• १५ वैशाख २०८१, शनिबार

भिडियोमा ‘कात्तिक प्याखँ’

मल्लकालदेखि चलेको कात्तिक नाच आर्थिक सङ्कटमा

blog

काठमाडौं, कात्तिक १९ गते। ‘कात्तिक प्याखँ’ अर्थात् कात्तिक महिनाभर पाटनको डबलीमा सञ्चालन गरिने प्रसिद्ध ‘कात्तिक नाच’। हरेक वर्ष कार्तिक कृष्णप्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच केही वर्षदेखि कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म छोट्ट्याएर देखाइँदै आइएको छ। 

आगामी आइतबारसम्म चल्ने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित नाच देखाउने चलन छ। यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले आजभन्दा ३८२ वर्षअघि सुरु गर्नुभएको मान्निछ। राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणको लागि उहाँका गुरुद्वय हरिवंश उपाध्याय तथा विश्वनाथ उपाध्यायको सल्लाहमा ‘कात्तिक नाच’ चलाएको जनविश्वास रहेको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष एवम् कलाकार किरण चित्रकार बताउनुहुन्छ। 

पाँच दिनबाट सुरु भएको यो नाच राजा सिद्धिनरसिंह मल्लका छोरा श्री निवास मल्लले यो नाचमा ‘बाँथ प्याखँ’ अर्थात् ७ दिनको लोक नाटक थपेर १२ दिनसम्म सञ्चालन गर्नुभएको थियो। यसपछि श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले थप १५ दिन अर्थात् उषाहरण लीला र माधवनर लीला नाच थपेर तिहारको तीन दिनबाहेक कात्तिक महिनाभर २७ दिन सञ्चालन गर्नुभएको थियो। यसरी, कात्तिक महिनामा देखाइने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको अध्यक्ष चित्रकार बताउनुहुन्छ। 

कात्तिक नाच ऐतिहासिक र पौराणिक नाचबाहेक विश्वको सबैभन्दा लामो नाचको रुपमा पनि लिन सकिने उहाँको भनाइ छ। किनभने अरु नाचमा हरेक दिन उस्तै नाच देखाइन्छ। तर, कात्तिक नाचमा २७ दिनसम्म विभिन्न कथावस्तुमा रहेर नाच देखाउने चलन छ। जसकारण यो नाचको फरक महत्त्व रहेको पाइन्छ। अध्यक्ष चित्रकारका अनुसार कात्तिक नाचमा नेवार समुदायमा रहेका सबै जातलाई समेटेर एउटै डबलीमा नाच मञ्चन गर्ने परम्परा छ। 

“कात्तिक नाच नेपालको ऐतिहासिक सम्पदा र परम्परागत संस्कृति भएकाले ३८२ वर्षसम्म पनि रोकिएको छैन”, अध्यक्ष चित्रकार भन्नुहुन्छ, “यो वर्ष कलाकार बिरामी परेकाले पनि दश दिनसम्म मात्रै देखिाइएको छ। तर, आगामी दिनमा कात्तिक नाचलाई अझै लम्ब्याउने प्रयत्न गर्नेछौं।” 

उहाँ भन्नुहुन्छ, “एक महिनासम्म देखाइने कात्तिक नाचमा १७ वटा अध्यायका कथावस्तु हुन्छन्। जस्तै भक्तसुदासबाट सुरु हुने नाच बेग्लै, सुदामाबाट सुरु हुने नाच बेग्लै र माधवनर नाच सात दिनको हुने गर्छ। यसरी हरेक नाचको विभिन्न कथावस्तुसँगै अवधि हुन्छ।” 

कात्तिक नाचमा कलाकारको संग्लनता नाचका कथावस्तु अनुसार हुनेगर्छ। तर, एउटा नाच देखाउन कम्तीमा २० जना कलाकार चाहिन्छ। चित्रकारका अनुसार २७ दिनसम्म नाच सञ्चालन गर्न आर्थिक समस्या रहेको छ। उहाँ भन्नुहुन्छ, “कात्तिक प्याखँलाई पुरै एक महिनासम्म सञ्चालन गर्न सकिँदैन। कतैबाट आर्थिक सहयोग भएमा मात्रै २७ दिनसम्म गर्न सकिन्छ। अहिले कलाकारले नाचमा भाग लिए बापत कुनै पनि आर्थिक सहयोग पाएका छैनन्। उल्टै आफ्नो खर्चमा नाचमा सहभागिता जनाएका छन्।” कात्तिक नाच र यसको विषयमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको भिडियो सामग्री :