• ११ मंसिर २०८१, मङ्गलबार

साझा पर्व छठ

blog

हिन्दुहरूको महान् चाड छठ पर्वको विशेष महत्त्व छ। तराईबाट सुरु भएको शताब्दीयौँदेखि मनाइँदै आएको यो पर्वको विशेषता खासमा सूर्य उपासना हो। हिन्दु धर्मावलम्बीले प्राचीनकालदेखि नै सूर्य उपासनाको व्रत गर्दै आएका छन्। वैदिक साहित्यमा सूर्य उपासनाको विशद वर्णन गरिएको छ। ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ, त्यहाँ भनिएको छ, ‘सूर्य आत्मा जगतस्य, स्थुपश्च।’ अथर्ववेदमा त सूर्यलाई ब्रह्मको साकार रूप नै मानिएको छ। ‘ॐ आशाव्यदिव्यौ ब्रह्म,’ त्यस्तै सूर्यलाई भगवान् भनिएको छ– ‘भग एवं भगवाँ अस्तु देवः सर्वो भगपुर एताभ मेव।’

महाभारतमा पनि सूर्यलाई सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ। सम्पूर्ण प्राणीको जीवन भगवान् सूर्यमाथि नै आधारित छ। सबै सृष्टि चक्रको सञ्चालक सूर्य नै हो। सूर्य उपनिषद्मा सूर्यलाई ब्रह्मा, विष्णु र रुद्र भनिएको छ। श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्ण स्वयं भन्नुहुन्छ– ‘चन्द्र, सूर्य र अग्निमा जुन तेजराप छ, त्यो म नै हुँ, त्यो मेरो स्वरूप हो।’ भगवान् श्रीकृष्ण लौकिक लीला समाप्त गरी अन्त्यमा सूर्यनारायणमा नै विलीन हुनुभयो। हिन्दु संस्कृतिमा वीणाक्षर ॐ को सूर्यसितको सम्बन्धबारे उल्लेख गरिएको छ– ॐ नै आदित्य सूर्य हो। यसै रूपमा आदित्यको ध्यान गर्न निर्देशन दिइएको छ। सूर्य र ॐ नै सूर्यको अवतरणको भावना श्रीमद्भागवतमा परिलक्षित हुन्छ, जुन दिव्य ज्योतिलाई ब्रह्म मानिएको छ– त्यो पनि सूर्य नै हो। 

ऋग्वेदमा सूर्यको उत्पत्ति विराट पुरुष भगवान्को नेत्रबाट भएको सन्दर्भ दिइएको छ, ‘चक्षोसूर्यो अजायत।’ ऋग्वेदको श्रुतिअनुसार विश्वको उत्पत्तिभन्दा पहिला सबै दिशामा अन्धकार व्याप्त थियो। त्यतिबेला सर्वशक्तिमान परमात्मा हिरण्य गर्भको आत्मप्रकाश उदय भयो। जसको प्रकाशको समान यस पृथ्वीमा कुनै प्रकाशपुञ्ज छैन। त्यसलाई सूर्यबाट सम्बोधन गर्न थालियो। 

ऐतरये ब्राह्मण उपनिषद्अनुसार हिरण्य गर्भरूप पुरुषको नेत्रबाट प्रकट भएको थियो। ब्राह्मण ग्रन्थमा सूर्यको उत्पत्ति विषयमा यसै भावनालाई वैज्ञानिक रूपमा प्रस्तुत गरिएको छ। त्यहाँ सूर्यलाई पार्थिव अन्तरिक्ष एवं दिव्य तीन अग्निको समष्टि रूपमा पिण्ड मानिएको छ। पिण्डको निर्माण सोम (अमृत)बिना हुन सक्दैन। अग्निमा सोमको आहुतिबाट सूर्यको उत्पत्ति भएको मानिन्छ।

हिन्दु साहित्यमा सूर्यसम्बन्धी धार्मिक तथा आध्यात्मिक आख्यान भेटिएका छन्। यसका अतिरिक्त वैज्ञानिक ज्योतिषि तथा चिकित्सकले सूर्य तìवबाट आफ्नो ज्ञान अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरे। संसारको सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छ। तिनको सत्ताबिना रुख बिरुवा उत्पन्न हुन सक्दैन। वायुको शोधन हुन सक्दैन। न जलको उत्पत्ति हुन सक्छ, न प्राणीहरू स्फूर्तिलो र चेतनशील हुन सक्छन्। यतिसम्म कि मानिस निरोगी रहन सक्दैन। सूर्यमा निहित प्रबल रोगनाशक शक्तिबाट प्रेरित भएर नै उनको प्रार्थना गरिएको छ। 

ऋग्वेदमा स्पष्ट रूपमा भनिएको छ– (आरोग्य भास्करादिच्छेन्मोक्षच्छे ज्जनार्दना तू) सूर्य किरणको चिकित्साबारे देश–विदेशका कैयौँ चिकित्सकद्वारा आश्चर्यजनक उपचार खोजिएको छ। सूर्य प्रकाश नै जीवन हो र अन्धकार नै मृत्यु हो। अथर्ववेदमा खुट्टा, जोर्नी, तिघ्रा, काँध, मस्तिष्क, कपाल तथा मुटुसम्बन्धी रोगको उपचार उदीयमान सूर्य किरणद्वारा निस्तेज गरिन्छ। सूर्यद्वारा चर्मरोगसम्बन्धी रोगको अचुक उपचार गरिन्छ। दुःसाध्य कुष्ठरोगबाट मुक्ति पाउन धेरै प्रयास गरिएको कैयौँ प्राचीन साहित्यमा उल्लेख छ।

साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापद्वारा भयङ्कर कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुनुभएको थियो। पुनः कञ्चन शरीर प्राप्त गर्नुभएको थियो। यो वृत्तान्त अन्य पुराणमा पनि उल्लेख भएको पाइन्छ। सातौँ शताब्दीमा उत्तरी भारतका हिन्दु सम्राट् हर्षवद्र्धनको दरबारी कवि वाण भट्टको सालो प्रसिद्ध कवि मयुर भट्टले आफ्नै पुत्रीको श्रापद्वारा कुष्ठपीडित भई सूर्यको उपासना गरी सुन्दर शरीर प्राप्त गर्नुभएको थियो। 

छठ पर्वको शुभारम्भ 

भनिन्छ, श्रापबाट पीडित प्रसिद्ध कवि मयुर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गर्नुभएको दिन (षष्ठी)देखि सूर्यको आराधना सुरु गर्नुभएको थियो। अर्काथरी विद्वान्हरूका अनुसार महाभारत कालमा द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्य देवताको अराधना गरेका थिए। त्यही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको हो। 

सूर्य पुराणमा वर्णन गरिएअनुसार सर्वप्रथम अग्नि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। आफ्नो अटल सौभाग्य र पतिको प्रेम प्राप्त होस् भन्ने उद्देश्यले उनले छठ व्रत लिएको भनाइ छ। त्यही दिनदेखि छठ पर्व मनाउन थालिएको हो। यसरी छठ पर्व मनाउनेबारे विभिन्न मत रहे पनि षष्ठीका दिन सूर्यको आराधना गरिएपछि धनधान्य, सौभाग्य, निरोगिता र सुस्वास्थ्य प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ। 

व्रतविधिमा महिलाको सहभागिता

यस पर्वको मुख्य हर्ताकर्ता महिला नै हुन्छिन्। सुरु चतुर्थीको खर्जा दिनदेखि षष्ठी र बिहानको सप्तमीसम्म महिलाकै प्रधान्यता रहन्छ। छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि नै विधिवत् सुरु हुन्छ। चतुर्थीका दिन व्रतालु महिला स्नान गरी शुद्ध शाकाहारी भोजन गरी गोवरले घरआँगन लिप–पोत गरी पवित्र बनाएर दिनभरि उपवास बस्छन्। साँझपख शुद्ध दूधमा खीर पकाई केरा, मिष्ठान फलफूल इत्यादि प्रसाद चन्द्रमालाई उत्सर्ग गरी व्रतालुले आफू पनि ग्रहण गर्दछिन्। यसलाई खर्ना भनिन्छ।

अन्तिम षष्ठी (छठ)का दिन शुद्ध गहुँको पीठोबाट विभिन्न गुलिया खाद्य पदार्थ ठकुवा, भुसुवा, खजुरी परुकियाका साथै केरा, सुन्तला, उखु, फलफूलसहित नाङ्लो वा डालोमा राखी निर्धारित जलाशय, पोखरी, नदी, तलाउ आदिमा गएर घाट बनाई त्यहाँ मन्त्रोच्चारण गरेर पूजा सामग्री राखी प्रणाम गर्छन्। त्यहाँ अघिदेखि नै सिन्दुर, पिठार, अष्टदलसहित अरिपन कोरिएको हुन्छ। यस पर्वका लागि तयार गरिएका प्रसाद, पकवान र फलफूल सतर्कतापूर्वक राखिन्। कुनै चरा चुरुङ्गीले जुठो नपारून् भनेर निगरानी गरिएको हुन्छ। शुद्ध, पवित्र र चोखो सामग्री सूर्य देवता र षष्ठी मातालाई चढाउनु प्रत्येक व्रतालुको अभीष्ट हुन्छ।

त्यसपछि व्रतालुले सन्ध्याकालीन (अस्ताउने बेला) सूर्यलाई अर्घ दिनका लागि जलाशयका पानीमा पसेर पश्चिम मुख फर्की अर्घ दिने गर्छन्। दुवै हत्केलामा डालोमा रहेको पूजा सामग्री सूर्य षष्ठीलाई अर्पण गरी अर्घ दिने गरिन्छ। ती विधि सम्पन्न गरी व्रतालु घर फर्किने गर्छन्। कति व्यक्तिहरू त त्यहीँ रातभरि जाग्राम बसी छठ परमेश्वरीका गीत गाएर रमाइलो गर्ने गर्छन्। पुनः बिहानै सूर्योदयभन्दा पहिले बिहानै उठी पूजास्थलमा गई पूजा सामग्री अर्पण गरी अर्घ दिने गरिन्छ। पर्व सकिएपछि घरमा फर्केर सूर्य पुराण श्रवण गर्ने गर्छन्। यसरी यस पर्वको समापन हुन्छ। 

यो पर्व तराई क्षेत्रमा मात्र मनाइँदै आएकोमा बिस्तारै काठमाडौँ उपत्यकालगायत पहाडमा पनि मनाउन लागिएको छ। यसले राष्ट्रिय एकतामा अभिवृद्धि भएको छ। खासगरी सबै हिन्दुले मनाउने पर्व हो। यो कुनै क्षेत्र र जातिविशेषको पर्व होइन। सबै समुदायको यो साझा पर्व हो।