• ३० वैशाख २०८१, आइतबार

रमणीय निग्रोधराम

blog

कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारदेखि करिब दुई किलोमिटर दक्षिणमा रहेको छ– प्राचीन कुदान वा निग्रोधराम । यो स्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि रमणीय स्थल बन्दै आएको छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक कपिलवस्तु आउँदा यही स्थलमा पिता शुद्धोदनसँग भेट भएको थियो । यो भेट सात वर्षपछि भएको थियो । 

गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि विभिन्न ठाउँमा ज्ञानको प्रचार गर्दै हिँडे । यस क्रममा बाबु शुद्धोदनले आमन्त्रण गरेको हुँदा बुद्ध कुदानमा आएका थिए । राजा शुद्धोदनले जब बुद्धलाई भेटे, तब हर्षले शुद्धोदनको आँखाबाट आँसुका धारा बगे । गौतम बुद्धले भने प्रेमले भरिएको दृष्टिले आफ्ना पिता शुद्धोदनलाई एक टकले हेरिरहे । राजाले बुझिसकेका थिए– सिद्धार्थ अब युवराज होइनन्, एक सम्मानित आध्यात्मिक गुरु हुन् । उनी सिद्धार्थलाई अँगालोमा बेर्न चाहन्थे तर त्यस्तो गर्नु उनलाई उपयुक्त लागेन । त्यसको सट्टा हात जोडेर छोरासमक्ष नमन गरे जसरी राजाले कुनै उच्च धर्माचार्यलाई अभिनन्दन गर्दछन् । त्यतिबेला गौतम बुद्ध निकै नै भावुक भएका थिए । कपिलवस्तु आगमनका क्रममा बुद्धका प्रवचन सुनेर कपिलवस्तुका पाँच सय जना शाक्य पुत्र गृह त्याग गरी भिक्षु बनेका थिए । 


यो स्थलमा बुद्ध र बुद्धका भिक्षुलाई बस्ने विहार राजा शुद्धोदनले निर्माण गरेका थिए । केही विद्वान्ले यस स्थललाई क्षमावती नामिक नगर क्रकछन्द बुद्धको सहरका रूपमा पनि परिचय दिएका छन् । 

कुदानको सर्वप्रथम उत्खनन जर्मनका डा. फुहररले गरेका थिए भने पी सी मुखर्जी र एस.वी. देवले पनि उत्खनन कार्यलाई अगाडि बढाएका थिए । उत्खननको समयमा फेला परेका प्राचीन इँटा अझै पनि देख्न सकिन्छ । कुदानमा चारवटा स्तूपजस्तो ढिस्का रहेका छन् । एउटा स्तूपमाथि शिवलिङ्गका साथै सानो शिखरशैलीको मन्दिरसमेत रहेको छ । स्थानीयवासीका अनुसार यस मन्दिरभित्र समय–समयमा नाग बसिरहेको देखिन्छ । प्रवेशद्वारबाट भित्र पस्नेबित्तिकै दायाँतर्फ बगैँचाको नजिक सुन्दर ऐतिहासिक ताल रहेको छ; जहाँ मौसमअनुसार कमल फुल्ने गर्छ ।