• ७ मंसिर २०८१, शुक्रबार

कर्मसित के लाग्ने रैछ र...

blog

विक्रम संवत् २००१ मा ‘औद्योगिक व्यापारिक समाचार अड्डा’ खडा गरियो । तत्कालीन पूर्व १ नम्बर भनिने काभ्रे र सिन्धुको सामाजिक, आर्थिक र भौगोलिक अध्ययनको सुझावलाई कार्यान्वयनमा लैजान यो अड्डा खडा गरिएको थियो । यसको काम ‘औद्योगिक सर्भे’ थियो । औद्योगिक अड्डाका लागि पाँच जना अधिकृत माग गरियो । अड्डामा सत्यमोहन जोशी पहिलो पटक सरकारी जागिरे हुनुभयो । 

सरकारी जागिरे भएपछि ‘औद्योगिक सर्भे’कै लागि झिटीगुन्टासहित केही सहयोगी लिएर सत्यमोहन तनहुँ, लमजुङका गाउँबस्तीतिर पुग्नुभयो । समय थियो, २००१ सालको मध्य जाडो ।

काठमाडौँ छाड्ने बेलामा सत्यमोहनलाई हाकिम भीमबहादुर पाँडेले सुझाव दिएका थिए, “औलतिरको काम जाडोयाममै सक्नू ।” त्यो समय तराईलगायत पहाडका बेँसी भेगमा समेत औलोको चर्को प्रभाव थियो । नभन्दै तनहुँको दक्षिणी भेगतिर काममा खटिएका सत्यमोहनलाई एकाएक औलोले भेट्यो । घिरिङरिसिङतिर उक्लिएपछि दिन बिराएर ज्वरो आउँदा सत्यमोहन थलिनुभयो । “अब यतिकै मर्छु कि क्या हो” भन्ने भयले उहाँ त्रसित बन्न थाल्नुभयो । काठमाडौँको चार भञ्ज्याङ कटेर बाहिर नपुगेका सत्यमोहन अनकन्टार पहाडी बस्तीको गाउँमा एक्ला बिरामी । न औषधिमूलो, न आफन्त साथी । घर, परिवार, सानी छोरी सबैको सम्झनाले सत्यमोहन आत्तिनुभयो । “हे दैव ! के कुसाइतमा जागिर खान पुगेछु,” सत्यमोहनका मनमा यस्तै भावनाले धिक्कारिरहेका थिए । बर्रर्र आँसु खसाल्दै रिसिङघिरिङतिरका एक ब्राह्मणको घरको पेटीपालीमा सत्यमोहन काल पर्खदै हुनुहुन्थ्यो ।  

ग्रामीण बस्तीभित्रको गरिबी, अभाव, असुविधा, विश्वयुद्धले नेपाली बस्तीलाई युवाविहीन बनाएको अवस्थाले युवा सत्यमोहन नैराश्यताको अवस्थामा समेत पुग्नुभयो । त्यो बेला तनहुँतिरकी महिलाले गाएको एउटा लोकगीतले सत्यमोहनको मनमा दर्शनको दियो सल्काइदियो । 

औद्योगिक सर्भेमै कास्कीतिर खटिएका साथी धनबहादुर अधिकारीको सम्झना आयो, उहाँलाई । अन्तिम उपायका रूपमा केही उपचारको आशासहित आफूलाई औलले समातेको व्यहोरा राखी धनबहादुरलाई पत्र लेख्नुुभएछ । नभन्दै धनबहादुरले रातसाँझ गरेर सिपाहीसहित सहयोगी पठाइदिनुभएछ । उहाँहरूले नै बिरामी सत्यमोहनलाई बोकेर तनहुँकै मानहुँ पु¥याउनुभयो । माथि डाँडामा मगरको बस्ती । अलि तल बाहुनगाउँ । त्यही बाहुन गाउँमा सत्यमोहनको बसाइ भयो । औषधि उपचार र फरक हावापानीले उहाँको स्वास्थ्यमा केही सुधार हुँदै गयो । काठमाडौँबाट आएका ‘डोर’ (काममा खटाइएका सरकारी टोली) लाई गाउँलेले मनोरञ्जन गराउने योजना बनाएछन्, एकदिन । मानहुँतिरबाट झरेका तरुनातरुनीले रातभर नाचगान गरेर छर्लङ्ग रात कटाएछन् । त्यो अनकन्टार गाउँमा केटा र केटी सरावर भएर नाचेको गाएको देखेर सत्यमोहन आश्चर्यचकित बन्नुभएछ । त्यति मात्र होइन गीतका शब्द, भाव, सन्देश र मर्मले ग्रामीण जनजीवन, संस्कृति, मान्यताप्रति सत्यमोहनको सोचलाई नै उद्वेलित बनाइदियो । 

नकराउ वनको न्याउली

तिमीभन्दा म छु नि वैरागी

तनहुँ, लमजुङको घुमघामले सत्यमोहनको जीवनको बाटो अर्कैतिर मोडियो । त्यहाँ टिपनटापन गरेका लोक भाका र शब्दलाई समेटेर ऋद्धिबहादुर मल्लले प्रकाशन गरिरहनुभएको 

‘शारदा’ साहित्यिक पत्रिकामा लेख छपाउनुभएका सत्यमोहनको रुचि लोकभाका, लोकजीवन, लोकसंस्कृतितिर लहसियो । जीवन नै यसकै वकालत, वर्णन र संवद्र्धनमा समर्पित गर्नुभयो । 

बदलिएको बाटो

काठमाडौँको चार भञ्ज्याङ नकटेका सत्यमोहनको तनहुँ, लमजुङ यात्रा जीवन दर्शनकै नयाँ यात्रा बनिदियो । राणाकालका जागिरे सत्यमोहन खोज, अध्ययन र अनुसन्धानको बाटोतिर रमाउनुभयो । 

सत्यमोहनको शताब्दी यात्रा हेर्दा लाग्छ, उहाँका जीवनमा यस्ता धेरै संयोग नै संयोग छन् जसले उहाँलाई कला, संस्कृति, सम्पदा, इतिहासको खोज, अध्ययन र अनुसन्धानतिर धकेलिदियो । दरबार हाईस्कुलबाट १९९७ मा प्रवेशिका र त्रिचन्द्र कलेजबाट १९९९ मा आइए उत्तीर्ण सत्यमोहनले स्वअध्ययनबाटै नेपाली कला, साहित्य, संस्कृति, सम्पदा र इतिहासका क्षेत्रमा धेरै खोज र प्रकाशन गर्नुभएको छ । ग्रामीण बस्तीभित्रको गरिबी, अभाव, असुविधा, विश्वयुद्धले नेपाली बस्तीलाई युवाविहीन बनाएको अवस्थाले युवा सत्यमोहन नैराश्यताको अवस्थामा समेत पुग्नुभयो । त्यो बेला तनहुँतिरकी महिलाले गाएको एउटा लोकगीतले सत्यमोहनको मनमा दर्शनको दियो सल्काइदियो ।

के खायो, के लायो होला ?

वनको जुरेली चरीले 

जुरेली चरीको गीत ग्रामीण महिलाको गलाबाट सुनेपछि सत्यमोहन झल्याँस्स हुनुभयो । अङ्ग्रेजी साहित्यका शेली र किट्स त्यहीँ भेट्नुभयो । शेलीको ‘टु अ स्काईलार्क’ र किट्सको ‘ओड टु नाइटिङगेल’ का पात्र त्यहीँ साक्षात्कार गर्नुभयो ।

त्यसमा दर्शन भेट्नुभयो । सदा चिन्तामुक्त जुरेली । सधैँ सुखमय जुरेली । न भोकको चिन्ता न भविष्यको । न सङ्ग्रहको लोभ न अभावप्रति दुःख । जे पायो त्यसैमा गुजारा । जुरेलीजस्तै निस्फिक्री बाँच्ने दर्शनबाट उहाँ जीवनभर प्रभावित हुनुभयो । त्यसैलाई अनुसरण गर्नुभयो । लवाइ, खवाइ र हिँडाइमा त्यही जुरेलीको दर्शन समात्नुभयो । त्यसैले उहाँले चराचुरुङ्गीलाई आफ्नो गुरु मान्नुभएको थियो ।

तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, बागलुङतिरको घुमघाम, लोकसंस्कृतिको अध्ययनमा गाउँ, समाज, लोकसंस्कृति, लोकजीवन, लोकसाहित्य चिन्नुभयो । त्यो समय ब्रिटिसले नेपाली युवा भर्ती गरी विश्वका विभिन्न देशका युद्धमा खटाइरहेको थियो । गाउँगाउँमा गल्लावालले नेपाली युवाको छाती नाप्दै थिए । पाखुरा छाम्दै थिए । गाउँ युवाविहीन बनाइँदै थिए । जुन बेला गाउँघरका भाका सत्यमोहनका कानमा यसरी बजारिएको थियो,

गाई पाल्यो रेलीमाई वनको बाघलाई

छोरो पाल्यो रेलीमाई जर्मनको धावालाई

अहो ! लोकगीतमा जीवन रहेछ । जगत्का सच्चाइ पाइने रहेछ । गीतभाकामा इतिहास भेटिने रहेछ । समाजको विम्ब देखिने रहेछ । सत्यमोहन उद्वेलित बन्नुभयो । जसलाई डायरीका पन्नामा लिपिबद्ध गर्दै जानुभयो । अब त उहाँ लोकजीवन, लोकसाहित्य, लोकभाका, लोकसंस्कृतिको रसमा यति डुब्नुभयो कि, टाढाटाढा गाउँका गीताङ्गे जम्मा पारेर रातरातभर गाउन लगाउँदै त्यसलाई डायरीमा उतार्न थाल्नुभयो । समाजका घटना, दृश्यलाई कथा, कवितामा उतार्दै जानुभयो । शब्द, लय र भाकालाई रेकर्ड गराउनतिर लाग्नुयभो । शारदा पत्रिकामा छाप्दै पनि जानुभयो । गोपालप्रसाद रिमालले लोकगीतको पृष्ठभूमि र इतिहास पनि खोज्ने सुझाव दिनुभयो । त्यसैअनुसार सत्यमोहनले सङ्कलित लोकगीतलाई समग्रमा लेख्नुभयो । अनि पुस्तक नै तयार पार्नुभयो, हाम्रो लोकसंस्कृति । जसले २०१३ सालको मदन पुरस्कार नै प्राप्त गर्न सफल भयो । नेपालको इतिहासमै उहाँले तीन पटक मदन पुरस्कार पाउनुभयो ।  उहाँले नेपाली राष्ट्रिय मुद्रा (२०१७) र कर्णाली लोकसंस्कृति (इतिहास, भाग एक, २०२८) मा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

नरोउ न वनको न्याउली

तिम्रोभन्दा मन मेरो वैरागी

चरासँग उहाँको साक्षात्कार सानैदेखिकै हो । त्यो बेला काठमाडौँ सहरमा भँगेराको बस्ती निकै बाक्लो थियो । बथानका बथान भँगेरा घरकै खड्प्वाल, खोपा, धुरीमा बास बस्थे । १९९७ सालतिरै सत्यमोहनको कवि हृदयले भँगेराको चिरिबिरी सुनेर मातृभाषामा लेख्नुभएको थियो, चखुँचा हाःगु म्ये अर्थात् भँगेराले गाएको गीत लेख्नुभएको थियो । यसबीचको करिब आठ दशक नेपाली लोकसाहित्य, संस्कृति, इतिहासको खोज, अध्ययन र लेखनमा उहाँले खुबै सक्रियता देखाउनुभयो । १९९८ सालमा गोरखापत्रमा ‘परिचय’ कविता र ‘कर्तव्य’ निबन्ध छापिएपछि उहाँको लेखकीय व्यक्तित्व सार्वजनिक भएको पाइन्छ । उहाँले बालसाहित्य, कथा, कविता, निबन्ध, जीवनी, महाकाव्य, एकाङ्की, पूर्णाङ्की नाटक, मूर्तिकला, चित्रकला, पुरातìव, मुद्रा, कलाप्रविधि, लोकसंस्कृति, लोकसाहित्य, लोकभाका, भाषा शब्दकोश, व्याकरण, लिपि, वर्णमालाजस्ता लेखनको विशाल क्षेत्रमा कलम चलाउनुभयो । उहाँका नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजीमा एउटा गरी करिब ८० पुस्तक प्रकाशनमा छन् । दुई सयभन्दा बढी फुटकर लेख र रचना विभिन्न पत्रपत्रिका, स्मारिकामा प्रकाशित छन् । 

रक्षा मण्डलको नेता

पाटनको भित्री सहर बखुंबहालमा १९७७ वैशाख ३० गते जन्मिएका जोशीले मुलुकका महìवपूर्ण राजनीतिक घटना, परिवर्तन र सामाजिक फेरबदल देख्नुभयो, भोग्नुभयो । राणा शासनको आखिरी तीन दशक, प्रजातन्त्रको एक दशक (२००७–२०१७), दलविहीन पञ्चायती व्यवस्थाको तीन दशक, प्रजातन्त्र पुनस्र्थापनाका करिब दुई दशक, गणतन्त्रको डेढ दशकका घटना क्रममा साक्षी बन्नुभएका जोशीले चार राजाको कार्यकालसमेत अनुभूत गर्नुभयो । 

अरनिकोको विषयमा खासै खोज गर्ने अवसर नपाउनुभएका जोशीले २०३७ सालमा पेकिङको नेपाली भाषा रेडियो ब्रोडकास्टिङ प्रशिक्षक भएर जाँदा अरनिकोका बारेमा थप अध्ययन गर्नुभयो । अरनिको सम्बन्धी चीनमा सत्यमोहनले गरेको खोज र अनुसन्धानकै आधारमा सरकारले अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । 

राजा त्रिभुवनको सङ्गत, महेन्द्रसँग सहकार्य, वीरेन्द्रको सद्भाव र ज्ञानेन्द्रको शासन भोगेका जोशी ज्ञानेन्द्र शासनको विरुद्धमा सडकमै उत्रनुभयो । यद्यपि, राजनीतिक विचारप्रति कट्टर समर्थनका रूपमा उहाँ कहिल्यै देखिनुभएन । सबै राज्यव्यवस्थामा उहाँले उत्तिकै मान, सम्मान, सहयोग र सद्भाव प्राप्त गर्नुभयो । कला, संस्कृति, सभ्यता, इतिहासको खोजमा सधैँ आफूलाई केन्द्रित गरी राष्ट्रको सेवा गर्नुभयो ।

२००७ सालको क्रान्तिपछि जोशी सामाजिक नेताकै रूपमा स्थापित हुनुभयो । २००७ सालको सशस्त्र क्रान्तिबाट फालिएका राणा गुमेको शक्ति फर्काउन राजधानी काठमाडौँलगायत देशका विभिन्न भागमा उपद्रो मच्चाइरहेका थिए । भरत शमशेरको गोरखा दलले नाङ्गा खुकुरी घुमाउँदै समाजलाई आतङ्कित पारिरहेका थिए । त्यो बेला यिनीहरूलाई आममानिसले खुकुरी दल पनि भन्थे । त्यसको आतङ्कबाट जनतालाई सुरक्षा अनुभूति दिलाउन जोशीको नेतृत्वमा ललितपुर रक्षामण्डल (केन्द्र) गठन गरिएको थियो । यो संस्थाले २००८ सालमा पाटनमा आदर्श चित्रकला प्रदर्शनी आयोजनासमेत गरेको वरिष्ठ कलाकार मदन चित्रकार स्मरण गर्नुहुन्छ ।  

अरनिकोको खोज

२०१३ साल (कात्तिक ३०–मङ्सिर ५) मा काठमाडौँमा धर्मोदय सभाको आयोजनामा चतुर्थ विश्व बौद्ध सम्मेलन भएको थियो । त्यो सम्मेलनमा चीनबाट समेत बौद्ध प्रतिनिधिको सहभागिता रहेको थियो । धर्मोदय सभाको कार्यकारिणी समितिमा सत्यमोहनसमेत हुनुहुन्थ्यो । २०१६ सालमा धर्मोदय सभाका अध्यक्ष भिक्षु अमृतानन्दको नेतृत्वमा छ सदस्यीय प्रतिनिधि मण्डल चीन गएको थियो, जसमा सत्यमोहन पनि सहभागी हुनुहुन्थ्यो । पेकिङमा बस्दा उहाँले अरनिकोले बनाएको स्वेत चैत्य र बौद्ध महाविहारको अवलोकन गर्नुभएको थियो । नेपाल फर्केपछि ‘पुरातìव एक रोचक कथा’ पुस्तकमा ‘नेपाली कलाकार अरनिको र उनका कलाकृति’ शीर्षक लेख छपाउनुभयो । 

चीन सरकारबाट नेपाली भाषा शिक्षकको माग हुँदा २०२२ सालमा पुनः चीन पुग्नुभएका सत्यमोहन चार वर्ष पेकिङमा रहनुभयो । त्यो समय चीनमा सांस्कृतिक क्रान्तिको धरपकडले स्वेत चैत्यको मूल ढोका नै बन्द गरिएकाले अध्ययनको लालसा पूरा हुन सकेन । यद्यपि, त्यो समय अरनिकोको विषयमा खासै खोज गर्ने अवसर नपाएका जोशीले २०३७ सालमा पेकिङको नेपाली भाषा रेडियो ब्रोडकास्टिङ प्रशिक्षक भएर जाँदा अरनिकोका बारेमा थप अध्ययन गर्नुभयो । अरनिको सम्बन्धी चीनमा सत्यमोहनले गरेको खोज र अनुसन्धानकै आधारमा सरकारले अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । अरनिको सम्बन्धी खोजकै आधारमा ‘अरनिको स्वेत चैत्य’ महाकाव्य नै जोशीले लेख्नुभयो । त्यति मात्र होइन अरनिको सम्बन्धी सम्पूर्ण खोज, दस्तावेज, तस्बिर सङ्कलित ‘कलाकार अरनिको’ कृति २०४४ सालमा प्रकाशन गरियो । नेपाली लोकोक्तिमा सीमित कलाकार अरनिकोको चीन यात्रा, त्यहाँ उनले बनाएका कलाकृतिलाई नेपालीबीच प्रस्तुत गर्ने महान् सत्कार्य सत्यमोहनले सम्पन्न गर्नुभयो । 

महत्वपूर्ण घटनाका साक्षी

उहाँ, नेपालका प्रमुख घटनाको साक्षी हुनुहुन्थ्यो । यसलाई उहाँले कुनै न कुनै रूपमा अभिव्यक्त गर्नु नै भएको छ । राणाकालीन काण्ड, १९९० सालको भुइँचालो, २००७ सालको क्रान्ति, २०१७ सालको काण्ड, २०४६ सालको परिवर्तन । अर्थात् राणा शासनदेखि गणतन्त्रसम्मका परिवर्तनका कमै साक्षीमध्ये उहाँ एक हुनुहुन्थ्यो, जसलाई विभिन्न माध्यममार्फत नेपाली समाजलाई छाड्नुभएको छ । लेख, अन्तर्वार्ता, गोष्ठी, छलफल, पुस्तकमार्फत इतिहासका ती घटनालाई उहाँले लिपिबद्ध गर्नुभएको पाइन्छ । नेपाली जनजीवन, संस्कृति, सम्पदाको मात्र होइन औलो, प्लेग, बिफरजस्ता महामारीका भुक्तभोगीसमेत उहाँ हुनुहुन्थ्यो । तिनै महामारीबाट बचेर नेपाली समाजको लोकसंस्कृतिको खोजभित्र पसेका सत्यमोहनलाई कोरोना महामारीले समेत नराम्ररी थलायो । त्यसबाट बचेर लोकसाहित्यकै चिन्तनमा रहँदा डेङ्गुको महामारीले १०३ वर्षको उमेरमा २०७९ असोज ३० गते उहाँ ब्रह्मलीन हुनुभयो ।

राष्ट्रिय इतिहासको चिन्ता

राष्ट्रिय अभिलेखालयको एक कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रिय इतिहास लेखिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, “हामीसँग शाह वंशका इतिहास छन् । लिच्छवि र मल्लकालका इतिहास छन् । तर, नेपाल एकीकरणपूर्वका थुमे, टाकुरे, ससाना राज्यका इतिहास खोज्न सकिएको छैन । आजको सिङ्गो नेपाल निर्माणमा तिनका पनि आफ्नै इतिहास छन् । तिनलाई जोडेर सिङ्गो नेपाललाई जोड्ने राष्ट्रिय इतिहास लेखिनुपर्छ ।” 

त्यो समयका मकवानपुर, चौदण्डी, विजयपुर राज्य होस् या तनहुँ, ढोर, पाल्पा, पर्वत, लमजुङलगायत चौबिसे र पश्चिमका बाइसे राज्य हुन् भूमिको रक्षामा लडेकै थिए । जसले आफ्नो भूमि बचाए, विस्तार गरे र आज नेपालका रूपमा रहेका छन् । तिनका योगदान नेपाल निर्माणमा थिएन र ? यसरीसमेत नेपालको इतिहासको खोजी र अध्ययन गरिनुपर्ने मत सत्यमोहनको थियो । 

सत्यमोहनको चिना

शताब्दी पुरुष सत्यमोहन जोशीको मृत शरीर मेडिकल अध्ययनका लागि सुरक्षित गरिएको छ । यद्यपि, परिवारले शङ्खमूलको घाटमा कुशको प्रतिमा र चिनोको अन्त्येष्टि गरेका थिए । पारिवारिक स्रोतका अनुसार, सत्यमोहन जोशीको वास्तविक चिना नै जलाइएको थियो । जुन ज्योतिष शास्त्रीय अध्ययनका लागि निकै महìवपूर्ण सामग्रीका रूपमा रहने थियो । शरीर दान गर्नु हिन्दु संस्कृति र परम्पराविरुद्ध थियो । साहित्यकार श्रीओम श्रेष्ठ रोदनका अनुसार शरीर दान परम्पराप्रति एकखालको विद्रोह थियो । जिन्दगीभर जातजातिको संस्कार, संस्कृतिका विषयमा बहस, छलफलमा भाग लिनुभयो । नेपालीलाई बुझाउनुभयो । अन्तिममा आफ्नै शरीर दान गर्नुभयो । यो परम्पराप्रति भयानक विद्रोह थियो । तथापि, सत्यमोहनको जन्मकुण्डली सार्वजनिकै भएकाले अध्ययनका लागि समस्या नहुने धारणा उहाँको छ ।  पाटनका रैथाने जोशीले संस्कार, चालचलन, संस्कृतिको खोज, अध्ययनमा जीवन व्यतीत गर्नुभयो । अन्त्यमा जीवनकै उत्कृष्ट दानका रूपमा शरीर दान गर्नुभयो । जोशीको इच्छामा परिवारका सदस्यले सहर्ष स्वीकृति दिए । नेपाल प्रज्ञाप्रतिष्ठानका निमित्त कुलपति डा.जगमान गुरुङका अनुसार सत्यमोहनको १०३ वर्ष पुरानो चिनो सङ्ग्रहालयमा राख्न लायक, सङ्ग्रह गर्नैपर्ने वस्तु हो । ज्योतिषशास्त्र अध्ययन, अनुसन्धानका लागि पनि त्यो चिना निकै काम लाग्ने सामग्री थियो । 

निमित्त कुलपति डा.गुरुङ भन्नुहुन्छ, “जनताको नामबाट जीवित अवस्थामा उहाँको हुलाक टिकट छापियो । साधारण नागरिकको नामबाट मुद्रा प्रकाशन भयो । यस्तो योग सबैलाई प्राप्त हुन्न । त्यसैले उहाँमा कस्तो योग परेको रहेछ ? त्यो हेर्न पनि सत्यमोहनको चिना काम लाग्छ ।”

पार्थिव शरीर संरक्षण

संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरलाई रसायन र औषधिको सहयोगमा सुरक्षित राखिने भएको छ । चिकित्साशास्त्र विद्यार्थीलाई अध्ययन अनुसन्धानमा सहयोग मिल्ने गरी किस्ट मेडिकल कलेजमा जोशीको पार्थिव शरीर राखिएको छ । जोशी जीवित छँदै परिवारका सदस्यको अनुमतिमा शरीरदानको घोषणा र प्रक्रिया मिलाइएको थियो ।किस्ट मेडिकल कजेलका निर्देशक प्राध्यापक डा. सुरज बज्राचार्यले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले रसायन र औषधि प्रयोग गरी सुरक्षित रूपमा बेसिक साइन्स ल्याबमा ‘प्रिजर्भ’ गरिनेछ । ‘प्रिजर्भ कन्डिसन’ मा कति समय सुरक्षित रहन्छ, त्यो अहिले भन्न नसकिने प्रा.डा.बज्राचार्यले बताउनुभयो । चिकित्सा अध्ययनरत विद्यार्थीको अध्ययन र अनुसन्धान कार्यमा प्रयोग गरी अन्तिममा कङ्काल मात्रै भए पनि सुरक्षित गर्न सकिनेछ । यद्यपि, जोशीको शरीरलाई सर्वसाधारणले अवलोकन गर्न पाउने छैनन् । चिकित्सा क्षेत्रका अनुसन्धानकर्ताले समेत अनुमति लिएर मात्रै हेर्न र अध्ययन गर्न सक्ने बताइएको छ ।

लोकसाहित्यमा रूपान्तरण

जीवनको खोजमा जे प्राप्त गर्नुभयो, ती सबै राष्ट्रकै लागि सुम्पेर जोशी ब्रह्मलीन हुनुभयो । खासमा आज उहाँ लोकसाहित्य र लोकसंस्कृतिको पर्यायका रूपमा रूपान्तरण हुनुभएको छ । सत्यमोहनलाई अब लोकसाहित्यमा खोज्न सकिन्छ । लोकसंस्कृतिमा बुझ्न सकिन्छ । लोकसाहित्यको इतिहासमा चिन्न सकिन्छ । 

जीवनमा प्राप्त गरेका मान, सम्मान, पद्वी, विभूषण । सङ्कलन गरेका मुद्रा, कला र ऐतिहासिक दस्तावेज । नेपाल भाषाका करिब ५० कृति, नेपाली भाषाका करिब ३० कृतिसहित सङ्कलन गरेका हजारौँ पुस्तक खोज र अध्ययनकर्तालाई सत्यमोहनले आफू जीवित हुँदै सुम्पनुभएको छ । ती सबै सामग्री सत्यमोहनको जन्मघरकै आडमा रहेको लोकसाहित्य परिषद्मा सङ्ग्रहित छन् । जुन, शताब्दी पुरुषको अन्तिम चाहना पनि थियो । उहाँले आफ्नै जग्गा दिएर ललितपुर महानगरपालिकाको सहयोगमा खडा भएको परिषद्को भवनमा जीवनका आखिरी दिन रमाउनु पनि भयो । उहाँकै अवधारणामा २०४१ सालमा स्थापित लोकसाहित्य परिषद् नै अबका दिनमा सत्यमोहनको पुनर्जन्मका रूपमा लिन सकिन्छ । जहाँ पुगेपछि सत्यमोहन चिन्न, जान्न र बुझ्न पर्याप्त हुनेछ । 

अन्त्यमा,

चरालाई आधार बनाएर मानवको जीवन दर्शनलाई जोशीले लेख्नुभएको छ, 

चरीले हुर्कायो बचरा

कर्मसित के लाग्ने रैछ र ?

(जोशी, २०१४ : १२१)