काठमाडौं, कात्तिक २५ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सत्तामा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताउनुभएको छ। शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताउनुभएको हो।
उहाँले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताउनुभयो। उहाँले एक नागरिक आयोग गठन गरेर २०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्च पदस्थको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गर्ने बताउनुभयो।
अध्यक्ष लिङ्देनले भ्रष्टाचारविरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गर्नुभयो। उहाँले आफू संसद्मा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसद्मा साथ दिलाइदिन आम मतदातासँग आग्रह गर्नुभयो। आफूले पाँच वर्ष संसद्मा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारलाई पनि जिताउन उहाँले आग्रह गर्नुभयो।
‘बालेनले काठमाडौंको अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ। हामीले निरन्तर भनेर आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौँ’, अध्यक्ष लिङ्देनले भन्नुभयो।
अध्यक्ष लिङदेनले पुराना दलहरूलाई फेरि पनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गर्नुभयो। उहाँले मतदाताहरूलाई आफ्नो पार्टी नछाडे पनि मत भने राप्रपालाई दिनका लागि आग्रह गर्नुभयो। उहाँले काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरेर राप्रपाको पक्षमा परिणाम आउनुपर्ने बताउनु भयो। उहाँले बाकस खोल्दामात्रै थाहा हुनेगरी हलो चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो।
उहाँले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनुभयो। ठूला राजनीतिक दलको विकल्पको रूपमा राप्रपा रहेको उहाँको भनाइ छ।