• १९ असार २०८१, बुधबार

मिथिलाञ्चलमा छठको तयारी पूरा

blog

उदाउँदो सूर्यलाई पूजा गरी यो पर्व सम्पन्न हुन्छ । फाइल फाेटाे

नगेन्द्रकुमार कर्ण

महोत्तरी, कात्तिक १२ गते । मिथिलाञ्चलको महानपर्वको रूपमा चिनिएको छठ पर्वको तयारी पूरा भएको छ । चार दिवसीय यस पर्वको मुख्य आकर्षण अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्नु रहेको छ । यसको लागि पोखरी, तलाउ, नदीहरू सरसफाइ गरी ती स्थलहरूमा सजाइने काम पूरा भइसकेको देखिएको छ ।

चार दिवसीय यो पर्वको पहिलो दिन शुक्रबार अरबा अर्वाइन र नहाय खायबाट विधिवत् रूपमा छठ पर्वको सुरुवात भइसकेको छ । छुवाछुत मुक्त पर्वको रूपमा चिनिएको छठ पर्वमा शुक्रबार व्रतालुहरूले चोखो भई स्नान गरेर अर्वा अर्वाइन खाएका छन् । शुक्रबारबाटै व्रतालुहरूले चार दिनसम्मका लागि माछा, मासु, लसुन, प्याज समेत त्याग गरेर चोखो भएका हुन् । शुक्रबार पवित्र जलाशय, पोखरी, नदी, तलाउहरूमा स्नान गरी शुद्ध भएका छन् । 

कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सप्तमीको बिहानसम्म यो पर्व मनाइने गरिन्छ । शनिबार पञ्चमीको दिनलाई खरना भनिन्छ । खरनामा दिनभरि उपवास बसी साँझ नयाँ चुल्होमा प्रसाद बनाइन्छ । सो प्रसाद परिवारका सबै जना मिलेर खाने चलन रहेको छ । यस दिनलाई पापको क्षयको दिन भनेर पनि चिनिन्छ । 

त्यस्तै, तेस्रो दिन षष्ठी हुन्छ । जो छठ पर्वमा महत्त्वपूर्ण मानिन्छ । यो दिन ठकुवा, भुसुवालगायतका सामग्रीहरू बनाई पवित्र जलाशय, पोखरी, नदी, तलाउमा गएर अस्ताउँदो सूर्यको पूजा गरिन्छ भने चौथो दिन अर्थात् सप्तमीको दिन उदाउँदो सूर्यलाई पूजा गरी यो पर्व सम्पन्न हुन्छ । 

महोत्तरी जिल्लामा छठको तयारी पूरा भइसकेको छ । छठको पूजा गर्न महोत्तरीका हरेक पोखरी खोलाहरू सरसफाइसँगै सिँगारिएका छन् । 

मैथिली संस्कृतिमा मनाइने हरेक चाडपर्व मध्ये कार्तिक शुक्ल षष्ठीमा मनाइने छठ पर्वको आफ्नै विशेषता र महत्त्वका कारण महापर्व भनेर चिनिने गरिन्छ । यस पर्वलाई हिन्दुहरूको चाड भनिए पनि हरेक धर्मावलम्बी जातजातिहरूको उत्तिकै सहभागिता देखिने गरिन्छ ।