• १५ मंसिर २०८२, सोमबार

चालिसेलाई मरणोप्रान्त पत्रकारिता पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १५ गते  । रुक्मणिराज शिवाकोटी स्मारक कोषले साहित्कार तथा पत्रकार विजय चालिसेलाई मरणोप्रान्त ‘रुक्मणिराज शिवाकोटी स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । रुक्मणिराज शिवाकोटी स्मारक कोष तथा ज्ञानगुन साहित्य प्रतिष्ठानले आइतबार संयुक्त रूपमा आयोजना गरेको सम्मान तथा लोकार्पण कार्यक्रममा चालिसेलाई सम्मान गरिएको हो । 

पूर्वमन्त्री सिपी मैनाली तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गा उप्रेतीले पत्रकार चालिसेका कान्छा छोरा अशोक चालिसेलाई सम्मान गर्नुभयो । रुक्मणिराज शिवाकोटीको चौथो स्मृति दिवसका अवसरमा चालिसेलगायत साहित्यमा योगदान दिने छ जना व्यक्तिलाई सम्मान गरिएको थियो । साहित्यकार डा. दयाराम श्रेष्ठ ‘रुक्मणिराज शिवाकोटी स्मृति स्रष्टा सम्मान’ द्वारा सम्मानित हुनुभयो । यसै गरी पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्कीलाई नारायणराज खरेल स्मृति सम्मान, डा. गोविन्दराज भट्टराई तथा महेश प्रसाईंलाई ज्ञानगुन स्रष्टा सम्मान र डा. मुकेश चालिसेलाई विज्ञानका कुरा स्रष्टाबाट सम्मानित गरिएको छ । नीलमप्रकाश मैनाली स्मृति शिक्षा सेवाको सम्मान नारायणी मेमोरियोल फाउन्डेसनले पायो ।

रुक्मणिराज शिवाकोटी स्मारक कोषका संस्थापक अध्यक्ष शेषराज शिवाकोटीले आफ्नो बुवाको सम्झनामा सो पुरस्कारको स्थापना गरेको बताउँदै विभिन्न व्यक्तित्वलाई सम्मानित गर्दै पुस्तकहरू प्रकाशन गर्न सकेकोमा आफूलाई खुसी लागेको छ, भन्नुभयो । सो कार्यक्रममा समाजसेवी रुक्मणिराज शिवाकोटी स्मृति ग्रन्थ, निष्ठावान् न्यायमूर्ति अरविन्दनाथ आचार्यः दृष्टिकोष र मूल्याङ्कन, न्यायमूर्ति प्रकाश वस्ती दृष्टिकोष र मूल्याङ्कन, न्यायमूर्ति हरगोविन्दसिंह प्रधान दृष्टिकोख र मूल्याङ्कन नामक पुस्तक लोकार्पण गरिएको थियो ।