• २८ असार २०८२, शनिबार

रामपुर नगरपालिकाको बजेट खर्च ८७ प्रतिशत

blog

रामपुर नगरपालिका

इमान सिं राना
रामपुर (पाल्पा), असार २८ गते ।
जिल्लाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटमध्ये ८७ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकाले कुल ७४ करोड ११ लाख चार हजार बजेट विनियोजन गरेको थियो ।

विनियोजित बजेटमध्ये ६४ करोड ७१ लाख चार हजार पाँच सय ७४ रुपियाँ खर्च गरेको हो । पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार रुपियाँ बजेट विनियोजन भएकोमा १५ करोड १६ लाख ३४ हजार पाँच सय ७४ रुपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बनाउनुभयो ।

पुँजीगततर्फ यो खर्च रकम ७९ दशमलव ०१ प्रतिशत हो । चालु तर्फ रामपुर नगरपालिकाले ५४ करोड ९१ लाख ९४ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमा ४९ करोड ५४ लाख ७० हजार ६६.४८ रुपियाँ खर्च भएको छ । चालुतर्फ ९० दशमलव २२ प्रतिशत खर्च भएको हो ।

नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । चालु आर्थिक वर्षमा ६.३१ प्रतिशतले बढी वित्तीय प्रगति भएको लेखा शाखा प्रमुख सीता न्यौपानेले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा तीन सय ८९ वटा विभिन्न योजनाको काम सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । नगरपालिकाको चार सय तीन वटा योजना रहेकोमा १४ वटा योजना सम्पन्न नभएको जसमध्ये नौ वटा सम्झौता नभएको र पाँच वटा सम्झौता भएर पनि काम नभएको उहाँले बताउनुभयो ।

ठेक्का प्रक्रिया र उपभोक्ता मार्फत हुने योजना समयमै सुरु भई सम्पन्न भएका कारण यस वर्ष वित्तीय प्रगति गत वर्षभन्दा बढी भएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र सञ्चालन हुने योजनाहरुको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको उपप्रमुख तथा अनुगमन समितिका संयोजक बाल कुमारी थापाले बताउनुभयो ।नगरवासीको सेवा सहजताका लागि घुम्ती शिविर मार्फत योजना सम्झौता, खाता खोल्ने र भुक्तानीको व्यवस्था गरेको र वड/वडा मै प्राविधिक कर्मचारीको व्यवस्था गरेका कारण धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।