• १५ मंसिर २०८२, सोमबार

नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस

blog

भ्रष्टाचार अभियोगको सामना गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ।

जेरुसेलम, मङ्सिर १५ गते । भ्रष्टाचारको अभियोगको सामना गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो समयदेखि चलिरहेको र देशलाई विभाजित गरिरहेको मुद्दाका कारण आफूले राष्ट्रपति समक्ष माफीको औपचारिक अनुरोध पेस गरेको घोषणा गर्नु भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनामा इजरायली राष्ट्रपति आइज्याक हर्जोगलाई पत्र पठाई नेतान्याहुलाई क्षमा गर्न आग्रह गरिसक्नु भएको थियो । नेतान्याहुले आफूले कुनै पनि गैरकानूनी कार्य नगरेको दाबी दोहोर्याउँदै छ वर्षदेखि मुद्दा निरन्तर रहँदा देशभित्र गम्भीर विभाजन बढेको बताउनुभयो ।

प्रधानमन्त्रीका अनुसार उहाँ निर्दोष प्रमाणित नभएसम्म मुद्दा लडे पनि ठीक हुने थियो, तर राष्ट्रिय सुरक्षात्मक र राजनीतिक परिस्थितिले मुद्दाको निरन्तरताले राष्ट्रलाई भित्रैबाट विभाजित गरिरहेको देखाएपछि माफीको अनुरोध गर्नु अपरिहार्य भएको उहाँको भनाइ छ । 

समर्थकले मुद्दालाई राजनीतिकरूपमा प्रेरित आरोप भन्दै अस्वीकार गर्दै आए पनि नेतान्याहुमाथि अर्बपतिबाट राजनीतिक फाइदाका सन्दर्भमा सिगार, गहना र श्याम्पेनसहित करिब दुई लाख ६० हजार डलर मूल्यका सामान लिएको, साथै दुई ठूला मिडियाबाट अनुकूल कभरेजका लागि वार्ता गरेको आरोप छ ।

उहाँले हप्तामा तीन पटक अदालतमा उपस्थित हुनुपर्ने मागलाई ‘असम्भव माग’ भन्दै मुद्दा जित्ने आफ्नो दृढता कायम रहे पनि यसको तत्काल अन्त्यले देशमा आवश्यक राष्ट्रिय मेलमिलापलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो । यही बयानसँगै राष्ट्रपति हर्जोगलाई पेश गरिएको १११ पृष्ठ लामो पत्रमा समेत दोषी स्वीकार गरिएको छैन ।

राष्ट्रपति कार्यालयले यो असाधारण र गहन प्रभाव पार्ने अनुरोध भएको बताउँदै सबै पक्षको राय लिँदै निर्णय हुने जानकारी दिएको छ । सेप्टेम्बरमै हर्जोगले मुद्दाले ‘इजरायली समाजमा भारी बोझ’ पारेको सङ्केत गर्नुभएको थियो । ७६ वर्षीय नेतान्याहु इजरायलको सबैभन्दा दीर्घकालीन प्रधानमन्त्री हुनुहुन्छ । 

वर्तमान कार्यकालमा उहाँले अघि सारेका न्यायिक सुधारका प्रस्तावलाई आलोचकले न्यायालयलाई कमजोर पार्ने योजना भनेका थिए, जसले देशव्यापी विरोध प्रदर्शन जन्माएको थियो । हाल उहाँले सन् २०२६ को अन्त्यअघि हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । कानूनी विज्ञले नेतान्याहुको अनुरोधलाई ट्रम्पको पत्रपछि आएको सुनियोजित कदमका रूपमा व्याख्या गरेका छन् । 

इजरायली कानूनअनुसार माफी केवल दोषी ठहर भइसकेका व्यक्तिलाई मात्र दिन सकिन्छ । यदि माफी अस्वीकार भएमा, अभियोक्तासँग सम्झौता गर्ने विकल्प नै प्रधान हुने अनुमान विज्ञले गरेका छन् । सोही विकल्प जसलाई नेतान्याहुले अहिलेसम्म नकार्दै आउनुभएको छ । 

विपक्षी नेता यायर लापिदले नेतान्याहुले अपराध स्वीकार, पश्चात्ताप र तत्काल राजनीतिक जीवनबाट फिर्ता हुनु माफीको आधार हुनुपर्ने बताउनुभएको छ । अर्का विपक्षी नेता यायर गोलानले ‘दोषीले मात्र माफी माग्छन्’ भन्दै कडा प्रतिक्रिया जनाउनुभयो । यता सरकारका शीर्ष मन्त्रीले भने नेतान्याहुको अनुरोधलाई समर्थन गरेका छन् । 

रक्षामन्त्री इजरायल काट्जले माफीले दशकदेखि बढ्दै आएको सामाजिक दरार मेट्न सक्ने दाबी गर्नुभयो । अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रधानमन्त्रीले ‘राजनीतिक उद्देश्यले बनाइएका मुद्दाले वर्षौदेखि यातना भोगिरहेको’ टिप्पणी गर्नुभयो ।

नेतान्याहु भ्रष्टाचार मुद्दा सामना गर्ने पहिलो कार्यरत इजरायली प्रधानमन्त्री हुनुहुन्छ । यसअघि पूर्व प्रधानमन्त्री एहुद ओल्मर्टले सन् २००९ मा राजीनामा दिएर धोखाधडी मुद्दामा जेल सजाय पाइसक्नु भएको थियो । यता तेल अभिवमा हर्जोगको निजी आवासअगाडि प्रदर्शनकारीले माफी नदिन आग्रह गर्दै प्रदर्शन गरेका छन् ।

कार्यकर्ता सिकमा ब्रेसलरले देशको लोकतान्त्रिक भविष्य जोखिममा परेको बताउँदै नेतान्याहुले न्यायिक प्रणाली कमजोर पार्ने प्रयासलाई रोक्नुपर्ने दाबी गर्नुभयो । प्रदर्शनकारी मोशे राडम्यान र अमी ड्रोरले पनि माफीले कानूनको शासन कमजोर पार्न सक्ने तथा इजरायली लोकतन्त्र नै समाप्त हुन सक्ने चेतावनी दिनुभएको छ । रासस/एएफपी