• १ असोज २०८१, मङ्गलबार

नमुना मतदान: अपेक्षाभन्दा धेरै मत बदर

blog

जयमान बुढामगर

रुकुमपूर्व, कात्तिक २३ गते ।  आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत रुकुमपूर्वमा नमुना मतदान गरिएको छ। सोहीअनुसार नमुना मतदानमा देखिएका कमी–कमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ। 

जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउनुभयो। तीनवटा गाउँपालिका रहेको यस जिल्लामा हालसम्म पुथाउत्तरगङ्गा र भुमे गाउँपालिकामा नमुना मतदान कार्यक्रम गरिएको छ। 

अब सिस्ने गाउँपालिकामा पनि छिट्टै नमुना मतदान कार्यक्रम गरिने निर्वाचन अधिकारी ओलीले बताउनुभयो। “हालसम्मको नमुना मतदानमा अपेक्षा गरिएकोभन्दा धेरै मत बदर भएको पाइएको छ,” उहाँले भन्नुभयो। बदर मतमा औँलाको छाप लगाइएको, एक मतपत्रको एक चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेमा धेरै चिह्नमा छाप लगाउने गरेको पाइएको ओलीले बताउनुभयो।  

कर्मचारी तोकिए

जिल्लाका विभिन्न मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी तोकिएका छन्। मुख्य  निर्वाचन  अधिकृतको  कार्यालयका  अनुसार निर्वाचन  सुरु  हुनु  दुई  हप्ताअघि  मतदान  अधिकृत  तोक्ने  कार्य  पूरा  भएको  जानकारी दिएको छ। जिल्लाभरि ५६ वटा मतदान केन्द्र छन्। मतदाता सङ्ख्याको आधारमा प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, चार/पाँच जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगीलाई निर्वाचन गराउने प्रयोजनका लागि तोकिएको छ। तोकिएका कर्मचारीको नियुक्ति मङ्गलबार र बुधबार दुई दिनको समय दिइएको छ। नियुक्तिपछि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई कात्तिक २७ गते एक दिने निर्वाचनसम्बन्धी अनुशिक्षण दिइनेछ। कात्तिक २८ गतेबाट कर्मचारीलाई मतपत्र तथा सामग्री दिएर मतदान केन्द्रतर्फ  पठाइने कार्यालयले जनाएको छ।