सन् १९०९ जनवरी २९ अर्थात् १९६५ साल माघ १७ गते । प्राइमिनिस्टर चन्द्रशमशेरले पालना गर्नुपर्ने नियमका बारेमा छोराहरूलाई सम्बोधन गरी यसै मितिमा ‘इच्छापत्र’ लेख्नुभएको थियो । ५० बुँदाको फेहरिस्त थियो । चन्द्रशमशेरको निधनपछि मात्र त्यो इच्छापत्रलाई कन्तुरबाट झिकेर सार्वजनिक गरिएको थियो । ‘आफूलाई कहिल्यै रक्सीमा नडुबाए, सकेसम्म एकै पत्नीसँग आनन्दसँग रहे, सक्छौ भने जुवाडे नबन, धन सम्पत्तिको निमित्त आपसमा कहिल्यै झगडा नगरे, मूर्खले जस्तो जथाभावी खर्च नगर्नू, प्रधानमन्त्रीले कुनै जुहारात चाहे भने त्यो उनलाई चढाइदेऊ, प्रधानमन्त्रीप्रति सधैँ बफादार होऊ’ आदि आदि (स्रोतः चन्द्रज्योति) । नैतिक, नीति र नियतका कुरा निर्देशित थियो त्यो इच्छापत्रमा ।
चन्द्रशमशेरका साहिँला छोरा– केशरशमशेर । इच्छापत्रमा चन्द्रशमशेरले लेख्नुभएको थियो– मोहन पहिलो चोकमा बस्नेछन्, महारानी, विष्णु र शङ्कर दोस्रो चोकदेखि खलङ्गासम्म, मिठी मिठीचोकमा, बबर बबरमहलमा, केशर केशरमहलमा र जाम (सिंह) प्यारो पुरानै दरबार (थापाथली) मा । चन्द्रशमशेरकी जेठी पत्नी लोकभक्तकुमारीबाट मोहन, बबर, केशर, सिंह र कृष्णशमशेर तथा कान्छी पत्नी बालकुमारीबाट शङ्कर, मदन र विष्णु पैदा हुनुभएको थियो ।
चित्रकलाका रङ चिराचिरा परिसकेका थिए । चिस्यानले रङ खस्न थालिसकेका थिए । तस्बिर क्रमशः धूमिल हुँदै गइसकेका थिए । धातु र काष्ठ कला सग्लो अवस्थामा थिएनन् । ओखेटोपहार पनि सद्दे थिएनन् ।
केशरशमशेरका लागि भनेरै १९५२ सालमा चन्द्रशमशेरले महल तयार गरिदिनुभयो । पुरानो दरबार खरिद गरेर नयाँ दरबार तयार गरिएको थियो । दरबारको डिजाइनर त्यतिबेलाका नामुद वास्तुविद् (इन्जिनियर) किशोरनरसिंह र कुमारनरसिंह हुनुहुन्थ्यो । केशरशमशेरलाई हस्तान्तरण गरिएपछि केशरमहल नामकरण गरिएको थियो । केशरशमशेरका छोरा लोकभक्त राणाले स्मरण गर्नुभयो, “सानोछँदा त्यति याद गरिएन, अहिले सम्झँदा केशरमहलको चोकको पछाडिको भाग पुरानै दरबार थियो कि जस्तो लाग्छ ।” शिक्षा मन्त्रालय केशरमहलमा रहँदाताक शिक्षामन्त्रीको कार्यकक्ष बनाइएको कोठा केशरशमशेरको पूजाकोठा थियो । केशरमहलको कुन कोठामा पहिले केशरशमशेर रहनुहुन्थ्यो ठ्याक्कै भन्न सकिएन तर स्वप्नबगैँचा (गार्डेन अफ ड्रिम्स) तयार भएपछि त्यसै परिसरभित्र रहेको सानो दुई तले भवन (हाल स्वप्नबगैँचाको कार्यालय रहेको) मा नै बस्ने गर्नुहुन्थ्यो ।
केशरशमशेर निकै सौखिन मिजासका । जीवन ऐयासपूर्ण नै रह्यो । बेलाबखत जुवा पनि खेल्नुपर्ने । जेठा दाइ मोहनशमशेरलाई हजुरिया जनरल र माहिला दाइ बबरशमशेरलाई पुलिसका तालुकवाला बनाइए पनि केशरशमशेरलाई कुनै जिम्मेवारी दिइएको थिएन (स्रोतः राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू) । सिंहदरबार गइरहनु नपर्ने भएकाले केशरमहलमै दिन बित्थ्यो ।
दरबारमा युरोपेली शैलीमा विभिन्न छ ऋतुसँग जोडेर भव्य बगैँचा निर्माण गर्न लगाइएको थियो– स्वप्न बगैँचा । जुवाको खालमा उतिबेला केशरशमशेरले एक लाख रुपियाँ दाउ पार्नुभयो । सिंहदरबारमा खेलिएको थियो त्यो जुवा । बेलाबखत जुवा फुक्ने परम्परा नै थियो । जनताका लागि पनि जुवा फुक्थ्यो । पञ्चक वा सिन्दूरजात्रा वा यस्तै अवसरमा जुवा फुक्ने चलन हुन्थ्यो । जनताका लागि जुवा फुकेका बखत काठमाडौँका बासिन्दाले रानीपोखरी आसपास जुवा खेल्थे ।
“बुबा (केशरशमशेर)ले भव्य बगैँचा निर्माण गर्ने इच्छा राख्नुभएछ । त्यो बगैँचा निर्माण गर्न एक लाख रुपियाँ कम्तीमा चाहिने देखियो । बुबाले हजुरबुबा (चन्द्रशमशेर)सँग इच्छा राख्नुभएछ । तर हजुरबुबाले नेपाली समाजको परिपेक्ष्यमा यति ठूलो लगानी गरेर बगैँचा बनाउनु ठिक होइन भन्नुभएछ । यसले सन्देश पनि राम्रो जान्न र सुहाउने कुरा पनि हुँदैन भन्ने भएछ”, केशरशमशेरका छोरा लोकभक्त राणाले भन्नुभयो, “हजुरबुबाले आफैँ कमाउ र बगैँचा बनाउ भन्नु भएछ । जुवा खेलेर कमाउनु पनि कमाएकै ठहर्छ । बुबाले एक लाख रुपियाँ जुवा खेलेरै कमाउनुभएछ । त्यही कमाइबाट स्वप्नबगैँचा तयार भयो ।” स्वप्नबगैँचाका डिजाइनर पनि किशोरनरसिंह र कुमारनरसिंह नै हुनुहुन्थ्यो । युरोपेली शैलीमा भव्य बगैँचा तयार भयो । केशरमहलले १९० रोपनी चर्चिएको थियो । भूभाग ठमेलसम्म थियो । बगैँचाभित्र पोखरी पनि थियो । कौडामा पाँच ठाडा भए पञ्जा दाउ मानिन्छ । पञ्जा दाउमा त्यतिका रकम जितेकाले पाँच ठाडा (कौडा) को आकृति बगैँचाको प्रवेशद्वारमाथि बनाइए । लक्ष्मीको पनि मूर्ति राखियो । “पहिले लक्ष्मीकै मूर्ति थियो त्यो, अब त त्यसको अनुहार ग्रिसको वारियरको जस्तो भइसक्यो” लोकभक्तले भन्नुभयो ।
हजुरबुबाले आफैँ कमाउ र बगैँचा बनाउ भन्नु भएछ । जुवा खेलेर कमाउनु पनि कमाएकै ठहर्छ । बुबाले एक लाख रुपियाँ जुवा खेलेरै कमाउनु भएछ । त्यही कमाइबाट स्वप्नबगैँचा तयार भयो ।
हरेक मौसममा बिहान र साँझ बस्नका लागि बगैँचाभित्र छ किसिमका संरचना तयार गरिएका थिए । तीनवटा अहिले पनि सुरक्षित छन्, बाँकी तीन वटा त जमानामै मासिए । बगैँचा वरपरका तिनै संरचनामा मानिसहरूसँग भेट्ने, कुराकानी गर्ने, पत्रपत्रिका पढ्नेलगायतका दैनिकी केशरशमशेरको हुन्थ्यो । त्यहीँ पुगेर चियाको चुस्की लगाउने उनको बानी नै थियो ।
१९६४ साल चैत २५ गते चन्द्रशमशेरको नेतृत्वमा युरोप प्रस्थान गरेको टोली १९६५ साल भदौ १२ गते राजधानी फि¥यो । त्यो टोलीमा केशरशमशेर पनि सहभागी हुनुहुन्थ्यो । पुस्तकालय र सङ्ग्रहालय अवलोकन गर्ने क्रममा उनले पुस्तक र कलाका बारेमा जान्ने अवसर पाउनुभयो । केही पुस्तक खरिद गरेर ल्याउनुभयो । त्यहाँ बडेमानका पुस्तकालय र सङ्ग्रहालय देख्नुभयो । त्यहीँको प्रेरणाले उहाँले केशरमहलभित्र भव्य पुस्तकालय तयार पार्नुभयो– केशर पुस्तकालय । त्यो बेला सबैभन्दा विशाल निजी पुस्तकालय केशरशमशेरकै थियो । विदेशी लेखकका किताबले भरिभराउ थिए । विदेशी विद्वान् सिल्भा लेभी, हरप्रसाद शास्त्रीलगायतले यिनका पुस्तकालय प्रयोग गर्नुभएको थियो भने भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू, राष्ट्रपति डा. राजेन्द्रप्रसाद आदिले अवलोकन गर्नुभएको थियो । चित्रकलाको पनि उत्तिकै सौखिन हुनुहुन्थ्यो केशरशमशेर । त्यस बेलाका नामुद विदेशी कलाकारले तयार पारेका निकै महँगा चित्रकला उहाँले सङ्ग्रह गर्नुभयो । २०२१ सालमा निधन भएका केशरशमशेरको सम्पत्ति सरकारलाई २०२७ सालमा हस्तान्तरण गरियो । हस्तान्तरण गर्दा करिब २६ हजार पुस्तक थिए । लामो समयसम्म शिक्षा मन्त्रालय रहेको त्यो भवन अहिले पनि सोही मन्त्रालयको सम्पत्तिका रूपमा रहँदै आएको छ । केशरमहलमा राखिएका चित्रकला मात्र सरकारलाई हस्तान्तरण गरियो । त्यसबाहेक केशरशमशेरका छोराहरूका घरमा अझै पनि थुप्रै चित्रकला छन् जुन केशरशमशेरले सङ्ग्रह गर्नुभएको थियो । केशरमहलमा रहेका कतिपय चित्रकला चन्द्रशमशेरका पालाका पनि छन् । सम्भवतः कतिपय चित्रकला केशरशमशेरले अंशबण्डामा पनि पाएको हुनसक्छ । “हजुरमुमा (चन्द्रशमशेरकी जेठी पत्नी) परलोक भएपछि हजुरबुबा विक्षिप्तजस्तै हुनुभयो । त्यो पीडालाई भुलाउन उहाँ भारतको सिमलासम्म पुग्नुभयो । त्यहाँ उहाँले शारजहाँ मर्न लागेको बेलाको पेन्टिङ खरिद गर्नुभयो । त्यो पेन्टिङ पाकिस्तानी कलाकार अब्दुर रहमान चुघ्ताईले सन् १९२० तिर तयार गरेका रहेछन् । त्यो पनि केशरमहलमा छ” लोकभक्तले भन्नुभयो । केशरशमशेरले आफ्नी आमा (लोकभक्तकुमारी) को नाम नै आफ्ना छोरालाई राखिदिनुभयो ।
केशर पुस्तकालय सरकारलाई उपहार दिने इच्छा केशरशमशेरको थिएन । उहाँकी पत्नी कृष्णचन्द्रदेवी राणाको इच्छाले सरकारलाई हस्तान्तरण गरिएको थियो । “बुबा स्वर्गे हुनुभएपछि मुमाले बुबाको नाम राख्नुपर्छ र उहाँको सबैभन्दा प्रिय कुरा नै पुस्तकालय भएकाले त्यो सरकारलाई दिएर नाम राख्न सकिन्छ भन्नुभयो । त्यसैले मुमाको इच्छाअनुरूप सरकारलाई हस्तान्तरण गरिएको थियो” लोकभक्तले स्मरण गर्नुभयो ।
हजुरमुमा (चन्द्रशमशेरकी जेठी पत्नी) परलोक भएपछि हजुरबुबा विक्षिप्तजस्तै हुनुभयो । त्यो पीडालाई भुलाउन उहाँ भारतको सिमलासम्म पुग्नुभयो । त्यहाँ उहाँले शारजहाँ मर्न लागेको बेलाको पेन्टिङ खरिद गर्नुभयो । त्यो पेन्टिङ पाकिस्तानी कलाकार चुघ्ताईले सन् १९२० तिर तयार गरेका रहेछन् ।
सरकारलाई हस्तान्तरण गर्नुअघि पुस्तकालय खरिद गर्न अमेरिकीहरू निकै आएका थिए । पटक पटक आइरहन्थे । त्यो बेला १० लाख अमेरिकी डलरको प्रस्ताव गरेका थिए । जबकी केशरशमशेरका परिवारले बिक्रीको प्रसङ्ग नै उठाएका थिएनन् । विदेशीको सबै प्रस्ताव अस्वीकार गरिए । लोकभक्त राणाको अनुमानमा अमेरिकीहरूको मुख्य ध्यान हस्तलिखित ग्रन्थप्रति थियो । त्यहाँ रहेका अङ्ग्रेजी किताब अमेरिकीका लागि खासै अर्थ राख्दैन थियो । एक हजार वर्षभन्दा अघिका हस्तलिखित ग्रन्थ नै विदेशीका लागि महत्वपूर्ण हुन्थ्यो ।
जर्मनीको सहयोगमा माइक्रोफिल्म तयार गर्दा ४७ थान हस्तलिखित ग्रन्थ वीर पुस्तकालयमा लगिएको थियो । तिनलाई फर्काइएन । त्यस बेलाका पुस्तकालय प्रमुख शङ्करले हस्ताक्षर गरी माइक्रोफिल्म तयार गर्नका लागि दिइएको कुरा काशीनाथ तमोटले त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको पुस्तकमा उल्लेख छ । ती माइक्रोफिल्म राष्ट्रिय अभिलेखालयमा अझै पनि सुरक्षित छन् । वीर पुस्तकालयका सामग्री पुरातìव विभागमा ल्याइएको थियो । केशर पुस्तकालयको त्यो सम्पत्ति अझै पनि फिर्ता आएको छैन । २०१६ साल मङ्सिर १५ गते गोरखापत्रमा सत्यमोहन जोशीको वीर पुस्तकालयसम्बन्धी लेख छापिएको थियो र त्यसमा वीर पुस्तकालयलाई भीमशमशेर, केशरशमशेर, सुवर्णशमशेर आदिले पुस्तक दिएको उल्लेख गरिएको छ ।
०००
२०७२ सालको भूकम्पले केशरमहललाई पनि नराम्रोसँग क्षति तुल्यायो । यतिबेला पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुनर्निर्माण कार्यमा संलग्न इन्जिनियरहरू सुनाउँछन्– शिक्षा मन्त्रालयमा रहेकाहरूले जतनका साथ भवन प्रयोग गरेको देखिएन । सुरुदेखि नै समयसमयमा मर्मत कार्य गरेको भए यतिविघ्न क्षति हुने थिएन ।
पुनर्निर्माणका क्रममा केशरमहलका भित्ताबाहेक लगभग सबै फेरिएका छन् । केशरमहलका भित्तामा झुन्डिएका चित्रकला र तस्बिरमा कसैको ध्यान पुग्दै पुगेन । चित्रकलाका रङ चिराचिरा परिसकेका थिए । चिस्यानले रङ खस्न थालिसकेका थिए । तस्बिर क्रमशः धूमिल हुँदै गइसकेका थिए । धातु र काष्ठ कला सग्लो अवस्थामा थिएनन् । ओखेटोपहार पनि सद्दे थिएनन् । केशरमहलको कला संरक्षणको जिम्मा पाउनुभएका रमेश चित्रकारले भन्नुभयो, “संरक्षण गर्न एक वर्ष मात्र अझै ढिला भएको भए धेरैवटा महत्वपूर्ण पेटिङ फ्याल्नुपर्ने अवस्था हुन्थ्यो ।”
केशरमहल पुनर्निर्माणका क्रममा चित्रकाल, तस्बिरलगायतका सामग्री संरक्षणको जिम्मेवारी रमेश चित्रकारलाई दिइयो । कला विषयका स्नातकोत्तर उहाँका जुम्ल्याहा छोरीहरू श्रीया चित्रकार र श्रीती चित्रकारले बाबुलाई सघाउँदै आउनुभएको छ । केशरमहलको सामुन्ने निर्माण गरिएको अस्थायी टहरोमा संरक्षण कार्य सम्पन्न गरिएको छ । केशरमहलको पुनर्निर्माण कार्य सम्पन्न भए लगत्तै चित्रकला र तस्बिर साबिकको स्थानमा दुरुस्त झुन्डिएको देख्न पाइनेछ । केशरमहलमा विदेशी चित्रकला धेरै छ । विश्वप्रसिद्ध चित्रकार फ्रेड्रिक थोमस डस (सन् १८७९–१९४९) ले तयार पारेका चित्रकला नाजुक अवस्थामा थिए । “पानी र ओसले थुप्रै चित्रकलाका रङ उप्किएका थिए” संरक्षणविद् चित्रकारले भन्नुभयो, “उपचार गरेर जस्ताको तस्तै बनाउन सफल भएका छौँ । वास्तविक चित्रकलालाई बिगारिएको छैन । विश्वमै नपाइने यी चित्रकलालाई सुरक्षित राख्न नसकिएको भए ठूलो सम्पत्ति गुमाउनुपर्ने हुन्थ्यो ।” नेपाली नामुद कलाकार बालकृष्ण सम, लैनसिंह वाङ्देललगायतले तयार परेका चित्रकलालाई पनि अब साबिककै अवस्था प्रदान गरिएको छ ।
चित्रकला र तस्बिरमा प्रयोग भएका काठका फ्रेम प्रायः काम लाग्ने अवस्थामा थिएनन् । मक्किएका, कीराले खाएका अवस्था थियो । संरक्षण कार्यमा संलग्न कलाकार श्रीया चित्रकारले चित्रकला र तस्बिर केशरमहलका भित्तामा झुन्ड्याइएपछि संरक्षण कार्य नगरिएको बताउँदै भन्नुभयो, “सबैको निश्चित आयु हुन्छ र त्यसलाई दीर्घकालसम्म सुरक्षित राख्न नियमित रूपमा सम्भार गर्नुपर्छ तर वास्ता गरिएको देखिएन । पेन्टिङलाई जोगाउन हरेक पाँच वर्षमा सम्भार गर्नैपर्छ ।”
संरक्षण कार्य गर्न चार महिना लागेको छ । दैनिक झन्डै १२ घण्टा नियमित रूपमा लाग्दा छिटो काम सकिएको हो । संरक्षणकर्ता श्रीती चित्रकारले केशरमहलमा रहेका कलासम्बन्धी जम्मा ३८५ वटा वस्तुको संरक्षण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार करिब १५० वटा चित्रकला छन् । तस्बिर करिब एक सयवटा, वन्यजन्तुका टाउको, छालालगायत गरी ५० वटालाई उपचार गरिएको छ ।
यहाँका कतिपय चित्रकला चित्रकारका लागि अध्ययन गर्ने माध्यमसमेत हुनसक्छ । संरक्षणकार्यका परामर्शदाता प्रकाश दर्नालले पुस्तकालय र सङ्ग्रहालयको अनुपम मिश्रण केशरमहलमा देख्न सकिने बताउनुभयो । “निकै स्तरीय विदेशी पेन्टिङ छन् । यी पेन्टिङका बारेमा विदेशीसमेत आएर अध्ययन गर्न सक्छन् । निकै मेहनेतका साथ संरक्षण कार्य सकिएको छ । अब नियमित रूपमा सम्भार र मर्मत गर्नैपर्छ” उहाँले भन्नुभयो । केशरमहलको पुनर्निर्माण कार्यमा संलग्न परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर आकाशकुमार शाहले केशरमहलभित्रका कलाको संरक्षण गर्न करिब एक करोड रुपियाँ खर्च गरिएको जानकारी दिनुभयो ।