गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २५ गते । वैदेशिक रोजगारीका लागि बाहिरिनेको सङ्ख्या बढ्दा नेपाल भित्रिने विप्रेषण निरन्तर उकालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार विप्रेषण बढ्ने क्रम जेठमा भने अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ । केन्द्रीय बैङ्कले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्मको आर्थिक तथा वित्तीयसम्बन्धी प्रतिवेदनले जेठमा अहिलेसम्मकै सबैभन्दा धेरै अर्थात् एक खर्ब ७६ अर्ब रुपियाँ विपे्रषण भित्रिएको देखाएको हो । गत आवको जेठमा यस्तो आप्रवाह एक खर्ब २९ अर्ब रुपियाँ थियो ।
विप्रेषण आप्रवाह गत वर्षको ११ महिनासम्मको तुलनामा भने १५.५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड रुपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । गत आवको जेठसम्म यस्तो आप्रवाह १३ खर्ब २७ अर्ब रुपियाँ थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या करिब ३१ हजारले बढेर चार लाख ५२ हजार नाघेको छ । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४७ हजारले बढेर तीन लाख आठ हजार नाघेको छ । श्रम स्वीकृति लिनेको सङ्ख्या उल्लेख्य बढ्दा पनि विपे्रषण आप्रवाह बढ्दो देखिन्छ ।
विप्रेषण बढ्दा त्यसले नेपाल भित्रिने र बाहिरने रकमबिचको अन्तर जनाउने शोधनान्तर अवस्था पनि उच्च रूपले बचतमा पु¥याएको छ । प्रतिवेदन अनुसार ११ महिनासम्म शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब रुपियाँले बचतमा रहेको छ । गत आवको सोही अवधिसम्म यस्तो स्थिति चार खर्ब २५ अर्ब रुपियाँले बचतमा थियो ।
त्यस्तै वस्तु तथा सेवा व्यापार, वैदेशिक लगानीबापतको आम्दानी, अनुदान तथा विप्रेषणसमेत गणना हुने चालु खाता पनि तीन खर्ब रुपियाँभन्दा बढीले नाफामा रहेको केन्द्रीय बैङ्कले जनाएको छ । चालु खाता गत आवको सोही अवधिमा दुई खर्ब रुपियाँले बचतमा थियो ।
बढ्दो विप्रेषण र निर्यातले नेपालमा विदेशी मुद्रा थुप्रिन थालेको छ । राष्ट्र बैङ्कका अनुसार २०८१ असारमा १८ खर्ब ४८ अर्ब रुपियाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा २०८२ जेठसम्म २३ प्रतिशतले बढेर २२ खर्ब ७४ अर्ब रुपियाँ पुगेको छ । कुल विदेशी मुद्रामध्ये भारतीय मुद्राको अंश २० प्रतिशत रहेको छ । नेपालसँग रहेको विदेशी मुद्राको सञ्चितिले १७ महिनाको वस्तु र करिब १५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।
वैदेशिक मुद्रा सञ्चितिमा निर्यात वृद्धिको योगदान पनि रहेको छ । ११ महिनासम्म नेपालको निर्यात ७७.८ प्रतिशतले बढेर दुई खर्ब ४७ अर्ब रुपियाँ पुगेको उल्लेख छ । नेपालबाट मुख्य रूपमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटोलगायतका वस्तुको निर्यात बढेको छ । समीक्षा अवधिमा आयात १३.१ प्रतिशतले बढेर १६ खर्ब ४४ अर्ब रुपियाँ पुगेको छ । कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब रुपियाँ नाघेको छ ।
महँगी न्यून
जेठमा महँगी गत आवको तुलनामा अत्यन्त न्यून रहेको देखिन्छ । नेपाल राष्ट्र बैङ्कका अनुसार जेठमा महँगी जनाउने मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ ।
प्रदेशगत हिसाबले सबैभन्दा धेरै महँगी कोशी प्रदेशको ४.१८ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशको १.७५ प्रतिशत रहेको छ । मधेश प्रदेशको २.५२ प्रतिशत, बागमती प्रदेशको २.२९ प्रतिशत, लुम्बिनी प्रदेशको २.३९ प्रतिशत, कर्णाली प्रदेशको २.५४ र सुदूरपश्चिम प्रदेशको ३.८६ प्रतिशत रहेको छ ।
सुधारिँदै निक्षेप र कर्जा
चालु आवको ११ महिनामा निक्षेप परिचालनमा पनि सुधार आएको छ । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप आठ प्रतिशत अर्थात् पाँच खर्ब १७ अर्ब ६० करोड रुपियाँले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप नौ प्रतिशत अर्थात् पाँच खर्ब १४ अर्ब ५७ करोड रुपियाँले बढेको थियो । त्यस्तै कुल आन्तरिक कर्जा भने ३.४ प्रतिशतले बढेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ३.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा गत जेठ मसान्तमा यस्तो कर्जा छ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा आठ प्रतिशत अर्थात् चार खर्ब सात अर्ब ६२ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.१ प्रतिशत अर्थात् दुई खर्ब ४६ अर्ब ८० करोडले बढेको थियो ।
गत जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह ८.४ प्रतिशत, विकास बैङ्कको ४.७ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह ६.९ प्रतिशतले बढेको छ ।