• १३ वैशाख २०८१, बिहिबार

एक युवतीको सङ्घर्षको कथा सुनकेशरी

blog

काठमाडौँ, कात्तिक २० गते । ‘सुनकेशरी’ कर्णाली प्रदेशको प्रचलित लोककथामा आधारित नाटक हो। एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नु परेका तीतामीठा सङ्घर्षको कथालाई नाटकमा बुनिएको छ। सुनकेशरी नाटककी प्रमुख चरित्र हुनुहुन्छ। कर्णालीका सांस्कारिक गतिविधिमा गाइने मागलगान गाउन सिपालु सुनकेशरी आफ्नो आकर्षक रूप तथा सुनौला केशराशिका कारण पनि अत्यन्तै प्रसिद्ध हुनुहुन्छ। 

सुनकेशरीलाई विवाह गर्न चाहने धेरै छन्। सुनकेशरीकी फुपुको छोरा प्रजापति पनि सुनकेशरीलाई अत्यन्तै मन पराउनुहुन्छ र उहाँसँग विवाह गर्न चाहनुहुन्छ। तत्कालीन संस्कारमा मामाचेला, फुपुचेला प्रथा चल्ने भएको हुँदा पनि सुनकेशरीको असली हकदार आफैँ हुँ भन्ने प्रजापतिको ठहर गर्नुहुन्छ तर सुनकेशरी प्रजापतिलाई पटक्कै मन पराउनुहुन्न। सुनकेशरीलाई आफ्नो बनाउने होडमा अन्य दुई राजा पनि हुन्छन्। छिनासिंहका राजा विक्रम शाही र उनका मामाचेला पर्ने रास्कोटका राजा साइमल शाही पनि सुनकेशरीको यौवनबाट प्रभावित हुनुहुन्छ। प्रजापतिबाट हैरान हुनुभएकी सुनकेशरी घर छाडेर हिँड्नुहुन्छ। उहाँले दुईमध्ये एक राजा रोज्नुहुन्छ र आफ्नो गृहस्थ जीवन सुरु गर्नुहुन्छ। 

नाटकमा यसपछि समानान्तर रूपमा दुईवटा यात्रा सुरु हुन्छन्। जसमा एउटा यात्रा हुन्छ सुनकेशरीको जो आफ्नो सुन्दरताका कारण अनेकौँ परिस्थितिको सामना गर्न पुग्नुहुन्छ। भान्जाबाबु प्रजापतिको अर्को यात्रा भने सुनकेशरीलाई जसरी भए पनि फर्काएर घर ल्याउने रहेको हुन्छ। यी दुवै यात्रा एउटा मिलनबिन्दुमा पुगेपछि नाटकको कथाले उत्कर्ष रूप लिन्छ। 

यही सेरोफेरोमा नाटकको कथा बुनिएको छ। सुनकेशरीको वरिपरि नै नाटक घुमेको छ। सुनकेशरीको हाउभाउदेखि लिएर नाटकमा उहाँले गर्नुहुने प्रत्येक क्रियाकलापलाई निर्देशक खतिवडाले भिन्न तरिकाले पस्कनुभएको छ। मण्डला थिएटर नेपालद्वारा सञ्चालित तीन महिने नाट्य प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको दसौँ ब्याचका प्रशिक्षार्थीको अभिनय रहेको नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गर्नुभएको छ। 

नाटकमा परीक्षा लिम्बू, खगेन्द्र साउद, रीता सैँजु, सुवास गिरी, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जीवजङ्ग क्षेत्री, आर्यसुमन खड्का, रोशन लोहोरुङ राई, सुनील राई, उज्जवल राई, विवेक कटुवाल, प्रीतिसा अधिकारी, कृष्ण चौधरीको अभिनय रहेको छ। त्यस्तै सैनिक/कोरसमा नोर्देन ख्युङ्वा लामा, रक्षा पाण्डे, अनुज्ञा रेग्मी, सविना गिरी, सलिना खत्री, किसम वीर विक्रम थापा, अभिषेक राई र सुनील खड्का हुनुहुन्छ भने प्रत्यक्ष वाद्यवादन अङ्कित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले गर्नुभएको छ। नाटकमा सङ्गीत संयोजन अनुपम शर्माले गर्नुभएको छ भने नाटकको कार्यकारी निर्माता उमेश तामाङ हुनुहुन्छ। 

नाटक काठमाडौँ उपत्यकामा मात्र नभई छिमेकी देश भारत र बाङ्गलादेशमा भएका महोत्वसवमा मञ्चन भइसकेको छ। संस्कृतिविद् एवं साहित्यकार सत्यमोहन जोशीले लेख्नुभएको नाट्यकृति ‘सुनकेशरी’लाई सन् २०१२ मा मण्डला थिएटर नेपालले बाङ्गलादेशको ‘रङ्गो हर्षे, बिङ्गो वर्षे नाट्य महोत्सव’मा पहिलो पटक मञ्चन गरेको थियो। सोही वर्ष नेपालको ‘काठमाडौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ र मण्डला नाटकघरको उद्घाटनमा समेत नाटकको मञ्चन भएको थियो। यस्तै सन् २०१७ मा भारतको राष्ट्रिय नाट्य विद्यालयद्वारा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय नाट्योत्सव ‘भारत रङ्ग महोत्सव’मा पछिल्लो मञ्चन गरिएको नाटकलाई थिएटर मल, काठमाडौँको प्रेक्षालय उद्घाटन समारोहमा समेत मञ्चन गरिएको थियो। सन् २०१९ मा आयोजित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नाटकलाई पुस्तकका रूपमा समेत सार्वजनिक गरिसकिएको छ। नाटक कात्तिक १८ देखि २७ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ ।