• १० मंसिर २०८१, सोमबार

अस्पतालको मन्दिर

blog

नीलो आकाश सबैका लागि एउटै हो तर त्यसका पछाडि लुकेका विश्वास सबैका भिन्दाभिन्दै र निजी हुन् । जति जति माथि उड्यो आकाश उति उति पर भाग्छ, मरुभूमिको तलाउझैँ । यो कस्तो दृष्टिभ्रम हो ? न बतासले उडाउने, न घामले पगाल्ने ?

एउटा निकै ठूलो अस्पताल, भवन पनि ठूलो, नाउँ पनि ठूलो; त्यही अस्पतालको आकस्मिक कक्ष बाहिर आँगन भनौँ कि दलान भनौँ, त्यहीँनेर म उदास भएर बसिरहेको थिएँ । मेरो यताउति बसेका अपरिचितको मुहार पनि मेरोजस्तै लाग्थ्यो; केही कम, केही बेसी । खडेरीले सेकेका फूलझैँ, तेजोहरण गरिएका विवश अनुहार । अस्पताल भनेकै यस्तै ठाउँ हो, रमणीय कसरी होस् ? सेतो एप्रोन लगाएका जो कोही सामुन्ने आउँदा मनमा ठूलो आशा पलाउँथ्यो– सायद केही गतिलो समाचार सुनाउने छन् । तिनै सेतो एप्रोनधारीमाथि मन अडिएको थियो । केही पर, झन्डै परिधिनेर एउटा सानो मन्दिर थियो । 

मन्दिरमा परमेश्वर–परमेश्वरी बस्छन्, देउता–देउती बस्छन्, भगवान्–भगवती बस्छन्, आराध्यदेव, इष्टदेवी बस्छन् । मेरा लागि त त्यहाँभित्र आस्था र अन्तिम भरोसा बस्छन्, बाँकी सबै पर्यायवाची नाम हुन् । सबै भरोसाहरू मेटिएपछि बाँकी रहेको भरोसालाई म भगवान् भन्ने गर्छु । जसको अन्तिम भरोसा पनि मेटिन्छ, उसले भगवान्को औचित्य र अस्तित्वमाथि नै प्रश्नवाचक चिह्न लगाउँछ । 

भगवान्को परिकल्पनाकार पनि कति चतुर बुद्धिको रहेछ ? युगौँदेखि मनुष्यलाई भगवान्को बहसमा अल्झाइदियो– आस्तिक या नास्तिक ? शाश्वत कि क्षणिक ? लौकिक कि अलौकिक ? यस्तै–यस्तै । संसारभरिका मनुष्य आ–आफ्ना भगवान्को पक्षमा पैरवी गर्न व्यस्त छन् ।

अस्पतालको यति विशाल परिसरभित्र कति साँघुरो मन्दिर ? दुःखीलाई हातपाउ पसारेर शरण पर्न पनि मुस्किल । मन्दिर भनेको मन रैछ कि ? खाँचोअनुसार जतिसुकै फराकिलो पनि पार्न सकिने ? हुन त हाम्रा भगवान् पनि अति बुझकी छन् नि ! यो साँघुरो काठमाडौँमा पाहुना आउने भए भगवान् नै आएको जाती । अरूलाई त सेवा सत्कार पु¥याउनै सकस । भगवान्लाई भने एउटा कुइनेटोमा दुइटा ढुङ्गामा अबिर दलेर यहीँ बस्नोस् है ? भन्यो हुन्छ भन्छन् । देवल, सत्तल जहाँजहाँ आसन बिछ्याइदियो, त्यहीँ बस्छन् । पीपलको फेदमा, देउरालीमा, पानीको मुहान् वरिपरि, जहाँनेर आफूलाई सुविधा हुन्छ, त्यहीँ थोरै फूलअक्षता छर्किदियो, ध्वजा झुन्ड्याइदियो, खुरुक्क बसिदिन्छन् । सन्तोकी छन् । एक आचमनी जल भए स्नान गर्न पुग्छ, मेलम्चीको आश गर्नुपर्दैन । चिया–कफीमा आशक्ति छैन, पिउनलाई एक चम्चा पञ्चामृत भए पुग्छ । अल्पहारी छन्– थोरै सक्खर, एउटा फल, सूक्ष्म आकारको लड्डु (भगवान्लाई चढाउने भनेपछि हलुवाइले छुट्टै स्वरूप र आकारको सानो लड्डु दिन्छन्), अलिकति मिष्ठान्न, दुइटा बदामका गेडा वा नरिवलको सानो टुक्रा, जे भए पनि तृप्त भइदिन्छन् । सामाजिक सञ्जाल पनि चलाउँदैनन् । न फेसबुक अकाउन्ट छ, न त ट्विट् गर्ने चलन नै छ । वाइफाईको पासवर्ड पनि चाहिन्न । बस्, भक्तको पुकार सुन्ने नेटवर्क भए पुग्यो ।

भगवान्हरू त्रिलोकमै अधिकतम प्रजातान्त्रिक चरित्रका हुन्छन् । ब्रह्मा, विष्णु, महेश तीनैजनाले शक्ति सन्तुलन र शक्ति पृथकीकरणप्रति रत्तिभर बलमिच्याइँ गर्दैनन् । यिनका सभामुख संसद् चलाउन सिपालु रहेछन् क्यारे ? कहिल्यै संसद् अवरुद्ध भएको समाचार सुनिँदैन । यिनीहरूको कानुन कत्तिको समतामूलक र समावेशी होला ? यो पृथ्वीतलमा जतिसुकै आन्दोलन गरे पनि पुरुषवादी चिन्तन र हैकम मत्र्यलोकभरि दुबोझैँ फैलिइरह्यो तर स्वर्गलोक महिलाप्रति धेरै उदार छ जस्तो छ । सीताराम, राधेकृष्ण, गौरीशङ्कर, लक्ष्मीनारायण, उमामहेश्वर, लौ हेर्नोस् त महिलालाई अग्रस्थान ! रम्भा, उर्वशी, मेनका, तिलोत्तमाहरूले ‘मिस हेभेन’को ताज जितेको हुनुपर्छ । यिनको बयान कलियुगले पनि गाइरहेछ ।

अस्पतालभित्र मन्दिर किन ? विज्ञान र विश्वासको साइनो कति गाढा छ ? कि भगवान्ले पनि भक्तजनका लागि यतै आएर सम्पर्क कार्यालय खोलेका हुन् ? जमानाअनुसार सेवाग्राहीलाई सुविधा बनाइदिऊँ भनेर होला । मैले धेरै डाक्टरले भनेको सुनेको छु– अब चमत्कार भयो भने मात्रै हो; भगवान्को प्रार्थना गर्नोस् ।

मेरो एउटा मिल्ने साथीको नाम थियो– भगवान् । तर ऊ मात्रै मेरो मिल्ने साथी थियो । मिल्ने साथीका धेरै आनीबानी थाहा पाइन्छ । ऊ पढ्नमा सधैँ एउटा शून्यले मात्रै अगाडि । मैले दस ल्याउँदा ऊ सय ल्याउँथ्यो । यो शून्य पनि राजनीतिमा खुत्रुके दलको नेताजस्तै हो– एक्लै हुँदा अर्थ न बर्थ, अरू अङ्कको पछाडि टाँसिदा मालामाल । मेरो साथी भगवान्– आफ्ना आमाबाबाहेक सबैलाई फगत् मान्छे ठान्थ्यो । आमाबाभन्दा पनि कोही अरू ठूलो हुन्छ र ? भगवान्लाई त उसले झन् कहिल्यै पत्याएन । आफ्नै नामप्रति उसलाई हाँसो उठ्थ्यो । ज्ञान र विज्ञानको उपासक थियो, प्रकृति नै सृष्टि र संहारकर्ता हो भन्ठान्थ्यो ऊ । भगवान्का मूर्तिहरूको सामुन्ने पर्दा कहिल्यै शिर झुकाएन, हात जोडेन । ऊ भगवान्लाई सामाजिक दस्ताबेजभित्रको छद्म नायक ठान्थ्यो ।

व्यवहारमा अंकुश लगाउन सकिएला तर विचार र विश्वासमा कहिल्यै अंकुश लगाउन सकिन्न । समय छिप्पिँदै जाँदा भगवान्ले आफ्नी आमालाई गुमायो, फेरि बालाई पनि । उसले यो विछोडलाई सृष्टिको नियम ठानेर सजिलै सहन ग¥यो । संसारमा सबैथोक अविनाशी छैनन्, अजेय छैनन् । मृत्यु अवश्यम्भावी हो भनेर मन बुझायो । भगवान्ले टिलिक्क टल्कने, टोल–छिमेकमा कसैको नभएको मोडेलको नयाँ मोटरसाइकल किन्यो । फुरुङ्ग भयो भगवान् । 

एउटा ठूलै रहर पूरा ग¥यो । रहरले नै वास्तवमा लक्ष्य निर्धारण गर्छ । सबैले भने– नयाँ साधन हो, पूजा गरेर मात्रै चढ्नू । जहाँ जोखिम धेरै हुन्छ, त्यहीँ भगवान्को आराधना बढी हुन्छ । पत्नीले पनि त्यसै भनी– पूजा गरेर मात्रै चढौँ । बिन्ती गरी । ‘फलामको मेसिनलाई पनि पूजा गर्ने ? यो त निर्जीव वस्तु हो । पूजा गरेर हुन्छ के ?’ भगवान्ले कसैलाई टेरेन । डरपोक र लालची भगवान्का बढी भक्त हुन्छन् । यो उसको भनाइ हो ।

मानिसले आफ्नो इच्छा प्राप्तिका लागि के गर्दैन ? सकेजति सबैथोक गर्छ । ज्योतिषीलाई भाग्य जचाउँछ; प्रत्येक शनिबार पीपलको फेदमा जल चढाउँछ; रुद्री, ग्रहजाप लगाउँछ; देवीदेउता भाकल गर्छ; धामीझाँक्रीका शरणमा पुग्छ; भूतप्रेत, डाकिनीसाकिनी भगाउँछ; घाँटीमा बुटी झुन्ड्याउँछ । निराशाको पराकाष्ठा पनि यही हो । 

यस्तै, निराशाको पराकाष्ठासम्म पुगेर फर्किएकी थिई भगवान्की पत्नी काखमा पुत्र प्राप्त गरेर, वैवाहिक जीवनको झन्डै एक दशकपछि । लोकपति भगवान्लाई रिझाउन घरपति भगवान्का सिद्धान्तसँग सङ्ग्राम गरेकी थिई उसले– सन्तान प्राप्तिका लागि । नारीको दृढताका अगाडि सबै शक्ति परास्त हुन्छन् । समय आफैँमा एउटा आयाम हो । यसले अरूलाई परिवर्तन गर्छ तर आफूले आफ्नो गतिलाई कहिल्यै घटीबढी गर्दैन । समय अरूका लागि खराब हुन सक्छ, आफ्ना लागि एकैनासको हुन्छ । त्यस दिन समय भगवान्का लागि प्रतिकूल थियो । 

भगवान्ले मोटरसाइकल पछाडि पत्नीलाई राख्यो, अगाडि आँखाको नानीजत्तिकै प्यारो बालक छोरालाई । अनि उनीहरू बताससँग कुरा गर्न थाले । सडकको छेउछाउका बोटबिरुवा, बिजुलीका खाँबाहरू उल्टो दिशामा दौडिरहेका थिए । सररर सडकमा तीनवटा मन रमाउँदै गुडिरहेका थिए । कहिलेकाहीँ हर्न बजाएरै दुर्भाग्य आइपुग्दोरहेछ । भगवान्ले त्यो क्षण टार्न सकेन । सुकेका पत्कर भए हावामा उडेर बिस्तारै–बिस्तारै भुइँमा ओर्लिन्थे, मान्छे त उचाइबाट सोझै बज्रन्छ । सडकभरि छरियो भगवान्को परिवार । बिचरा बालक ! बज्र सहन सकेन र बिदा लियो । पत्नी शिरमा प्रहार सहन नसकेर होसमा फर्किन सकिन । अस्पतालको शøयामा भगवान्को बचेखुचेको मुटु बल्लतल्ल सास फेर्दै थियो ।

अब पालो छरछिमेकी र आफन्तजनको । भगवान् आफ्नो असावधानीप्रति ग्लानि गरेर जिउँदै चितामा जलिरहेको थियो । ऊ आफैँलाई माफी दिन सकिरहेको थिएन । तर, छरछिमेकी र आफन्तजन उसको असावधानीलाई भन्दा पनि देवताप्रतिको उसको अनादर भावलाई कारण बनाएर उसको घाउलाई झन् उग्र बनाइरहेका थिए । कसैले सहानुभूतिका एक वाक्य बोलेनन् । कठै भन्ने कोही भएनन् । मानौँ अस्पतालभरिका मानिस उसका विरुद्ध नारा लागाइरहेका छन् ।

टुट्यो भगवान्, अब कहिल्यै नजोडिएलाझैँ गरी टुट्यो । सास नै रोकिएझैँ भयो । विवेकशून्य भयो, चेत हराएझैँ भयो । आफ्नै जीउ पृथ्वीझैँ गह्रुँगो भयो । उसलाई धर्ती फनफनी घुमेझैँ लाग्यो । शिर अडाउने काँध पाएन । जसोतसो गरेर त्यही मन्दिरनेर पुग्यो, पेटीमा थ्याच्च बस्यो र फेरि भुइँमा पसारिएर क्वाँक्वाँ गरी रोयो, छाती पिट्यो, टाउको बजा¥यो, मुड्कीले भित्ता ठटायो, आँसुको भेल बगायो तर पीडा बगेन । परिवार सम्झेर घरीघरी भक्कानिँदै मुर्छा प¥यो । धेरैबेरपछि जुरुक्क उठ्यो, एकचोटि ढोकाभित्रका ढुङ्गाका देवतातिर शिर घुमाएर बगर बन्न नसकेका आँखा उघार्दै भन्यो– हे भगवान् ! मेरो त जीवन रित्तियो, सबै सकियो ।

निकै हप्तापछि भगवान् उसकी पत्नीसँगै देखियो । ऊ निको भएर उस्तैउस्तै भइछ । हाँस्न नसके पनि बाँच्न सक्ने भइछ । नहाँसी कसरी बाँच्नू ? भगवान्ले जानोस् । थाहा छैन– मेरो साथीले डाक्टरलाई देउता ठान्यो कि देउतालाई डाक्टर ? ठूलो अस्पतालको एउटा किनारमा सानो मन्दिर थियो ।