• २२ वैशाख २०८१, शनिबार

जन्म र मृत्युको विवरण राख्ने

काग सन्देश प्रवाहक प्राणी

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक ६ गते । हिन्दुहरूको महान् चाड तिहार (यमपञ्चक) आइतबारदेखि सुरु भएको छ। आज कात्तिक कृष्ण पक्ष त्रयोदशी धनवन्तरी दिवस अर्थात् कागको पूजासँगै तिहार सुरु भएको छ। 

तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवर्द्धन) म्हःपूजा र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटिका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक भनिन्छ। काग तिहार अर्थात् आज तिहारको पहिलो दिन। आजबाट यमपञ्चक सुरु भएको मानिन्छ। आजकै दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन चल्दै आएको पाइन्छ। 

काग सन्देश प्रवाहक प्राणी 

संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार काग मानिसको मित्र हो। कागको पूजा गर्ने वा आज मिठो खान बोलाउँदा वर्षभर कागले आफ्नो घर आँगनमा सुखद खबर ल्याउने कामना गर्ने गरिन्छ। बली राजाको शासन कालदेखि नै काग तिहार मनाउने चलन रहेको उहाँको भनाइ छ। 

“नेपाली संस्कृति प्रकृतिपरक छ, जसको राम्रो उदाहरण हो काग तिहार। काग वातावरणलाई पनि सफा गर्ने प्राणीको रूपमा लिन सकिन्छ,” उहाँ भन्नुहुन्छ, “काग, कुकुर, गाई, गोरुलगायत अन्य प्राणीबाट मानिसले धेरै कुरा सिकेका छन्।” 

यसबाहेक कागलाई एक दुष्ट साथी पनि भन्ने गरेको श्रेष्ठ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “नेपाली समाजमा एक कथन छ। मित्रलाईभन्दा बढी शत्रुलाई नमस्कार गर्नुपर्छ। यसो गर्दा शत्रुबाट कुनै पनि किसिमको हानीनोक्सानी नहुने विश्वास गरेको पाइन्छ।”

अझै पनि गाउँघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही अशुभ सन्देश ल्याएको वा केही नराम्रो घटना घट्दै छ भन्ने सोच राख्ने मानिस रहेको उहाँको भनाइ छ। 

यसैगरी कागलाई समूहमा मिलेर काम गर्ने भावनाको एक मात्र उदाहरणको रूपमा लिन सकिन्छ। म हैन हामी भएर अघि बढ्न् सके सबै राम्रो हुने भावना कागको समूहमा पाइन्छ। जस्तै, कागले कुनै खानेकुरा पायो भने एक्लै खाँदैन। हल्ला गर्छ र हल्लासँगै सबै कागले खान पाउने उहाँ बताउनुहुन्छ। 

कागमा एकताको गुण

संस्कृतिविद् ओम धौबडेलका अनुसार काग चलाख र सर्वभक्षी प्राणी हो। उनीहरूलाई केही घटना हुनु अगाडि नै थाहा हुन्छ। भूकम्प आउनुभन्दा पहिले काग र कुकुरले नै थाहा पाउँछ। 

धौबडेलका अनुसार नेपाली समाजमा कागलाई सन्देश प्रवाहक प्राणीको रूपमा लिने गरिन्छ। काग कराएको बेलामा ‘शुभ बोल शुभ बोल’ भन्ने चलन चल्दै आएको उहाँको भनाइ छ। काग कहाँ बसेर कस्तो आवाज निकालेको छ, जसले शुभ–अशुभको अनुमान लगाउन सकिन्छ।

कागले मृत्युसम्बन्धी खबर दिने भएकोले त्यस समयदेखि तिहारमा कागलाई पूजा गर्ने परम्परा चलिआएको धौबडेल बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, “यसबाहके कागमा एकताको गुण पाइन्छ। काग मिल्ने, हल्ला गरेर खाने वा समस्यामा पर्दा मिलेर समाधान गर्ने बानी देख्न सकिन्छ।”

जन्म र मृत्युको विवरण राख्ने प्राणी

संस्कृतिविद् जगमान गुरुङका अनुसार कागको जीवन शैली घुमन्ते हो। हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका राजा यमराजले पृथ्वीका मानिसको जन्म र मृत्युको विवरण राख्ने गरेको पाइन्छ। पृथ्वी लोकका मृत्यु भएको मानिसको विवरण राख्ने काम कागले गर्ने धार्मिक मान्यता रहेको छ। 

आजको दिन कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा वर्षभर शुभ सन्देश ल्याउने विश्वास रहेको उहाँ बताउनुहुन्छ। यसरी वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गर्ने चलन रहेको छ।