पडाङ (इन्डोनेसिया), मङ्सिर १५ गते । श्रीलङ्का र इन्डोनेसियाले हालैका दिनमा एसियाका चार देशमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या लगभग एक हजार नजिक पुगेसँगै पीडितका लागि सैन्य उद्धार तथा राहत कार्यलाई अझै तीव्र बनाइएको छ ।
छुट्टाछुट्टै मौसम प्रणालीका कारण गत हप्ता श्रीलङ्काको सम्पूर्ण टापु क्षेत्रमा, इन्डोनेसियाको सुमात्रा, दक्षिणी थाइल्यान्ड तथा उत्तरी मलेसियाका ठुलो भूभागमा मुसलधारे वर्षा भएको थियो । उत्तरी सुमात्रा आइपुग्नु भएपछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले ‘सबैभन्दा कठिन अवस्था अब बितिसकेको छ भन्ने आशा लिने समय आएको छ’ भन्दै सरकारले अब पृथक बस्ती र दुर्गम गाउँमा तत्काल आवश्यक सहयोग पुर्याउने कार्यलाई अग्रता दिइरहेको जानकारी दिनुभयो ।
उहाँमाथि बढ्दो जनदबाबका बिच, बाढी र भूस्खलनमा कम्तीमा ४४२ जनाको मृत्यु भइसकेको र सयौँ अझै बेपत्ता रहेको अवस्थामा राष्ट्रिय आपतकाल घोषणा गर्नुपर्ने माग तीव्र बन्दै गएको छ । सन् २०१८ मा सुलावेसीमा आएको भूकम्प तथा त्यसपछिको सुनामीपछि प्राकृतिक विपत्तिमा इन्डोनेसियाले भोगेको यो सबैभन्दा ठुलो क्षति मानिएको छ ।
सरकारले तीन वटा युद्धपोत तथा दुई वटा अस्पताल जहाज राहतसहित सबैभन्दा प्रभावित स्थानतर्फ पठाइसकेको छ, जहाँ सडक अवरुद्ध भएर स्थलमार्गबाट सहयोग पुर्याउन कठिन भएको छ । उता श्रीलङ्कामा सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि आधिकारिक आह्वान गरिसकेको छ ।
चक्रवात ‘दितवाह’बाट उत्पन्न बाढी तथा भूस्खलनमा कम्तीमा ३४० जनाको मृत्यु भइसकेको पुष्टि गर्दै अधिकारीले अझै ठुलो सङ्ख्यामा मानिस बेपत्ता रहेको जानकारी दिएका छन् । वर्षा कम हुँदै जाँदा राजधानी कोलम्बोमा रातारात बढेको बाढीको पानी घट्न थालेको भए पनि मध्यम क्षेत्रमा भएको क्षतिको वास्तविक अवस्था मात्र राहतकर्मीले लडेका रूख र पहिरोले अवरुद्ध सडक खोल्न थालेपछि खुल्न थालेको बताइएको छ ।
कोलम्बोको उत्तरमा बस्नेमा ओयामाका हसिथा विजेवर्दनाले आफ्नै घर माटोले भरिएको अवस्थामा रहेको भन्दै सफाइका लागि सैन्य सहयोगको अपिल गर्नुभयो । राष्ट्रपति अनुरा कुमार दिसानायकले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकालीन अवस्था घोषणा भइसकेको र राष्ट्र पुनः निर्माणका लागि दृढप्रतिज्ञ रहेको बताउँदै ‘हामी इतिहासकै सबैभन्दा ठुलो र चुनौतीपूर्ण प्राकृतिक प्रकोपसँग जुधिरहेका छौँ र निश्चितरूपमा पहिले भन्दा मजबुत राष्ट्र निर्माण गर्ने छौँ’ भन्नुभयो ।
सन् २००४ को विनाशकारी सुनामीपछि श्रीलङ्काले भोग्नु परेको यो सबैभन्दा ठुलो मानवीय तथा भौतिक क्षति हो । यता थाइल्यान्डमा दक्षिणी क्षेत्रका विभिन्न भूभाग डुबानमा परेपछि कम्तीमा १७६ जनाको मृत्यु भएको छ । यो एक दशक यताकै सबैभन्दा घातक बाढी घटना हो । सरकारले राहत कार्य सुरु गरिरहे पनि ढिलो र कमजोर प्रतिक्रियाप्रति जनआक्रोश बढ्दै गएको बताइन्छ ।
कथित लापरबाहीका कारण दुई स्थानीय अधिकारीलाई निलम्बन गरिएको छ । मलेसियामा पनि भारी वर्षाका कारण पर्लिस राज्यका ठुलो भूभाग डुबानमा परेका छन् र त्यहाँ कम्तीमा दुई जनाको मृत्यु भएको छ ।
एसियाका धेरै देश मनसुनको चरम मौसममा रहेका कारण सामान्यतया भारी वर्षा तथा आकस्मिक बाढीका घटना दैनन्दिनजस्तै भए पनि यस पटक इन्डोनेसिया, थाइल्यान्ड र मलेसियामा आएको बाढी दुर्लभ उष्णकटिबन्धीय आँधी र जलवायु परिवर्तनले तीव्र बनाएको वर्षाले अझ बढाएको देखिन्छ । वातावरण तातिँदै जाँदा अधिक आद्र्रता सञ्चित हुने भएकाले अत्यधिक वर्षाका घटना झनै बढ्न थालेका विज्ञ बताउँछन् । रासस/एएफपी