुद्ध हिमाल, हिमालचुली र ङादी चुली । त्यसैको नजिकै हाम्रै स्वागतमा उभिएको छ– लमजुङ हिमाल, मार्दी हिमाल, अन्नपूर्ण दोस्रो, माछापुच्छरे र खाल्डोमा गन्धर्व चुली । उत्तरतिर आँखा सार्दै छु । अन्नपूर्ण तेस्रो छड्के आँखा लगाउँदै त छैन ? हिउँकै बक्खुमा सजिएकी हिउँचुलीलाई । हिमाल भएर हर्षले अग्लिँदै छ– मेरो मन । हनुमानले झैँ भीमकाय छाती फुलाएको छ, अटल अन्नपूर्ण दक्षिणले ।

मित जस्तै मिलेर बसेका छन्– अन्नपूर्ण पहिलो र अन्नपूर्ण फाङ (बाह्रशिखा) को जोडी । अनि नीलगिरि उत्तर र नीलगिरि दक्षिणको जोडी । दौँतरी जस्ता देखिने यी दुई जोडी देखेर दङ्गिइरहँदा म अतीतको मित लगाउने मौलिक संस्कारमा फर्किएँ । दुई आत्माबिचको आत्मीयता, घनिष्टता र पवित्रताको आदर्श नमुना जो थियो । स्वार्थ र सङ्कीर्णताको सतहभन्दा धेरै माथि उठेको मितेरी साइनो । 

हिमचुचुराको आस्वाद लिने क्रममा आँखा उत्तर–पश्चिमतिर घुमाउँछु । सबैभन्दा अग्लो हिमाल धौलागिरि पहिलो (८१६७ मिटर) शिरको शोभा ढाकाटोपी भएर बसेको रहेछ । रत्तिभर हलचल नगरी तर मेरो मन स्थिर हुन सकिरहेको छैन । भकाभक उत्तेजना भर्दै छ लामबद्ध हिमशृङ्खलाले । दायाँतिरको टुकुचे चुली चमकले तान्यो ध्यान । बायाँतिर क्रमशः धौलागिरि दोस्रो, तेस्रो, पाँचौँ, चौथो, जिर्बाङ्ग चुली, धौलागिरि छैटौँ र अन्तिममा गुर्जा हिमाल हर्षित मुद्रामा नारिएर उभिएका छन् । मानौँ मैदानमा चण्डी नाच्न आतुर किराँत तरुनीतन्नेरी उभिएका हुन् । 

पूर्वदेखि उत्तर–पश्चिमसम्मका दुई दर्जनभन्दा बढी श्वेत हिमशृङ्खलाको अपूर्व दृश्य । सुनारको आरनमा सुन के पगाल्ला त्यसरी ? जसरी हिउँका बाक्लो पहिरन लगाएका हिमगङ्गाको रापले पगालेको छ मलाई । यहाँबाट सबैभन्दा नजिक र भव्य अन्नपूर्ण दक्षिण देखिएको छ । त्यसपछि ठुला देखिने हिमाल भनेको हिउँचुली, माछापुच्छ«े, धौलागिरि पहिलो र टुकुचे हुन् । नतमस्तक हुन पुग्छु म । रोमाञ्चित बनाइरहने यी हिमाललाई क्यामराको पर्दामा सजाउ कि मनको क्यानभासमा ? मुलदे भनेको नै मनमोहक दृश्यावलोकनका लागि उत्तेजक थलो हो । शरीरमा प्रशस्त डोपामाइन रसायन पैदा गराउन सक्ने शक्ति भएको । यहाँबाट हिस्सी परेका हिमालजत्तिकै सङ्ख्याका दृष्टिभरि फैलिएका अलौकिक भूदृश्य हेरेर असीम आनन्द लिन सकिन्छ । सकिन्छ चित्त शान्त पार्न । हिमालदेखि तराईसम्मका एकसे एक मनोरम ठाउँ हेर्दा नवीन साम्राज्य अथवा स्वर्गको एक छेउमा आइपुगेको अनुभूति हुन्छ । जसलाई देखेर स्वर्गकी अप्सरा पनि ईष्र्या गर्दी हुन् ।

मुलदे तल्तिरको अद्भुत भूदृश्य नियाल्छु । आँखाले नभ्याउने दुरीसम्म दृष्टि फैलाउँछु । पूर्वतिर काठमाडौँसम्म तानिएको छ लम्बेतान उपत्यका । गोर्खा, लमजुङ, तनहुँका पहाडी भूभाग बयली खेल्दै तराई चितवनसम्मका समथर फाँटसम्म बगेको छ । फेवातालको छाल बयली खेले जसरी । कास्कीका पोखरा उपत्यका, फेवाताल, शान्ति स्तूपको सुन्दर क्यानभास पनि यतै देखिएको छ ।  

पश्चिमतिर दगु¥यो दृष्टि । विश्वप्रसिद्ध अन्नपूर्ण सेन्चुरी पदमार्ग अन्तर्गत म्याग्दीका घोडेपानी–पुनहिल, बेनी, बागलुङ, ढोरपाटन, म्याग्दीको मोहरेडाँडा दरबाङसम्मका डाँडापाखा, रुकुम, रोल्पा, डोल्पा । दक्षिणपट्टिको स्याङ्जा, पर्वत, स्याङ्जा लुम्बिनी, नवलपरासी, बुटवल । उत्तरी दिशामा ठिक नीलगिरिमुन्तिर मुस्ताङको याकखर्क, जोमसोम । फरक फरक आकृतिका बान्किला दृश्य देख्दा काल्पनिक लोकमा आइपुगे जस्तो लाग्छ । 

खोल्साखोल्सीमा निःसृत कलकलको ध्वनि गुन्जाउँदै नदीनाला बगेका छन् । तिनको कालिगडीलाई कसले भेट्न सक्छ ! उत्तरमा धौलागिरिमुन्तिर कालीगण्डकी र मोदीखोलाले बनाएका कलात्मक भूआकृति कुनै प्रसिद्ध कलाकारको क्यानभासभन्दा उत्कृष्ट देखिन्छ ।

प्रकृति र संस्कृतिको विविधताले भरिएको सजीव दृश्य देखिन्छ मुलदेबाट । पहाड, अझ भनौँ हिमाली खण्डदेखि तराईसम्मका गाउँघर, मठमन्दिर, खेतबारी, बालीनाली, पाखापखेरा, वनजङ्गल, पोखरीकुण्ड, छाँगाछहरा, भन्ज्याङ, देउराली, टार, बेँसीलगायतका सजिसजाउ बान्कीले मोहनी लगाउँछ । 

माछा चिप्ले झैँ थाहै नपाई दुई घण्टा चिप्लिएछ हामीबाट । दुर्लभ दृश्य हेरेर अझै अघाएका छैनौँ । हुन त दुई घण्टा जीवनको ज्यादै थोरै समय हो तर यो समय मनमा धेरै गहिरो गरी छाप बसाल्न पर्याप्त हुँदोरहेछ । समयको अस्तित्व र महत्व त्यसको लम्बाइसँग हुँदै होइन, गहिराइसँग मापन हुन्छ । 

अब झर्दै छौँ मुन्तिरको होटल पछ्याउँदै । भिरालो पाखाका गुराँसका डाली डाली फुलेका छन्– सेताम्मे हिउँफूलहरू । तीन प्रजातिका रहेछन् यहाँका गुराँस । बाटो मात्र होइन, खोल्साखोल्सी, रुखबिरुवा, पाखापखेरासमेत हिउँफूलले पुरिएका छन् तर ओरालो झर्ने कसरी ? बाटोमा पग्लिएको हिउँ खरो उत्रेर हाँक दिएको छ– हामीलाई नै । होसियारीपूर्वक बिस्तारै पाइला चाल्न थल्दाथाल्दै सुलुसुलु बग्दै खोल्साको हिउँमा जाकिएका छौँ कहिले । कहिले बुट्यानलाई अँगालो मार्न पुगेका छौँ । घुप्लुक्क पर्ला जस्तो गरेर हाँस्दाहाँस्दै आफैँ पछारिएको पत्तै हुँदैन । यसरी अनेकन हाँसोमय वातावरणमा होटेल पुगियो । सामान्य अवस्थामा १० मिनेट लाग्ने बाटोलाई छिचोल्न २० मिनेट लागेछ । 

नास्ता खाएर ताडापानीको यात्रामा निस्कँदा पनि हिमालले हामीलाई पछ्याउन छोडेका रहेनछन् । दोबाटोस्थित होटेल माउन्ट लक्कीको आँगनमा निस्केर बायाँ (उत्तर) तिर हेर्छु । गन्धर्व चुली, हिउँचुली, अन्नपूर्ण दक्षिण, अन्नपूर्ण पहिलो र अन्नपूर्ण फाङ (बाह्रशिखा), टुकुचे चुली र अन्त्यमा धौलागिरि पहिलोको लस्कर लागेका रहेछन् । बिदाइका हात हल्लाउन दायाँतिर अर्थात् पूर्वतिर माछापुच्छे«, त्यसपछि क्रमशः मार्दी हिमाल, लमजुङ, ङादी चुली, हिमालचुली, बुद्ध हिमाल र सबैभन्दा छेउ (सुदूरपूर्व) को गणेश हिमाल चौथो अझै आँखै नझिम्काई हामीलाई नै हेरिरहेका छन् ।

यहाँ आइपुग्नका लागि फरक फरक चार पदमार्ग अपनाउन सक्छन् पदयात्रीले । जस्तो पोखराबाट पहिलो दिनमा पोखरा–किम्चे हुँदै घान्दुक पुगिन्छ । दोस्रो दिन ताडापानी । तेस्रो दिन इसारु हुँदै दोबाटो पुग्न सकिन्छ । त्यस्तै पहिलो दिनमा पोखरा–बिरेठाटी हुँदै उल्लेरी पुगिन्छ । दोस्रो दिन घोडेपानी–पुनहिल । तेस्रो दिन थाप्लाडाँडा–देउराली हुँदै दोबाटो पुग्न सकिन्छ । 

छोम्रोङबाट पनि झर्ने गर्छन् पर्यटक यहाँ । भर्खरै खुलाइएको नयाँ पदमार्ग पछ्याउँदै । पहिलो दिन छोम्रोङ–त्रिभुवनपार्क । दोस्रो दिन पौनेखर्क पुग्न सकिन्छ । तेस्रो दिन ‘हिडन लेक’ जाउआउ गरेर दोबाटो पुगिन्छ । अन्नपूर्ण परिक्रमाबाट ओर्लेका पर्यटक पनि यहाँ उक्लिने गर्छन् तातोपानीबाट । त्यहाँबाट पाउदार हुँदै दोबाटोसम्म एकै दिनमा पनि आइपुग्छन् हिँड्न सक्नेहरू । प्रकृतिवाणी सुनिने यस्तो ठाउँमा पाउ पर्दा पनि ध्यानस्थको आनन्दानुभूति हुन्छ । जुनसुकै याममा आए पनि ताजा महसुस हुन्छ । जतिपल्ट हेरे पनि उत्तिकै आकर्षक र नयाँ लाग्छ, यहाँबाट देखिने दृश्य ।