काठमाडौं, असार २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वीट्जरल्याण्डस्थित जेनेभामा भइरहेको विश्व सूचना समाज सम्मेलन (डब्लुएसआइएस प्लस टुवान्टी) मा सहभागी हुनुभएको छ । झण्डै दुई सयभन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहेको उच्चस्तरीय सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङ सहभागी हुनुभएको हो ।
सप्ताहव्यापी रुपमा हुने सो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा सञ्चारमन्त्री गुरुङ यही असार २१ गते शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
सूचना प्रविधि क्षेत्रमा भएको चमत्कारिक विकास, नयाँ अवधारणा, विकसित घटनाक्रम र विश्व परिवेशलाई बुझ्न उक्त सम्मेलन फलदायी हुने सञ्चारमन्त्री गुरुङका सूचना प्रविधिसम्बन्धी सल्लाहकार डा सालीग्राम पराजुलीले बताउनुभयो ।
सम्मलेनका क्रममा ‘रोबोटिक्स फर गुड युथ च्यालेञ्ज २०२५ र डिजास्टर रेस्पोन्स एण्ड सिजिलियन्स थिम’मा हुने कार्यक्रम सत्रमा समेत सञ्चारमन्त्री गुरुङ सहभागी हुनुहुने छ । ती कार्यक्रमहरूमा सूचना प्रविधिसम्बद्ध ६० देशका विभिन्न टोलीको प्रस्तुती रहने डा पराजुलीले जानकारी दिनुभयो ।
नेपालबाट ‘टिम सगरमाथा’ र ‘टिम गौतमबुद्ध’ले प्रतिनिधित्व गर्दै विपद् व्यवस्थापनमा रोबोटिक प्रयोगमार्फत देशको नवप्रवर्तन क्षमतासँग सम्बन्धित भइ विश्वमाझ आआफ्नो प्रस्तुति प्रस्तुत गर्नुहुने पनि सल्लाहकार पराजुलीले बताउनुभयो । रासस