ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ ४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले युवा नेता अर्जुजन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा म्याग्दीका नेता सेरबहादुर केसीले पार्टीको तर्फबाट थापालाई उम्मेदार बनाउने निर्णय भएको आइतबार बिहान जानकारी दिनु भयो । पार्टी केन्द्रले थापाका पक्षमा निर्णय गरेपछि उहाँ टिकट लिनका लागि काठमाडौँ जानु भएको छ । आज ११ बजे थापालाई पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले टिकट हस्तान्तरण गर्ने नेता केसीले जानकारी दिनु भयो । ४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७, धारापानी निवासी हुनु हुन्छ ।
२०५६ मा शिवाङको हेम माविमा अनेरास्ववीयु क्रान्तिकारीको प्रारम्भिक कमिटिको अध्यक्ष बनेर राजनीतिक यात्रा सुरु गर्नु भएका थापा अध्ययनको क्रममा काठमाडौँमा रहँदा भक्तपुरमा अखिल क्रान्तिकारीको नेतृत्व गर्नु भएको थियो ।
नेकपा (एमाले) ले हरिकृष्ण श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ भने नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका अन्य पार्टीहरूले उम्मेदवारको टुङ्गो लगाइसकेका छैनन् ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र एक सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशिल,५८ वटा संवेदनशिल र ८ वटा मतदान स्थललाई समान्य भनेर वर्गीकरण गरेको छ ।