• १३ साउन २०८१, आइतबार

पदक विजेतालाई पोखरा महानगरको सम्मान

blog

कास्की समाचारदाता

कास्की, कात्तिक ३ गते । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडीसहित प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ। 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसीलगायतले ४१ जना पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्नुभएको हो। 

पोखरा महानगर खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काका अनुसार पोखरा महानगरवासी खेलाडीले पाँच स्वर्णपदक जितेका छन् भने दुई कांस्य तथा पाँच रजत पदक जितेका छन्। 

यी सबै प्रतियोगितामा सहभागी ४१ जना खेलाडीलाई महानगरपालिकाले नगदसहित सम्मान गरेको हो। स्वर्ण पदक विजेतालाई प्रतिपदक नगद १५ हजार रुपियाँ (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद पाँच हजार, कांस्य पदक विजेतालाई प्रतिपदक १० हजार (व्यक्तिगत) तथा समूहमा सहभागीप्रति खेलाडी नगद पाँच हजार र रजत पदक विजेता खेलाडीलाई प्रतिपदक नगद पाँच हजारका दरले सम्मान गरिएको हो। हालसम्म पुरुष ह्यान्डबल (समूह), फुल कन्ट्याक्ट कराँतेका अभिषेक तामाङ र अनिश बुढा, बडी बिल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्ण पदक प्राप्त गर्नुभएको छ। 

यस्तै फुल कन्ट्याक्ट कराँतेकै रूपक नेपाली र शिव भुजेलले कांस्य पदक प्राप्त गर्नुभएको छ। केही खेलमा सहभागी समूहले पाँच रजत पदक प्राप्त गरेका छन्। प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने अन्य खेलाडीलाई प्रतियोगिता समापन लगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो। खेलकै दौरानमा खेलाडीलाई गरिएको सम्मानले थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। खेलाडीमा सकारात्मक ऊर्जाको प्रवाहका लागि यस्ता प्रकारका सम्मान आवश्यक हुने तर्कसमेत गर्नुभयो। पोखरा महानगरपालिका सदैव खेलाडी तथा खेलकर्मीको साथैमा रहेको उहाँले विश्वास दिलाउनुभयो। 

पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले खेलाडीको असल अभिभावकको भूमिकाका रूपमा महानगरपालिका रहेको बताउनुभयो। महानगरपालिकाभित्रका खेलाडीलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नका लागि पोखरा महानगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमन्तप्रसाद आचार्यले शिक्षासँगै खेलकुद विकासका नियमित कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महानगरपालिकाका यति धेरै खेलाडीको सहभागिता हुनुले आफूलाई निकै खुसी लागेको बताउनुभयो।