• १० मंसिर २०८१, सोमबार

इजरायलबाट भित्रिएको खात बरामद

blog

काठमाडौँ, कात्तिक २५ गते । इजरायलबाट नेपाल भित्रिएको खात (हरियो चियापत्ती) लागूऔषध रहेको पाइएको छ। ग्रिन टीको प्याकेटमा इजरायलबाट आएको लागूऔषध अमेरिकामा तस्करी हुन लागेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र लागूऔषध नियन्त्रण ब्युरो संयुक्त टोलीले नियन्त्रित लागूऔषध ४८० केजी खात (ग्रिन टीजस्तै लागूऔषध)सहित दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ललितपुर धापाखेलका कविराज खड्का तथा धादिङ सिद्देलेखका रामकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काका अनुसार ग्रिन टीको प्याकेटमा लागूऔषधको ओसारपसार हुने गरेको सूचनापछि  निगरानी बढाइएको थियो।

त्यस क्रममा ललितपुरको धापाखेलस्थित कविराज खड्काको घर कम्पाउन्डमा रोकिराखेको बा२०च १५८ नम्बरको गाडी र घरभित्र खानतलासी गर्दा १७ वटा प्याकेटमा ४८० केजी खात बरामद भएको हो। 

इजरायलबाट त्रिभुवन विमानस्थल हुँदै कार्गोमार्फत खात नेपाल आयात गर्ने यादव एन्ड यादव ग्रुप प्रालिको कार्यालयबाट प्रहरीले ल्यापटप तथा मोबाइल कार्डसमेत बरामद गरेको जनाएको छ। प्रहरी उपरीक्षक खड्काले बरामदमध्ये २२० केजी खात अमेरिका पठाउन लागिएको खुलेको बताउनुभयो।

खात नामकरण गरिएको सो वनस्पतिमा क्याथिन र क्याथिनन भन्ने लागूऔषध तत्व पाइने भएकाले संयुक्त राष्ट्र महासन्धिमा क्याथिनन र क्याथिनलाई लागूऔषधका रूपमा प्रतिबन्ध गरिएको छ। नेपालमा खात लागूऔषधको सूचीमा नरहे पनि 

महासन्धिको पक्ष राष्ट्र भएकाले नियन्त्रणमा लिएको हो।

के हो खात ?

वनस्पति प्रकारको खातलाई सन् १९८० मा विश्व स्वास्थ्य सङ्गठनले लागूऔषधका रूपमा वर्गीकरण गरेको थियो। यसको प्रयोगले अन्य लागूऔषधजस्तै मनोवैज्ञानिक अवसर गर्ने गर्दछ। यमन,  इथियोपिया तथा अफ्रिकी मुलुकहरूमा खातको खेती हुने गरेको पाइएको छ। इजरायलमा पनि खातको खेती तथा कारोबार हुने पाइन्छ। 

खातमा रहेको क्याथिन र क्याथिनन भन्ने रसायनले एम्फेटामिनजस्तै उत्तेजक बनाउने गर्दछ।

यसको प्रयोग गर्दा भोक नलाग्ने, युफोरिया, कब्जियत, अल्सर, अवसाद, अनिद्रा तथा लामो समयको सेवनले क्यान्सरसमेत हुन सक्छ। खातलाई सोमाली चिया, अरबी चिया पनि भन्ने गरिन्छ। लागूऔषध प्रयोगकर्ताले यसलाई चपाएर, धुवाँ गरेर, ग्रिन टीका रूपमा समेत सेवन गर्ने गरेको ब्युरोले जनाएको छ।

स्विडेन, स्विट्जरल्यान्ड, फ्रान्स, डेनमार्क, बेल्जियम, नेदरल्यान्ड, अमेरिकालगायतका मुलुकमा खातलाई प्रतिबन्ध लगाइएको छ। यसलाई अमेरिकाले सन्  १९७१ मे १ देखि प्रतिबन्ध लगाएको थियो।