अविनाश चौधरी
धनगढी, असार २५ गते । कैलालीको विपत् प्रतिकार्य योजना अद्यावधिक भएको छ । मनसुनजन्य विपतबाट जिल्लावासीलाई जोगाउन विपत् प्रतिकार्य योजना अद्यावधिक गरिएको हो ।
जिल्लाले तयार पारेको विपत् प्रतिकार्य योजना स्वीकृत भइसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । जिल्लाको गोदावरी, चुरे र मोहन्याल गरी तीन पालिकामा पहिरोको जोखिम रहेको जनाइएको छ ।
यस्तै, मध्यक्षेत्रमा पर्ने पालिकामा नदी किनारको बस्तीमा कटानको जोखिम छ । टीकापुर नगरपालिका, जानकी, कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकामा भने बाढीको उच्च जोखिम छ । यी पालिकाका विभिन्न क्षेत्र प्रत्येक वर्ष बाढी, डुबानको समस्या झेल्दै आएका छन् ।
यस वर्ष कैलालीमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । सरदरभन्दा बढी पानी पर्ने सम्भावनाका कारण बाढी, डुबान, कटानजस्ता समस्या बढी निम्तिन सक्ने सम्भावना छ । त्यसलाई मध्यनजर गरेर विपत् प्रतिकार्य योजना बनाइएको छ ।
कैलालीमा रहेको कर्णाली नदीले लम्कीचुहा, जानकी र टीकापुर गरी तीन पालिकालाई प्रभावित गर्दैआएको छ । मोहना नदीले गोदावरी, धनगढी, कैलारी र भजनी, खुटिया नदीले चुरे, गौरीगङ्गा, गोदावरी, धनगढी, घुरहा नदीले कैलारी, भजनीलाई प्रभावित गर्दैआएको छ ।
यसैगरी, कान्द्रा नदीले भजनी, लिक्मा नदीले कैलारी, भजनी, काँढा नदीले घोडाघोडी, बर्दगोरिया, जोशीपुर र भजनीलाई प्रभावित गर्दैैआएको जनाइएको छ । त्यस्तै, पथरैया नदीले टीकापुर, जोशीपुर, जानकी, भजनी र टीकापुर, रौरा नदीले लम्कीचुहा, टीकापुर, जानकी र ठुली गाडले मोहन्याललाई समस्या गर्दैआएको छ ।