• १३ साउन २०८१, आइतबार

गठबन्धन दलबीच नै चुनावी प्रतिस्पर्धा

blog

तस्बिरहरु – शिवप्रसाद उपाध्याय, मोहनसिंह बडुवाल, हस्तबहादुर शाही, विश्वराज बम।

नवीन सुवेदी 

सुर्खेत, कात्तिक  १५ गते । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबीच गठबन्धन भए पनि समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा वा प्रदेशसभामा भाग खोजेको समाजवादीले भाग नपाएपछि उम्मेदवार अगाडि सारेको हो ।

कर्णालीमा समाजवादीले १२ प्रतिनिधिसभामध्ये तीन क्षेत्र सल्यान, डोल्पा र दैलेख–१ र प्रदेशसभातर्फ २४ मध्ये दुई क्षेत्र मुगु (क) र जुम्ला (ख) पाएको छ । भागबण्डामा नपरेपछि असन्तुष्टि जनाउँदै पार्टीको जनमतका आधारमा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका छन् । प्रदेशका केही प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन दलहरुभित्रै चुनावी प्रतिस्पर्धा हुने भएको छ । 

सुर्खेतका चार प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा नेकपा समाजवादीका उम्मेदवार उठाएको छ । सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) र (ख) मा समाजवादीका नेताहरुले दलबाट आधिकारिक टिकट लिएर चुनावी प्रचारमा लागेका छन् । भागबण्डामा यो निर्वाचन क्षेत्रमा प्रदेशसभा २ (क) नेपाली काँग्रेस र (ख) नेकपा माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनका तर्फबाट (क) मा काँग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बन्नुभएको छ । 

नेकपा समाजवादीले (क) मा शिवप्रसाद उपाध्याय र (ख) मा मोहनसिंह बडुवाललाई गठबन्धनविरुद्ध उम्मेदवार बनाएको छ । सुर्खेतमा जनमतको कदर गर्दै दलबाट छुट्टै उम्मेदवारी परेको नेकपा (एस) सुर्खेका अध्यक्ष मोहनसिंह बडुवालले बताउनुभयो । गठबन्धनको निर्णय एकातिर छ, हामीसँग जनताको साथ छ,’ उहाँले भन्नुभयोे, हामीले पार्टीलाई निर्णय गरी पठाएपछि उताबाट लड्नुस् भनेर आधिकारिक टिकट आएपछि उम्मेदवारी दिएका हौं । उता कालीकोटमा पनि गठबन्धनविरुद्ध उम्मेदवारी परेको छ ।

भागबण्डा अनुसार प्रदेशसभा (क) मा माओवादीका दुर्गबहादुर रावत र प्रदेशसभा (ख) मा काँग्रेसका हिक्मतबहादुर विष्ट गठबन्धनका आधिकारिक उम्मेदवार हुनुहुन्छ । यो निर्वाचन क्षेत्रमा नेकपा समाजवादीबाट विश्वराज बमले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनुभएको छ । हुम्लामा पनि नेकपा (एस) बाट गठबन्धनविरुद्ध उम्मेदवारी परेको छ । हुम्लाको (क) मा माओवादी र (ख) मा कांग्रेसले पाउनेगरी गठबन्धनमा सहमति भएको थियो । प्रदेश (क) मा माओवादी केन्द्रका रनसिंह परियार गठबन्धन दलले उठाएका उम्मेदवार हुनुहुन्छ, भने, समाजवादीका हस्तबहादुर शाही परियारकाे प्रतिद्वन्द्वी बन्नुभएको छ ।

समाजवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका शाही गठबन्धन गर्न मुख्य भूमिका खेल्ने दलमाथि प्रहार भएपछि मित्रवत् प्रतिस्पर्धा गर्नुपरेको बताउनुभयो । ‘राजनीतिक फाटो आएको समयमा गठबन्धनको बीजारोपण गराउने हाम्रो दललाई नै पाखा लगाउने काम भएपछि यो अवस्था आएको हो,’ उहाँले भन्नुभयो, ‘हामीले यहाँ पार्टीको जनमतको आधारमा निर्णय गरी पठाएपछि दलले हामीलाई चुनाव लड्न सहमति दिएको हो ।’ हुम्ला (ख) मा नेपाली कांग्रेसले हालका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई गठबन्धनबाट उम्मेदवार बनाएको छ ।