• ११ मंसिर २०८१, मङ्गलबार

सार्वजनिक शिक्षामा गुणस्तरको प्रश्न

blog

गुणस्तरीय शिक्षाको गुणस्तर सार्वजनिक वृत्तमा ठूलो बहसको विषय बन्दै आएको छ। यो विषयले नीति, निर्माता, राजनीतिज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी र आमजनमानसमा ठूलो चिन्ता बढाएको छ। लोकतान्त्रिक मुलुकमा सार्वजनिक शिक्षा पहिलो प्राथमिकतामा पर्नु पर्छ तर त्यसो हुन सकेको छैन। शिक्षाको सुधारका नाममा प्रयोग भइरहने गुणस्तरीय शिक्षाको कहिल्यै सम्मान हुन सकेन। सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिबाट मात्रै चेतनाको स्तर बढ्नेछ र लोकतन्त्र पनि सुदृढ हुनेछ। 

अहिले हाम्रो सार्वजनिक शिक्षाबारे प्रश्न उठ्न थालेको छ। विवेकशील नागरिक उत्पादन गर्ने विषयमै प्रश्न उठ्नु विडम्बना हो। शिक्षाका सबालमा राज्य संवेदनशील हुन नसकेको यसबाट पुष्टि हुन्छ। शिक्षाका निम्ति छुट्याइने बजेटदेखि अन्य नीतिनिर्माणमा नेतृत्वकर्ता शिक्षा मन्त्रालय चुकिरहेको छ। शिक्षा एउटा अमूर्त चिन्तन हो। यसैले गुणस्तरीय शिक्षालाई सरकारी स्तरका नीति र योजना पनि तदनुरूप प्रस्तुत गरिन्छ। 

यसैगरी हरेक राजनीतिक दलले पनि आआफ्ना घोषणा पत्रमा गुणस्तरीय शिक्षाको नारा दिँदै शिक्षालाई प्राथमिकतामा पारेको देखिन्छ। गुणस्तरीय शिक्षाका भाष्य र नीति निर्माणका चिन्तनबारे कतै मूर्त विचार र योजना देखिँदैनन्। यस्ता विडम्बना पूर्णकार्यले गर्दा नै हाम्रो शिक्षा दिनानुदिन खस्कँदै गएको छ।

शिक्षाले नै हरेक नागरिकलाई देशमा बन्ने नीति र तिनका असरबारे बुझ्न र आउने परिणामबारे आकलन गर्न सक्ने क्षमताको समेत अभिवृद्धि गराउँछ। अध्ययनशील सक्षम नागरिकले नै राज्य या सरकारका नीति, कार्यक्रम, योजना आदिका कुनै त्रुटि कमजोरी देखिएमा सुधार्नका लागि सल्लाह, सुझाव र आवश्यक परे विभिन्न माध्यमबाट दबाबसमेत दिन सक्छन्। यसैले शिक्षित र चेतनशील नागरिक भएका देशले नै विकास गर्दै आएका छन्। चेतनशील नागरिक भएमा राष्ट्रिय र साझा हितका विषयमा समान दृष्टिकोण बन्न सक्छ। 

हामीसँगै अनेकन ज्ञान, विज्ञान तथा प्रविधि छन्। यिनलाई उजागर गर्न हाम्रो नेपाली भाषा कला, साहित्य, संस्कृति आदिको यथार्थ ज्ञान हुनु जरुरी छ। हामीभित्रै रहेको विज्ञान तथा प्रविधिले पानी घट्ट, आरन, मन्दिरका टुडाल आदिको निर्माण त हाम्रा प्राचीनतम ज्ञान र विज्ञानका प्रयोग थिए। ती–पुर्खाको सीपलाई तिखार्नेतर्फ लागेनाैँ अरूका देखासिकीमा मात्रै हिँड्याँै, मौलिकतालाई लोप पा¥यौँ। हामीले कहिले सोचेनौँ ती स्रष्टामा कसरी ती ज्ञान, विज्ञान तथा प्रविधिको सोच जन्मिए ? तिनमा यस किसिमको सोच कहाँबाट आयो ? तिनले कुन प्रविधि र विज्ञान पढेका थिए। तिनको गणितीय ज्ञान के थियो ? विज्ञानसम्बन्धी कुन पुस्तक र प्रयोगशालामा अध्ययन गरेका थिए ? रैथाने ज्ञान विज्ञान र प्रविधिकाबारे अनभिज्ञ छ हाम्रो शिक्षाको भाष्य। हाम्रो संस्कृति संरक्षक नै हो भन्नेहरूले पनि यसतर्फ ध्यान दिएनन्। विगतदेखि नै आफ्नोपन गुमाउँदै आयौँ। मौलिकता र सिर्जनलाई बिर्संदै गयौँ। यसैगरी अहिले आधुनिक शिक्षाका नाममा अङ्ग्रेजी माध्यमलाई पहिलो प्राथमिकता दिन थाल्याँै। अहिले उब्जिएका निजी स्रोतका अङ्ग्रेजी माध्यमका विद्यालय हाम्रा अभिभावकका लागि निकै आकर्षक बन्दै आएका छन्। अधिकांश बुझेका अभिभावक परीक्षामा बढी अङ्क ल्याउनु र अङ्ग्रेजी बोल्न जान्नु नै गुणस्तरीय शिक्षा हो भन्छन्।

सार्वजनिक वृत्तमा भनिने गरेको गुणस्तरीय शिक्षाको भाष्य भनेको नै परीक्षामा बढी अङ्क ल्याउनुलाई नै विद्यालय र विद्यार्थीको गुणस्तर मापन गर्ने सहज माध्यमका रूपमा लिने गर्छन्। राज्यको सोच पनि यसैगरी विकसित हुँदै आएको पाइन्छ। अङ्कका आधारमा बोर्डफस्ट वा बोर्ड टप भनी विद्यार्थीबीच सर्वमान्य चिन्तनले सार्वजनिक वृत्तमा मान्यता स्थापित गरेका छन्। यसरी टपर विद्यार्थीको महìव दिँदै कतिपय निजी स्रोतका विद्यालयले विज्ञापनको माध्यमसमेत बनाई व्यापारीकरण समेत गर्ने गरेका छन्। यसका लागि नमुना प्रश्न पत्र निर्माण गरी त्यसका उत्तरसमेत तयार पारी विद्यार्थीलाई रटाउन लगाउँछन्। केही राम्रा विद्यार्थीलाई छानेर दिनरात कोठामा थुनेर उत्तर घोकाउने र विद्यालयले आफ्नै शिक्षकबाट निःशुल्क ट्युसन पढाउने गरेका कुरा पनि सुनिँदै आएको छ। यसरी अन्तिम परीक्षामा आफ्ना विद्यालयका विद्यार्थीले अङ्क बढी नल्याए विद्यार्थीको शाख घट्ने र विद्यार्थी भर्ना हुन छाड्ने त्रासले गर्दा पनि निजी स्रोतका विद्यालयले यस्ता नीति अवलम्बन गर्ने गरेका छन्। निजी विद्यालयले गर्ने गरेका अभ्यासबाट बढी अङ्क ल्याउने वृत्तको चिन्तनलाई नै गुणस्तरीय शिक्षा हो भन्ने भाष्य निर्माण गर्नु उचित होइन।

एसईईको यसपालिको नतिजा विगत पाँच वर्षयताकै कमजोर साबित भएको छ। अझ गत पुसमा पाठ्यक्रम विकास केन्द्रले सैद्धान्तिक तर्फ ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा नन ग्रेडिङ उल्लेख गर्ने व्यवस्था गरे पनि यसपालिको एसईईको नतिजामा लेटर ग्रेडिङ कार्य विधि २०७२ अनुसार नै नतिजा सार्वजनिक गरियो। ३५ भन्दा कम अङ्क प्राप्त गर्ने विद्यार्थीको पनि ग्रेडिङ गरियो। यो परिस्थितिलाई अवलोकन गर्दा परीक्षाका प्रश्नपत्र अनावश्यक कठिन त बनाइएका थिएनन् भन्ने प्रश्न पनि उठन थालेका छन्। शिक्षा मन्त्रालयले परीक्षा नतिजा तथा विद्यार्थीको सिकाइ उपलब्धिबारे समीक्षा गरी अबका दिनमा सुधारका उपाय खोजी गर्नु भने जरुरी छ। 

कतिपय विद्यालय जीपीए मात्र बढाउने ध्याउन्नमा रहेकाले विद्यार्थीको भविष्यमाथि नै खेलबाड भइरहेको छ । हाम्रा अभिभावक, शिक्षक विद्यार्थी र आमजनसाधारणमा समेत जसरी पनि बढी नम्बर ल्याउनु सफलता हो भन्ने मान्यता छ। विद्यालयमा कसरी पढाइ भइरहेको छ, विद्यार्थीले विद्यालयमा कस्तो साथीसँग सङ्गत गरेका छन्, विद्यालयमा घोकाएर मात्र पढाइन्छ कि बुझाउने पनि गर्छन् भन्नेबारे खासै चासो दिएको पाइँदैन। बढी नम्बर आयो भन्दै विद्यालय पनि जीपीए बढी देखाएर त्यसका आधारमा विज्ञापन गरी विद्यार्थी बटुल्नमै व्यस्त देखिन्छन्। यही हो त गुणस्तरीय शिक्षा ? 

हाम्रा सार्वजनिक विद्यालय नसुध्रिएसम्म देशको राजनीतिक व्यवस्थापन पनि स्थिर रहँदैन। शिक्षामा देखिएको वर्गीय खाडलले त झनै असन्तुष्टि बढाउँछ। विद्यालय अभिभावक, शिक्षक, विद्यार्थी र सरकारले अङ्क बढी ल्याउनेतर्फ भन्दा व्यावहारिक ज्ञान र सीप सिकाउने शिक्षाको कल्पना गर्नु प¥यो। विद्यालय शिक्षाले सही बाटो पक्डिनुपर्छ। विगतदेखिकै समस्या वर्तमानमा झन् थपिँदै झन् जटिल र पेचिलो बन्दै आएका छन्। यसलाई सुधार्ने दिशामा हामी सबै लाग्नुपर्छ।