• १९ पुस २०८१, शुक्रबार

बुढीगण्डकी परियोजना निर्माण कार्य सुरु हुन्छ: माओवादी अध्यक्ष प्रचण्ड

blog

बुढीगण्डकी परियोजना निर्माण कार्य सुरु हुने माओवादी अध्यक्ष प्रचण्डकाे भनाइ

मुरारी अधिकारी

धादिङ, कात्तिक १२ गते । राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना समयमै निर्माण थाल्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । 

शुक्रबार साँझ धादिङको सल्यान्टारमा धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सत्ता गठबन्धनका अगुवा कार्यकर्ता प्रशिक्षणको क्रममा बोल्दै प्रचण्डले अब बुढीगण्डकी परियोजनाको काम सुरु गराउने बत्ताउनुभएको हो । 

उहाँले धादिङ र गोरखा आफ्नो सामीप्यता रहेको बताउँदै धादिङको विकास निर्माणको कार्यमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

अध्यक्ष प्रचण्डले बृहत् शान्ति सम्झौता भएकै दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हँसिया हतौडा र आफूले रुखमा छाप हाल्ने ढोका खोलेको बताउनुभयो । 

वाम लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरू विकाससँगै आर्थिक विकासका लागि प्रतिबद्ध रहेको पनि अध्यक्ष प्रचण्डको भनाइ थियो ।

लोकतान्त्रिक शक्ति र बाम गठबन्धनले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन जित्नै पर्ने बताउँदै गठबन्धनमा रहेका पाँचै दलबीच अत्यन्त राम्रो सम्बन्ध रहेको दाहालको भनाइ छ । प्राप्त उपलब्धिको रक्षा र आर्थिक उन्नतिका लागि गठबन्धन जरुरी रहेको प्रचण्डको भनाइ थियो । 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार एवम् नेपाली काँग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले यस क्षेत्रको समग्र विकासका लागि गठबन्धनको उम्मेदवार विजयी हुनुपर्ने बताउनु भयो ।

अधिकारीले आफू गठबन्धनको साझा उम्मेदवार भएकाले जनप्रतिनिधिका हिसाबले यस क्षेत्रमा गर्नुपर्ने जुनसुकै कामलाई आफू पूरा गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश २ का गठबन्धनका उम्मेदवार जगत् सिँखडा, नेपाली काँग्रेसका पूर्वसभापति एवम् जिल्लाको गठबन्धनका संयोजक रमेशप्रसाद धमला, नेका (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य गुरुप्रसाद बुर्लाकोटी, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारीलगायतले गठबन्धनको आवश्यकता र गठबन्धनप्रति प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।