• ५ माघ २०८२, सोमबार

टोल टोलमै अस्पतालको सेवा

blog

वडाले आयोजना गर्ने नियमित स्वास्थ्य शिविरमा सेवा लिँदै स्थानीय ।

कविराज घिमिरे 

हिले (धनकुटा), माघ ५ गते   । पाख्रीबास नगरपालिका–८, काब्रेका ८० वर्षीय पहरसिङ राई दमको बिरामी हुनुहुन्छ । औषधी लिन तथा नियमित उपचारमा प्रत्येक महिना उहाँ नगरको अस्पताल तथा जिल्ला अस्पताल जानु पथ्र्यो । अहिले उहाँ गाउँमै नियमित जाँच गर्नुहुन्छ र औषधी पनि त्यहीँबाट लिनुहुन्छ । आफ्नै टोलबाट औषधी उपचार पाउँदा आधा रोग त्यसै निको भएको उहाँको अनुभव छ । राई भन्नुहुन्छ, “गाउँबाट धाएर अस्पताल जाँदा थप बिरामी होइन्थ्यो तर अहिले धेरै नै आनन्द भएको छ ।” 

स्थानीय देवकुमारी राईलाई गाउँमै नियमित स्वास्थ्य परीक्षण गराउन पाउँदा निकै खुसी लागेको छ । उहाँलाई उच्च रक्तचाप, दम र हातगोडा दुख्ने समस्या छ । नियमित स्वास्थ्य परीक्षण गराएर औषधी लिनुपर्ने हुन्छ । केही वर्षअघिसम्म टाढाका अस्पताल धाउनुपर्ने उहाँ गाउँमै सेवा पाउँदा निकै खुसी हुनुहुन्छ । उहाँहरूले टोल टोलमै स्वास्थ्य सेवा पाउनुको कारण हो, वडाले नियमित रूपमा चलाउँदै आएको स्वास्थ्य शिविर । 

स्वास्थ्य सुविधा तथा औषधी लिन गाउँघरबाट घन्टौँ टाढाका सहरी क्षेत्रका अस्पताल धाउनुपर्ने अवस्था छ तर पाख्रीबास–८ ले सुरु गरेको नयाँ अभियानका कारण वडावासी विशेष अवस्थामा बाहेक उपचारका लागि गाउँ छाडेर टाढा जानु पर्दैन । अस्पतालका डाक्टर गाउँमै आउँछन् स्थानीय निर्धक्कका साथ सेवा लिन्छन् । वडाले प्रत्येक महिना टोलमा स्वास्थ्य शिविर गर्दै आएको छ । वडाका सबै टोललाई समेट्ने गरी सञ्चालन गरिने शिविरले पालिकाको आधारभूत अस्पताल होस् वा जिल्ला अस्पताल नियमित परीक्षण गराउन घन्टौँ धाउनुपर्ने बाध्यता हटेको स्थानीय धनकुमारी राई बताउनुहुन्छ । 

वडाले दुई वर्षअघिबाट विभिन्न टोलमा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसको फाइदा दीर्घरोगी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई पुग्ने गरेको छ । शिविर भएको स्थानमा पालिकाको अस्पतालको डाक्टर लग्ने गरिएको छ । महिनैपिच्छे टोलमै स्वास्थ्य सेवा र औषधी पाउँदा स्थानीय दङ्ग छन् । जलकन्या राउत टोलमा प्रत्येक महिनाको १३ गते, माल्वासेमा १६, काब्रे बैकुन्ठेमा १९ र घामेमा २० गते शिविर हुने गरेको छ । प्रत्येक टोलमा शिविर सञ्चालन भएको दिन ३० भन्दा बढी व्यक्तिले सेवा लिने गरेको वडा सदस्य हेम गिरी बताउनुहुन्छ । 

शिविरमा ९६ प्रकारका औषधीसमेत वितरण गरिँदै आएको छ । त्योबाहेक वडाले दम, सुगर, प्रेसरलगायतका बिरामीलाई विशेष हेरचाह गर्ने तथा महिलालाई आइरन चक्की दिने तथा बालबालिकालाई शिविरकै दिन टोल टोलमै खोपको व्यवस्था गरेको छ । यसले वडाका बालबालिका ज्येष्ठ नागरिक तथा रोगीलाई सहज भएको वडाध्यक्ष गणेश राई बताउनुहुन्छ तर कानुनी जटिलताका कारण अझ सेवाग्राहीले खोजे जस्तो सेवा दिन नसकिएको उहाँको भनाइ छ । वडाले यो कार्यका लागि वार्षिक तीन लाख रुपियाँ खर्च गर्दै आएको छ । स्थानीयलाई यो कार्यले निकै लाभ पुगेको छ । यो नयाँ अभ्यासका कारण सामान्य र नियमित स्वास्थ्य परीक्षण तथा औषधी लिन टाढाका अस्पताल धाउनुपर्ने अवस्था अन्त्य भएको स्थानीयको भनाइ छ ।