• १४ असार २०८१, शुक्रबार

अदालत परिसर अपाङ्गमैत्री

blog

दोलखा समाचारदाता

दोलखा, कात्तिक ३ गते ।  दोलखा जिल्ला अदालतले फरक क्षमता भएका व्यक्तिका लागि अदालत परिसरमा ‘ह्विलचेयर’ मार्ग निर्माण गरेको छ। भीमेश्वर नगरपालिकाबाट प्राप्त सहयोगबाट रङरोगन र शौचालय निर्माण गरिएको जनाइएको छ। सूचना र प्रविधिमा सेवाग्राहीको पहुँच स्थापित गर्न अदालत परिसरमा ‘फ्री वाइफाई’को व्यवस्था गरिएको छ। 

अदालतका स्रेस्तेदार शिवकुमार पोखरेलले न्याय प्रणालीका आन्तरिक कामकारबाहीमा सुधारसहित अदालतको बाह्य वातावरणलाई सेवाग्राहीमैत्री बनाइएको बताउनुभयो। उहाँका अनुसार अदालतले ढिलो न्याय दिन्छ भन्ने मानसिकतालाई बदलेर छिटोछरितो न्याय दिन एक वर्षभित्रै मुद्दा फस्र्योट गर्न थालिसकेको छ।

गरिब तथा असहायका लागि अदालतले वैतनिक वकिल राखेर निःशुल्क सेवासुविधा दिन थालेको जनाइएको छ। पारदर्शिता, जवाफदेहिता, सुरक्षा तथा सेवाग्राहीसमेतको आशाभरोसाको ठाउँ साबित गर्न स्रेस्तेदारसहितका प्रत्येक फाँट र परिसर प्रवेशद्वारमा १३ वटा सीसीटीभी क्यामरा जडान गरिएको स्रेस्तेदार पोखरेलले बताउनुभयो। 

कार्यालयका लागि आवश्यक कम्प्युटर, प्रिन्टरसमेत खरिद गरिएको छ। सेवाग्राहीलाई विश्राम स्थल बनाइएको छ। अदालत परिसरमा सुन्दर बगैँचासमेत निर्माण गरिएको छ। उहाँले भन्नुभयो, “कार्यलाई बदल्ने व्यवस्थापन पनि रहेछ। मुस्कानसहितको सेवा दिन कर्मचारी र सेवाग्राहीलाई रमाइलो स्थानले पनि प्रभाव पार्ने रहेछ।”