• १२ साउन २०८१, शनिबार

विद्यार्थीलाई कृषिसम्बन्धी व्यावहारिक ज्ञान दिंदै विद्यालय

blog

तरकारी बारीबाट व्यावहारिक ज्ञान हासिल गर्दै विद्यार्थी । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, कात्तिक ७ गते । नेपालको शिक्षा व्यावहारिक हुन नसकेको सवत्र गुनासो भइरहेका बेला पाल्पाको एक विद्यालयले विद्यालयमा पढेको विषय व्यवहारमा लागू गर्न सकिने गरी व्यवस्थापन गरेको छ । 

जिल्ला सदरमुकाम तानसेनमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा बाली विज्ञान अध्ययन्रत विद्यार्थी व्यवहारिक रुपमै पठनपाठनमा सक्रिय भएका छन् । यहाँ कक्षा ९ देखि १२ कक्षासम्ममा अध्ययन्रत विद्यार्थीले कृषिसम्बन्धी  व्यावहारिक ज्ञान हासिल गर्दै आएका छन् । 

विद्यालयको १६ रोपनी जग्गामा यहाँ अध्ययन्रत बालबालिकाले मौसमी तथा बेमौसमी तरकारी खेती गरेर ज्ञान हासिल गर्नेगरेको विद्यालयका शिक्षकको भनाइ छ । मौसमअनुसार तरकारी बाली, खाद्यान्न बाली लगाउने गरेको विद्यालयका प्रधानाध्यापक विष्णु सिग्देलले बताउनुभयो । ‘यहाँ अध्ययन्रत बालबालिकाले आफ्नो रुचि र पाठ्यक्रममा तोकिएको विषयको अध्ययन व्यावहारिक रुपमा गर्छन्’ उहाँले भन्नुभयो ।

विद्यालयमा व्यावहारिक शिक्षा लिन पाउँदा विद्यार्थी समेत खुसी भएका छन् । बाली विज्ञान अध्ययन गरिरहेका बालबालिकाले तरकारी लगाएको बारीमा पुगेर हरेक दिन व्यावहारिक ज्ञान हासिल गर्नेगरेको विद्यार्थीहरू बताउँछन् । विद्यालयमा व्यावहारिक रुपमा ज्ञान तथा सीप हासिल गर्न पाउँदा खुसी लागेको कक्षा १२ मा बाली विज्ञान अध्ययन्रत छात्रा लक्ष्मी बरालले बताउनुभयो । 

यहाँ अध्ययनरत बालबालिकाले तरकारी बिक्री गरेर आम्दानी गर्नेगरेका छन् । वर्षमा तरकारी खेतीका लागि तीन चार लाख रुपियाँ लगानी हुनेगरेको र त्यसबाट आठदेखि नौ लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको विद्यालयले जनाएको छ । त्यसबाट विद्यार्थीहरु आफ्नो अध्ययन खर्च धान्नेगरेको बताउँछन् ।   

विद्यालयका विद्यार्थीले रोपेको तरकारी विद्यालयको छात्राबासमा बसेका विद्यार्थी तथा शिक्षकले प्रयोग गर्नेगरेका छन् । बढी भएको तरकारी तानसेन बजारमा बिक्री गर्नेगरेको विद्यालयका प्रअ सिग्देलले जानकारी दिनुभयो । विद्यार्थीका लागि व्यावहारिक ज्ञान हासिल गर्न र तरकारी खेती तथा अन्य कृषिसम्बन्धी व्यावहारिक सिकाईका लागि तानसेनस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्दैआएको प्रअ सिग्देलले बताउनुभयो ।  

हाल विद्यालयमा ९ देखि १२ कक्षासम्म ७३ जना बालबालिका बाली विज्ञान विषय अध्ययन गरिरहेका छन् । त्यसमध्ये विद्यालयको छात्रावासमा ३५ जना छात्राछात्रा बस्नेगरेका छन् । विगत दश वर्षदेखि बालीविज्ञान विषयको अध्ययन हुने यस विद्यालयमा पाल्पा, स्याङ्जा, गुल्मी, दाङ्लगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।