गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १७ गते । निर्वाचन आयोगले गत असोज २८ गतेदेखि सञ्चालन गरेको कल सेन्टरमा बिहीबारसम्म दुई हजार ३९८ वटा जिज्ञासा आएका छन् । आएका सबै जिज्ञासाको समाधान भएको कल सेन्टरका प्रमुख कमल भट्टाराईले जानकारी दिनुभयाे।
आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको हाे । निःशुल्क रहेको टोल फ्रि नं. ११०२ नम्बरमा जुनसुकै दूरसञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा ल्याएको छ । उहाँले भन्नुभयो, “सेवाका लागि छ जना कर्मचारी २४ घण्टा सेन्टरमा खटिएका छन् ।”
उहाँका अनुसार कल सेन्टर २४ घण्टा नै सञ्चालनमा छ । यसका लागि बिहान ९ देखि साँझ ७ बजेसम्म कर्मचारी रहने गरेका छन् । कर्मचारी नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वतः रेकर्ड हुने व्यवस्था छ । उक्त रेकर्डेड प्रश्नलाई पछि कर्मचारीहरुले सुनेर सम्बन्धित व्यक्तिको उत्तर दिने व्यवस्था छ । उहाँले भन्नुभयो, “कल सेन्टरका कर्मचारीले प्रश्नकर्ताको उत्तर दिने गर्छन्, आफू नसक्ने प्रश्नका लागि सम्बन्धित विभागमा पठाउँछन् ।”
कल सेन्टरमा आउने जिज्ञासा निर्वाचनसँग सम्बन्धित हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय तह गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिले दलको चुनाव प्रचार–प्रसार गर्न पाउँछन् कि पाउँदैनन् ? कार्यपालिकाको निर्णयअनुसार करारमा कार्यरत कर्मचारीले के गर्न मिल्छ ?
यस्तै, मिडियालाई अनुगमन गर्न सेना र प्रहरी प्रयोगमा छन् कि ? वास्तविक मतपत्रको नमुना कहिले आउँछ ? निर्वाचनमा मतपत्र कस्तो हुन्छ ? कसरी मत दिने हो ? नामावली कसरी हेर्ने ? मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न पाइन्छ ? नमुना मतदानका लागि मतपेटिका उपलब्ध गराइन्छ ? के गर्दा आचारसंहिता विपरीत हन्छ ? पत्रकारले मतदान केन्द्रमा स्थलगत रिपोर्टिङ गर्न कसको अनुमति लिनुपर्छ ? जस्ता जिज्ञासा छन् ।